२०८१ असार ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१२ वर्षपछि काँचुली फेर्दै सिभिल अस्पताल, क्षमता वृद्धिदेखि सुपरस्पेस्यालिटी सेन्टरसम्म

१२ वर्षपछि काँचुली फेर्दै सिभिल अस्पताल, क्षमता वृद्धिदेखि सुपरस्पेस्यालिटी सेन्टरसम्म

करारका स्टाफ नर्सकै तलब ४५ हजार बढी


काठमाडौं—सही नेतृत्व भएमा परिवर्तन सम्भव छ भन्ने ज्वलन्त उदाहरण नेपाल विद्युत प्राधिकरण हो । कुलमान घिसिङले प्राधिकरणको व्यवस्थापन सम्हालेपछि १८ घण्टा लोडसेडिङ झेलिरहेको मुलुक एकाएक झिलिमिली बन्यो । ठ्याक्कै यही शैलीमा राजधानीका प्रमुख अस्पतालमध्ये एक सिभिल सर्भिस अस्पतालको कमाण्ड प्रा.डा. विधाननिधी पौडेलको हातमा पुगेपछि एकपछि अर्को सुधारका संकेतहरु देखिन थालेका छन् ।

निरन्तर कर्मचारीको आन्दोलन, शैय्या अभावजस्ता समस्या झेल्दैं आएको सिभिल अस्पताल स्थापनाको १२ वर्षपछि काचुली फेर्दैछ । क्षमतामा ब्यापक वृद्धि गर्ने तयारी अन्तिम चरणमा छ । अहिले १ सय ३२ वेडमा चलिरहेको अस्पताल निकट भविष्यमै ३ सय ५० शैय्यामा स्तरोन्नती गरिदैंछ । अस्पतालको १ सय १५ बेडको सर्जिकल भवनको निर्माण कार्य अन्तिम चरणमा छ भने १६ बेडको अत्याधुनिक मोडुलर आईसीयु बन्दैछ । ५५ बेडको आइसोलेसन सेन्टरको निर्माण कार्य सकिसकेको छ ।

‘निकट भविष्यमै हामी अस्पतालको क्षमता ३ सय ५० बेड पु¥याउँछौं,’ अस्पतालका कार्यकारी निर्देशक डा. पौडेलले भने, ‘अस्पतालको सेवा, भौतिक संरचना र उपकरणमा बढाउन लागिरहेका छौं ।’ आँखाको सेवा सुरु गरिसकेको छ भने सस्तो मुल्यमा चस्मा पसल सञ्चालनमा ल्याएको छ । अत्याधुनिक थ्रीडी टेस्लाको एमआईआई, इन्डोस्कोपीको भित्र्याउने तयारीमा अस्पताल छ भने अत्याधुनिक रेडियो थेरापी मेसिन पनि थपिदैंछ ।

अक्सिजनमा पनि अस्पताल आत्मनिर्भर भएको छ । यसअघि अस्पतालसँग दैनिक ५० सिलिण्डर उत्पादन गर्ने अक्सिजन प्लान्ट सञ्चालनमा थियो । हालैमात्र सुर्य नेपालको झण्डै साढे चार करोड लगानीमा दैनिक ३ सय ५० सिलिण्डर उत्पादन गर्ने अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । ‘अब अक्सिजन अभावमा बिरामीले ज्यान गुमाउनु पर्दैछन्,’ कार्यकारी निर्देशक डा. पौडेलले भने, ‘हामीसँग अब ५० सिलिण्डर उत्पादन गर्ने पुरानो र ३५० सिलिण्डर उत्पादन गर्ने नयाँ प्लान्ट छन् । एक बिग्रेमा अर्को प्लान्ट चलाएर आपूर्ति गर्न पनि सहज भएको छ । अक्सिजनमा आत्मनिर्भर भयौं ।’

प्रा. डा. विधाननिधी पौडेल

बिरामीहरुलाई स्वच्छ खानेपानी सुपथ मुल्यमा दिने गरी वाटर एटीएम पनि सिभिलले सञ्चालनमा ल्याएको छ । उक्त एटिएमबाट ५ रुपैयाँमा एक लिटर शुद्ध पिउने पानी पाइन्छ । क्यान्टिन, गार्डेनिङ र सरसफाइमा अस्पताल व्यवस्थापनले व्यापक सुधार गरेको छ । ‘१२ वर्षसम्म १ सय ३२ बेडमा मात्रै यो अस्पताल खुम्चिएर बसिरहेको थियो,’ डा. पौडेल आत्मविश्वासी देखिए, ‘यो अस्पतालको मुहार फेर्ने हिसाबले काम गर्दैछौं ।’ सामान्यका प्रशासनका कर्मचारी नै आएर काम गर्न थालेपछि अस्पतालको खरिद र प्रशासनिक कामहरु पनि चुस्तदुरुस्त भएको उनले बताए ।

करारका स्टाफ नर्सकै तलब ४५ हजार

सिभिल अस्पताललाई सरकारले पुँजीगत खर्च उपलब्ध गराउँछ । जुन उपकरण र भौतिक संरचनाका लागि खर्च हुन्छ । त्यसबाहेक चिकित्सक, नर्स र कर्मचारीको तबलदेखि आवश्यक रिएजेन्टसम्ममा हुने खर्च अस्पतालले आफ्नै आम्दानीबाट ब्यवहोर्नुपर्छ ।

झण्डै ५ सय हाराहारीमा कर्मचारी रहेको सिभिलमा तीन किसिमका कर्मचारी छन् । ४० जना स्थायी छन् भने ४ सय ५० जना जति कर्मचारी करार र ज्यालादारीका छन् । त्यसकारण सेवासुविधा दिएर बिरामी बढाउने चुनौती पनि अस्पताललाई छ ।

सिभिलमा चिकित्सकहरुको सेवासुविधामा खासै समस्या नरहेको निर्देशक डा. पौडेल बताउँछन् । ‘म आउनुअघि स्टाफ नर्स र अन्य कर्मचारीहरुको तलबमा समस्या थियो,’ उनी भन्छन्, ‘तर, अहिले त्यो समस्या हल भएको छ ।’

अस्पतालको सर्जरी पोष्ट अपकी निमित्त वार्ड इन्चार्ज निर्मला खतिवडा पहिलाको तुलनामा सेवा सुविधामा भएको वृद्धिले आफूहरुको मनोबल उच्च भएको बताउँछन् । ‘पहिला बेसिक स्यालरी नै २२—२३ हजार थियो । अहिले स्टाफ नर्सको सरकारी तलब स्केल नै लागु भएको छ, त्यसमा थप ५० प्रतिशत प्रोत्साहन भत्ता छ,’ उनले भनिन्, ‘स्थायी र करारका स्टाफ नर्सको तलब अहिले बेसिक ३० हजार, १५ हजार प्रोत्साहन भत्ता र २ हजार महंगी भत्ता गरी ४७ हजार पाइरहेका छौं । यसले हाम्रो काम गर्ने मनोबल उच्च भएको छ ।’ अस्पतालका अन्य कर्मचारीको सेवा सुविधामा पनि वृद्धि भएको छ ।

पछिल्लो समय अस्पताल व्यवस्थापनले सिभिल अस्पतालमै लामो समय काम गरेको नर्सिङ स्टाफलाई निमित्त मेट्रोनका रुपमा नियुक्त गरेकाले पनि आफूहरुलाई काम गर्न सहज वातावरण सिर्जना भएको अनुभव खतिवडाले सुनाइन् । ‘अहिले काम गर्ने वातावरण एकदमै राम्रो भएको छ । यहीको सिनियरलाई मेट्रोन नियुक्त गरेकाले समस्या राख्न पनि सहज छ । यसअघि बाहिरबाट सेसनमा ल्याएर रिटायर्डहरुलाई हाम्रो मेट्रोनको भूमिकामा राखिन्थ्यो, अहिले एमएन गरिसकेका निमित्त मेट्रोन यहीको भएकाले सहज छ ।’

उनकाअनुसार धेरै समस्या हल भएपनि बढुवाको समस्या भने अहिलेसम्म किनारा लागिसकेको छैन् । ‘धेरै कुराहरु हल भएका छन् । सरहरुले यो पनि हल गर्छौ भन्नुभएको छ, यो पनि विस्तारै सेटल होला,’ उनी आशावादी देखिइन् । चिकित्सकबाहेक नर्स र अन्य कर्मचारीहरुको पारिश्रमिकबाहेक नामपदमा रहेको समस्या पनि हल भएको छ । चिकित्सकहरुले ७५ प्रतिशत अतिरिक्त भत्ता पाउँछन् ।

अझै लामो समयदेखि करारमा रहेका कर्मचारीको समस्या पूर्ण रुपमा समाधान हुन सकेको छैन । अस्पतालले ती कर्मचारीहरुका समस्या समाधान गर्नका लागि करार कार्यविधी बनाएर ल्याएको थियो । तर, उक्त कार्यविधीमा अझै कर्मचारीहरुले चित्त बुझाएका छैनन् । १२ वर्षदेखि काम गरिरहेका कर्मचारीहरुले सिमित प्रतिस्पर्धाबाट ५ वर्षपछि स्थायी हुन पाउनुपर्ने माग राखेका छन् । अहिले ती कर्मचारीहरुले अदालतमा मुद्धासमेत हालेका छन् । सम्भवतः अदालतले दिने फैसलाले सिभिलका कर्मचारीहरुमा रहेको समस्या पनि किनारा लाग्नेछ ।

सिभिल अस्पतालको एकेडेमिक फड्कोः सुपर स्पेस्यालिटी र एकेडेमिक सेन्टरसम्म

प्रा. डा. दिनेश लम्साल

सिभिल सर्भिस अस्पतालको गठन आदेशमा एकेडेमिक संस्थाका रुपमा विकास गर्ने प्रावधान छ । प्रा.डा. दिनेशकुमार लम्साल सन् २०२१ मा सिभिल सर्विस अस्पताललाई एकेडेमिक संस्थाका रुपमा विकास गर्न गठन भएको एकेडेमिक काउन्सिलका निर्देशक हुन् । शैक्षिक गतिविधीहरु अगाडि बढाउनका लागि सिभिल अस्पतालले न्याम्ससँग वि.सं. २०७१ सालमा सम्झौता गरेर शैक्षिक गतिविधीहरु अगाडि बढाइरहेको उनी बताउँछन् ।

जसअन्तर्गत मेडिसिन, सर्जरी, अर्थोपेडिक्स, इमर्जेन्सी, फ्यामिली मेडिसिन, गाइनोकोलोजी, एनेस्थेसियोलोजी, अंकोलोजी र हेमाटोलोजीका एमडी/एमएसका रिजेडेन्टहरुलाई पढाइरहेको छ । यस्तै, मेडिसिन, हेमाटोलोजी, अर्थोपेडिक्स, इमर्जेन्सी, फ्यामिली मेडिसिन र गाइनोकोलोजीमा पाकिस्तानको एफसीपीएसको पोष्ट ग्राजुयसन कोर्स चलाइरहेको छ । यस्तै, सिभिलको वि.सं. २०७४ मा इन्टरनेशनल गाइनोकोलोजिक सोसाइटीसँग पनि ग्लोबल करिकुलम एण्ड मेन्टरसीप प्रोग्रामअन्तर्गत अंकलोलोजी फेलोसीपका लागि सम्झौता भएको छ भने वि.सं. २०७८ मा न्याम्ससँग डिएमको हेमाटोलोजी र अर्थोप्लास्टी फेलोसीपका लागि सम्झौता भइसकेको छ ।

‘४०—५० जना न्याम्सका रेजिडेन्टहरु यहाँबाट ट्रेनिङ लिएर पासआउट भइसकेका छन्,’ डा. लम्साल भन्छन्, ‘अन्य एकेडेमिक कुरामा पनि न्याम्ससँग सम्झौता हुँदैछ । विदेशका केही संस्थाहरुसँग पनि हामी सम्झौता गर्दैछौं । एक किसिमले हाम्रो अस्पताल पूर्णतयाः एकेडेमिक वातावरणमा छ । यहाँकै वस्तुगत तथा फ्याल्टीका हिसाबले सक्षम भएकाले हामीले यसलाई अहिले न्याम्सको एक्सटेन्डेट प्रोग्राममा चलाएर पछि सेल्फ सस्टेन मोडालिटीमा जाने हाम्रो लक्ष्य हो । बजेट बनेर बोर्डबाट पनि पास भइसकेको छ ।’ उनकाअनुसार अस्पतालको र देशको आवश्यकता हेरेर बीएस्सी, बीएन नर्सिङका कार्यक्रमहरु, प्याथालोजीमा बिएमएलटी चलाउने र रेडियोलोजीमा टेक्नीसीयनहरु उत्पादन गर्ने हिसाबले अहिले कामहरु भइरहेका छन् । एकेडेमिक कार्यक्रमका लागि कार्यकारी निर्देशक डा. पौडेल, प्रा.डा. दामोदर गजुरेल, प्रा.डा. विशेष पौडेल, एशोसिएट प्रोफेसरद्वय डा. कमल लम्साल र डा. विकलचन्द्र शाक्यलगायत सक्रिय छन् ।

यसबाहेक सिभिलले विभिन्न अनुसन्धान तथा अनुसन्धानमूलक प्रकाशनहरु समेत गर्दै आएको छ । डा. लम्सालकै नेतृत्वमा अनुसन्धान सम्बन्धी काम गर्ने इन्स्टिच्युसन रिसर्च रिभ्यु बोर्ड पनि सन् २०१८ देखि नै सक्रिय छ । जसले अनुसन्धान सम्बन्धी कामहरु सम्पादन गर्दै आएको छ । ‘अन्तर्राष्ट्रिय अनुसन्धानहरु पनि यहाँ भइरहेका छन् । अब छिट्टै युनिट गठन गरेर पब्लिकेसन्स पनि गर्ने तयारीमा छौं,’ डा. लम्साल भन्छन्, ‘हामीले यहाँ फ्याकल्टी विकास गर्न सक्यौं भने पछि त्यही फ्याकल्टीले काम गर्छ । रेजिडेन्टले उपचार गर्दाखेरि त्यसको क्वालिटीमा पनि फरक पर्छ । ह्युमन रिसोर्स पनि विकास हुन्छ । सरकारलाई पनि इन्भेन्ट गर्नै नपर्ने हुन्छ ।’

मेडिकल फिल्ड प्रत्येक दिन अपडेट हुनुपर्ने फिल्ड भएकाले मोटिभेसन, स्थायीत्वजस्ता कुराहरुमा ध्यान दिनुपर्ने उनको मत छ । स्थायीत्व नभएमा पनि एकेडेमिक कार्यक्रमहरु चलाउन गाह्रो पर्ने डा. लम्साल बताउँछन् । ‘यो कुरालाई बोर्ड, मन्त्रालय र सरकारले गम्भीर रुपमा लिनुपर्छ,’ उनले भने, ‘कुनै संस्था बलियो बनाउन र त्यहाँ कार्यक्रम चलाउन त्यो संस्थाका कर्मचारीहरुमा स्थायीत्व हुनुपर्छ । एउटा स्कीलफूल म्यानपावर छोडेर गयो भने त्यसले संस्थालाई हानी हुन्छ ।’

बिरामी चाप पनि उल्लेख्य रहेको अस्पतालमा एकेडेमिक कार्यक्रम सञ्चालनमा आएमा आर्थिक रुपमा पनि सबल हुनेछ । ‘अहिलेकै अवस्थामा हामीलाई सस्टेन हुन गाह्रो हुन्छ, जब रेजिडेन्टहरु आउँछन् सेवाको गुणस्तर बढ्छ,’ निर्देशक डा. पौडेल सुनाए, ‘त्यसले अस्पताललाई सस्टेन पनि गर्छ ।’ अस्पतालमा अहिले दैनिक औसत ८ सय बिरामीको उपचार हुँदैं आएको छ । तर, अहिले ओपीडी पनि अपुग भइरहेको छ । त्यसका लागि अस्पताल व्यवस्थापनले ओपीडी संख्या बढाउँदैंछ भने अहिले प्रशासनिक भवन रहेको ठाउँमा माष्टरप्लान बनाएर अन्डरग्राउण्ड पार्किङसहितको १ हजार बेड क्षमताको सुपर स्पेस्सीयालिटी मल्टी स्टोर भवन बनाउने तयारी भइरहेको छ ।

कोभिडमा अब्बल व्यवस्थापन

झण्डै ९ महिनाअघि डा. विधाननिधी पौडेल सिभिल सर्विस अस्पतालको निर्देशकमा नियुक्त भएका हुन् । उनी अस्पतालको निर्देशक भएको एक महिना नपुग्दै कोभिड–१९ को दोस्रो लहर सुरु भयो । कोभिड–१९ को पहिलो लहरमा सामान्य कोभिड—१९ का बिरामीको उपचार भएपनि आईसीयु, एचडियुको व्यवस्थापन भएको थिएन् । गम्भीर बिरामीलाई अन्त रिफर गरिन्थ्यो ।

तर, दोस्रो लहरमा सिभिललाई कोभिडको डेडिकेटेड अस्पताल बनाउनका लागि अस्पतालका चिकित्सक, कर्मचारी सबैले तयारी गरे, त्यसको नेतृत्व डा. पौडेलले लिए । सुरुमा गाइने र अर्थो वार्डलाई कोभिड–१९ वार्डमा रुपान्तरण गरियो । सुरुमा ५० बेडमात्रै कोभिडलाई छुट्याइयो । अरु बिरामीहरुमा पनि कोभिड पोजेटिभ देखिन थाल्यो । ‘त्यसपछि अस्पताललाई कोभिड–१९ अस्पताल बनाउनुपर्छ भनेर लाग्यौं,’ उनी भन्छन्, ‘तदारुकताका साथ १०—१५ दिनकै बीचमा ६ भेन्टिलेटरसहित १५ बेडको आईसीयु थप्यौं, ५० बेडको एचडियु बनायौं ।’

जनरल वार्डहरु सामान्य बिरामीलाई राख्ने गरी तयार गरियो । १ सय ५० जनासम्म कोभिडका बिरामीलाई उपचार गर्ने क्षमतामा सिभिल अस्पतालले आफूलाई उभ्यायो तर अक्सिजनको चरम अभावकाबीच १ सय जना बिरामीलाई भर्ना गरेर उपचार ग¥यो । ‘७०—८० जनाको औसतमा हामीले कोभिडका बिरामीको उपचार ग¥यौं,’ उनले भने, ‘अहिले पनि ४ जना आईसीयु र अन्य ६ जना गरी १० जनाको उपचार भइरहेको छ ।’ कोभिड–१९ ले सबै स्वास्थ्य संरचना ठप्प हुँदा पनि सिभिलले अन्य रोगका बिरामीको उपचारलाई मात्रै निरन्तरता दिएन्, शल्यक्रियाहरु पनि जारी राख्यो ।

सम्भावित थर्ड बेवका लागि पनि सिभिलले ४ वेड पेडियाट्रिक आईसीयु/एनआईसीयु तयार पार्दैछ । ओमिक्रोनका सम्भावित परिदृश्य पनि सिभिल नेतृत्वले वाच गरिरहेको छ । ‘हामीलाई संघीय मामिला तथा सामान्य प्रशासन, स्वास्थ्य मन्त्रालय र सीसीएमसीले पनि राम्रो समन्वय ग¥यो,’ डा. पौडेल सुनिए । आन्दोलनकाबीच पनि अस्पतालका चिकित्सक र कर्मचारीहरुले कोभिड महामारीमा सेवा खटिए । ५० अक्सिजन सिलिण्डर उत्पादन हुने सिभिलको प्लान्ट तर दैनिक २ सय बढी सिलिण्डर आवश्यकता प¥यो । साढे ३ करोडको बढीको विभिन्न स्वास्थ्य संस्थाबाट पीपीई, अक्सिजन कन्सटेटर, सहयोगी हातहरु आए । जसले सिभिल अस्पताललाई कोभिड–१९ को दोस्रो लहरमा बिरामी व्यवस्थापन गर्न सजिलो भयो ।


क्याटेगोरी : समाचार
ट्याग : #प्रा. डा. विधाननिधी पौडेल, #प्रा.डा. दामोदर गजुरेल, #प्रा.डा. दिनेश लम्साल, #प्रा.डा. विशेष पौडेल, #सिभिल सर्भिस अस्पताल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ