२०८२ चैत्र २३, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारगाइनो अंकोलोजी सोसाइटीको वार्षिकोत्सव सम्पन्न

गाइनो अंकोलोजी सोसाइटीको वार्षिकोत्सव सम्पन्न


काठमाडौं—महिलामा हुने क्यान्सर उपचार गर्ने चिकित्सकहरुको संस्था गाइनोकलोजी अंकोलोजी सोसाइटीले चौथो वार्षिकोत्सव मनाएको छ । संस्था स्थापना भएको चौथो वर्षमा आयोजित कार्यक्रममा सोसाइटीका अध्यक्ष डा. शिला वर्माले पाठेघरको क्यान्सर रोक्नका लागि सरकारले पिभिसी भ्याक्सिनलाई नियमित खोप कार्यक्रमअन्र्तगत राखेर संचालन गर्नुपर्ने बताइन् ।

उनले अन्य क्यान्सर रोक्नलाई गाह्रो भएतापनि महिलामा हुने पाठेघरको क्यान्सर बालिकाहरुलाई समयमै खोप दिन सके रोकिने बताइन् । ‘भुटानले ९० प्रतिशत बालबालिकालाई यो खोप दिएर बचाइरहेको छ,’ उनले भनिन्, ‘हामीले पनि नियमित खोप कार्यक्रममा राखेर दिनुपर्छ ।’

म्यान्सर रोग विशेषज्ञ डा. मदनकुमार पियाले क्यान्सर उपचारमा नेपालमा पहिलेभन्दा धेरै प्रविधि भित्रिसकेको बताए । साथै महिलामा हुने स्तन क्यानसर उपचारको लागि आउने समयमा पनि उल्लेखनीय वृद्धि भएको जानकारी दिएका थिए । ‘पहिले पहिले ब्रेष्ट क्यान्सरको तेस्रो या चौथो स्टेजमा चिकित्सककोमा आइपुग्ने गरेको अध्ययनले देखाएको थियो,’ उनले भने, ‘अहिले दोस्रो स्टेजमा आउनेको संख्या बढी छ ।’ क्यान्सरको बिरामी जति चाडो उपचार भयो त्यति सक्सेस रेट बढी हुने उनको भनाइ थियो ।

अर्का क्यान्सर रोग विशेषज्ञ तथा भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. विष्णुदत्त पौडेलले नेपाल सरकारले क्यान्सरका नाममा २० अर्बभन्दा बढी राजस्व उठाउने गरेको तर यसको रोकथाम र उपचारका लागि जम्मा ४० करोड रुपैयाँ मात्र खर्च गर्ने गरेको बताए । ‘राज्यले २० अर्बभन्दा बढी क्यान्सरको नाममा कर उठाउँछ,’ उनले भने, ‘तर, उपचार र रोकथामका लागि ४० करोड पनि खर्च गर्दैन । यसले क्यान्सर रोकथाम हुन गाह्रो हुन्छ ।’

सोसाइटीका उपाध्यक्षसमेत रहेका स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा. गेहनाथ बरालले सबै मिलेर क्यान्सरका विरुद्धमा लाग्नुपर्ने बताए । उनले क्यान्सरका विषयमा अध्ययन भइरहेको र त्यसले देखाउने रिजल्टका आधारमा आगामी दिनमा नीति र कार्यक्रम तर्जुमा गर्न सहज हुने बताए ।

स्वास्थ्य सेवा विभाग नसर्ने रोग शाखाका प्रमुख डा फडीन्द्र बरालले क्यान्सर लागेर उपचार गर्नुपर्ने बिरामीले ८० प्रतिशत खर्च आफ्नै बलबुतामा (गोजीबाट) गर्नुपर्ने अवस्था रहेको बताए । त्यसलाई घटाउन सरकारले यसै वर्षदेखि प्रदेश—प्रदेशमा रहेका केन्द्रीय अस्पतालमा छुट्टै क्यान्सर युनिट बनाउन ६६ करोड रुपैयाँ विनियोजन भएको समेत जानकारी दिएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ