२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यगर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता

गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता


गर्भपतन गर्भावस्था समाप्त गर्नको लागि गरिने सरल स्वास्थ्य हस्तक्षेप हो । विश्व स्वास्थ्य संगठनका अनुसार यो २० हप्ता पुग्नुअघि गरिन्छ । यो औषधी वा सर्जिकल प्रकियाद्वारा गर्न सकिन्छ ।

विभिन्न कारणहरुले गर्दा महिलाहरु गर्भपतन गराउने गर्दछन् । गर्भपतन एक बाध्यात्मक अवस्थामा गर्ने गरिन्छ । जस्तैः सन्तानका रहर पुगेपछि गर्भ रहेमा, अनिच्छित गर्भ रहेपछि, अविवाहित जोडीकोे गर्भ रहेमा, बच्चामा जन्मजात खराबी देखिएमा गर्भपतन गराउने गर्दछन् ।

गर्भपतन सरल स्वास्थ्य हस्तक्षेप भएपनि यस क्रममा कतिको ज्यान जाने जोखिमका साथै कतिको स्वास्थ्य स्थिती एकदमै नाजुक बन्न पुग्दछ । त्यसैले, गर्भपतन गराउनका लागि योग्य चिकित्सकहरुको सल्लाह लिनु पर्दछ ।

गर्भपतन कुन अवस्थामा गरिन्छ ?

-अनिच्छित र अयोजित गर्भधारण ।
-गर्भावस्थाले मातृ अवस्थालाई असर गर्छ भने ।
-असामान्य भ्रुण : जन्मजात रोग भएको भ्रुणमा शारीरिक दोषले जन्मपछि यसको अस्तित्वलाई असर गर्छ भने त्यस्तो अवस्थामा गर्भपतन गरिन्छ ।

गर्भपतनका जोखिम

यदि सुरक्षित तरिकाले गर्भपतन गराइयो भने गर्भपतनबाट हुने स्वास्थ्य खतरा कम गर्न सकिन्छ । असुरक्षित गर्भपतन जस्तैः उचित सीप वा न्यूनतम सुविधा पनि नभएको ठाउँमा गर्भपतन गर्दा मातृ मृत्यु निम्तिन सक्छ ।

१. रक्तस्राव : रक्तस्राव भएर रगत चढाउनुपर्ने वा ज्यान जाने जोखिममा पर्न सक्दछ ।
२. गर्भपतनपछि संक्रमण : पाठेघर तथा नलीमा संक्रमण फैलिएर (पेल्भिक इन्फ्लेमेटरी) रोगको जोखिम बढाउन सक्छ । जसले भविषयमा बाँझोपन र बच्चा पाठेघरको नलीमा बस्न सक्ने अवस्था (Ectopic pregnacy) निम्त्याउन सक्छ ।
३. किशोरावस्थामा गर्भपतन गर्नाले मानसिक तनाव हुन सक्छ ।

कस्तो अवस्थालाई असुरक्षित गर्भपतन मानिन्छ ?

  • १२ हप्ताभन्दा बढी भएको गर्भपतनलाई असुरक्षित मानिन्छ ।
  • आवश्यक पर्ने न्यूनतम सुविधा नभएका र अनुमति प्राप्त नगरेका ठाउँमा गराइने गर्भपतन ।
  • ज्यानलाई जोखिम हुने गरी कुनै औषधी खुवाएर गरिएको गर्भपतन ।

असुरक्षित गर्भपतनका असर

  • रक्तस्राव बढी हुने
  • ज्वरो आउने
  • बेहोस हुने
  • पाठेघरमा संक्रमण हुने
  • गर्भपतन पूर्ण रुपमा नहुने
  • ज्यान जोखिममा पर्न सक्ने

सुुरक्षित गर्भपतन केलाई मानिन्छ ?

सुरक्षित गर्भपतन भनेको प्रशिक्षित र तालिम प्राप्त स्वास्थ्यकर्मीहरुको उचित प्रविधी र प्रभावकारी औषधीद्वारा गरिने गर्भपतन हो । गर्भपतन जति चाँडो गराइन्छ, उति नै सहज हुन्छ । गर्भ रहेको ३ महिनाभित्र गर्भपतन गराइएको छ भने त्यसलाई सुरक्षित मानिन्छ ।

गर्भपतनपछि ध्यान दिनुपर्ने कुराहरु

गर्भपतनपछि धेरै मात्रामा रक्तस्राव भएमा (दुई वा वा दुई भन्दा बढी प्याड १ घण्टामै पूर्ण रुपमा भिजेमा), चोक्टा–चोक्टा रगत गएमा, अत्याधिक पेट दुःखेमा, ज्वरो आएमा, बेहोस भएमा र योनीबाट गन्हाउने पानी बगेमा तुरुन्तै स्वास्थ परामर्श लिनु पर्दछ ।

  • गर्भपतनको दुई हप्तापछि स्वास्थ्य परीक्षण गराउनुपर्छ । यसले गर्भासयको अवस्थाबारे थाहा हुन्छ ।
  • गर्भपतनपछि परिवारका सदस्यहरुले उनीहरुमा हुने शारीरिक र मनोवैज्ञानिक परिवर्तनबारे सचेत हुनुपर्छ ।
  • पर्याप्त पानी पिउनुपर्छ ।
  • दुई हप्तासम्म कुनै व्यायाम गर्नुहुन्न ।
  • दुई हप्तासम्म गह्रुंगो सामाग्री उठाउनु हुन्न ।
  • दुई हप्तासम्म शारीरिक सम्पर्क गर्नु हुन्न ।
  • आराम गर्नुपर्छ ।

प्रस्तुतिः भूमिका विष्ट


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ