ललितपुर—हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले क्यान्सरको उपचारका लागि विदेश गइरहनुपर्ने अवस्था नरहेको बताएका छन् । बिहीबार साँझ कुपण्डोलस्थित होटल हिमालयमा क्यान्सर विजेताहरुको तेस्रो र्याम्प शो मा प्रमुख अतिथीका रुपमा पुगेका उनले नेपालमै क्यान्सरको सस्तो उपचार हुने गरेको बताए ।
‘नेपालमा सबैभन्दा सस्तो छ, ढुक्कसँगै नेपालमै उपचार गर्नुहोस्,’ उनले भने, ‘किनभने हाम्रा डाक्टर साबहरु धेरै एडभान्स भइसक्नुभएको छ, अपडेट हुनुहुन्छ । धेरै अनुभव बटुलिसक्नुभएको छ ।’ उनले नेपालमै विशेषज्ञ सेवा दिने उच्चस्तरको अस्पताल रहेको बताए । अभिनेता, गायक र लेखक समेत रहेका उनले विदेशमा उपचार गरेर महंगो खर्च गर्ने नेताहरु रहेको बताउँदैं ब्यंग्य समेत गरे ।
कलाकार श्रेष्ठले समयमै उपचार गर्दा क्यान्सरलाई सजिलै जित्न सकिने बताए । ‘क्यान्सरलाई समयमै पत्ता लगायौं भने जित्न सकिन्छ,’ उनले भने, ‘क्यान्सर जितेर आउनुभएको विजेतालाई सलाम छ ।’ उनले एकदिन क्यान्सरको औषधि पनि पत्ता लाग्ने विश्वाससमेत व्यक्त गरे । श्रेष्ठले क्यान्सर हुन नदिनका लागि जीवनशैली र खानपानमा ध्यान दिन पनि सुझाव दिए ।
क्यान्सर विजेता समेत रहेका व्यवसायी कर्ण शाक्यले आजभन्दा ३३ वर्षअघि क्यान्सर शब्दसँग डराइने अवस्था रहेको अनुभव सुनाए । ‘अहिले अवस्था फेरिएको छ,’ उनले भने ।
मिस नेपाल प्रियंका रानी जोशीले स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति भएको धारणा व्यक्त गरिन् । ‘क्यान्सर एउटा रोग हो भनेर त हामीले थाहा पाएका छौं,’ उनले भनिन्, ‘तर, यसले के गर्छ भनेर सिक्न भने अझै बाँकी छ ।’ उनले हात-हातमा चुरोट, खल्तीबाट खैनी झर्ने अवस्था, हाइजनिक खाना नखाने बानीजस्ता कारण क्यान्सर बढिरहेको बताइन् ।
जोशीले चिकित्सकहरुको सहयोगमा दृढ संकल्पले क्यान्सरजस्तो रोगलाई पराजित गर्न सफलहरुलाई बधाई दिइन् ।
नेपाल क्यान्सर अस्पतालकी निर्देशक स्वरुपा श्रेष्ठले क्यान्सर लाग्दैमा जीवन समाप्त नहुने धारणा व्यक्त गरिन् । ‘क्यान्सर लाग्दैंमा जीवन समाप्त हुँदैंन क्यान्सर लागेपछि पनि जीवन छ,’ उनले भनिन्, ‘नेपालीको क्यान्सर उपचार नेपालमै सम्भव छ ।’
नेपाल क्यान्सर सपोर्ट ग्रुप आयोजना तथा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरसँगको सहकार्यमा क्यान्सरबारे सचेतना जगाउने उद्देश्यका क्यान्सर विजेताहरुको र्याम्प शो सम्पन्न आयोजना गरिएको थियो । उक्त र्याम्प शो मा क्यान्सर सर्भाइभर इन्दिरा प्रधानांग, लिना नेमकूल र विद्या तुलाधर अस्पतालका कर्मचारी डा. विनिता र टिमले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।
क्यान्सर विजेता शान्ति शर्मा र विजया ढकाल कविता प्रस्तुत गरेकी थिइन् । क्यान्सर विजेता संगीता थापा र कोपिला गौतमले गीत प्रस्तुत गरेका थिए । शोमा अन्य विभिन्न सांस्कृतिक प्रस्तुतीहरु समेत रहेका थिए ।
यसैगरी, कलाकार श्रेष्ठ र अन्य सेलिब्रेटीहरु, चिकित्सक तथा नर्स र क्यान्स्र विजेताहरुले छुट्टाछुट्टै र्याम्प वाक प्रस्तुत गरेका थिए । यसैगरी, समाजसेवीहरुले वाक प्रस्तुत गरेका थिए । शोको उद्घाटन क्यान्सर विजेता बालिका युनिसा बमजन र प्रमुख अतिथी श्रेष्ठले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरेर गरेका थिए ।
शो बाट उठेको रकम क्यान्सर उपचार गर्न नसक्ने विपन्नहरुको उपचार खर्च गरिने आयोजकले जनाएको छ ।