काठमाडौँ – नेपालमा अझै ४० हजार क्षयराेगका बिरामी उपचारकाे दायरा बाहिर रहेका छन् । पछिल्लो तथ्यांक अनुसार हाल ४० हजार भन्दा बढी क्षयराेगका बिरामी उपचारकाे दायरा बाहिर रहेको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको हो ।
अन्तर्राष्ट्रिय क्षयरोग दिवसको पूर्व सन्ध्यामा स्वास्थ्य तथा मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै केन्द्रका निर्देशक डा. संजय कुमार ठाकुरले नेपालमा प्रत्येक वर्ष ६९ हजार भन्दा बढी क्षयराेगका बिरामी थपिने बताए । तीमध्ये उपचारको दयारामा नआएका ४० हजारलाई पहिचान गरी उपचार प्रक्रियामा ल्याउनु ठुलो चुनौती देखिएको उनको भनाइ छ ।
उनले भने, ‘आर्थिक वर्षमा २०७७/७८को तथ्यांक हेर्दा २८ हजार ६ सय ७७ बिरामी दर्ता भएका छन् । दर्ता भएका बिरामी मध्ये पुरुष ६७ प्रतिशत, महिला ३३ प्रतिशत र बालबालिकामा ७प्रतिशत रहेका छन्। बिरामीको उपचारबाट ९१ प्रतिशत उपचारमा सफलता मिलेको छ। ‘
यस्तै, क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षण अनुसार नेपालमा प्रत्येक वर्ष क्षयरोगका ६९ हजार नयाँ बिरामी थपिन्छन् । क्षयरोगकै कारण वर्षेनी १४ हजार बिरामीको ज्यान जाने अनुमान गरिएको छ।
क्षयरोगको अन्त्य र लक्ष्य प्राप्तिका लागि केन्द्रले स्वास्थ्य मन्त्रालयले क्षयरोग प्रिभिलेन्स सर्वेक्षणको दिशा निर्देश र विश्व स्वास्थ्य संगठनको सिफारिसमा यसको अन्त्यको लागि चालिएको रणनीतिलाई निर्देशक मानी पञ्चवर्षीय योजना रणनीतिक योजना २०७८/७९ देखि २०८२/८३ तयार गरी कार्यान्वयन गरिएको उनले जानकारी दिए।
२४ मार्चको दिन विश्वभर अन्तर्राष्ट्रिय क्षयरोग दिवस विभिन्न नारा सहित कार्यक्रम गर्दै मनाउने गरिन्छ।