२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएक महिनामा नै १५० प्रतिशतले बढे डेंगीका बिरामी

एक महिनामा नै १५० प्रतिशतले बढे डेंगीका बिरामी

डेंगी संक्रमण हुँदा के गर्ने के नगर्ने?


काठमाडौं—पछिल्लो एक महिनामा डेंगीका बिरामी अघिल्लो महिनाभन्दा १५० प्रतिशतले बढेको पाइएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को तथ्यांकअनुसार अघिल्लो जुन महिनामा देशभर डेंगीका बिरामी १ हजार २ जना रिपोर्ट भएकोमा जुलाई महिना सकिन ५ दिन बाँकी हुँदा २ हजार ५ सय १५ बिरामी रिपोर्ट भएको छ ।

महाशाखाले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्लो समय सुनसरीमा डेगीले प्रकोपको रुप लिएको छ । डेंगी संक्रमणका कारण यस वर्ष सुनसरीमा ३ जनाको मृत्यु हुनुका साथै २ हजार ५ सय ४२ संक्रमित भएको पुष्टि भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिएको जानकारीअनुसार परीक्षण गरेमामध्ये ७५ प्रतिशत डेंगीका बिरामी पुष्टि भएका छन् ।

इडिसिडीले उपलब्ध गराएको तथ्यांकअनुसार यस वर्ष पछिल्लो ७ महिनामा ४ हजार २ सय ८९ जनामा डेंगी पुष्टि भएको छ । जसमा सबैभन्दा बढी कोशी प्रदेशमा २ हजार ७ सय ५३४ जना, बागमतीमा ६ सय ६७ जना, गण्डकीमा ३४४ जना, सुदूरपश्चिममा ३१६ जना, लुम्बिनीमा १६६ जना, मधेश प्रदेशमा २२ जना र कर्णाली प्रदेशमा २० जना छन् ।

महाशाखाका निर्देशक डा. रुद्र मरासिनीकाअनुसार यस वर्ष देखिएको डेंगीको प्रकोपमध्ये ८५ प्रतिशत संख्या १० वटा जिल्लामा रहेको छ । सबैभन्दा धेरै सुनसरी, दोस्रोमा धादिङमा ४ सय २ जना, कास्कीमा २०५ जना, दार्चुलामा १ सय ९० जना, काठमाडौंमा ८० जना, संखुुवासभामा ६४ जना, म्याग्दीमा ५४ जना, कन्चनपुरमा ५२ जना, रुपन्देहीमा ४५ जना मोरङमा ३८ जना रहेका छन् ।

डेंगी प्रकोपलाई नियन्त्रण गर्न घर, कार्यालय वरपर पानी जम्न नदिने र घरमा रहेको गमलालगायतको पानी फेरिरहनुपर्ने डा. मरासिनी सुझाव दिन्छन् । ‘डेंगी लगाउने लामखुट्टेले जमेको पानीमा फुल पार्ने हुँदा फुल पार्ने वातावरण नै बनाउन दिन हुँदैन्,’ उनी भन्छन्, ‘त्यसका लागि सरकारले लार्भा अण्डा खोज र नस्ट गर अभियान चलाइरहेको छ ।’

सन् २००४ मा नेपालमा डेंगी पुष्टि भएको थियो । त्यसयता प्रत्येक वर्ष यो संक्रमण देखिदैं आएको छ । सन् २०१९ मा यसले प्रकोपको रुप लिएको थियो । त्यतिवेला झण्डै १८ हजार मानिसलाई संक्रमण गरेको थियो । सन् २०२० र २०२१ मा केही कम देखिएको डेंगी २०२२ मा ३४ हजार ७ सय ८४ जनामा पुष्टि भएको थियो भने यसले महामारीकै रुप लिएको थियो । यस वर्ष पनि वर्षायाम सुरु भएसँगै प्रकोप बढ्न थालेको छ ।

के गर्ने के नगर्ने ?

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी चिकित्सक डा. वसुधा खनाल लामखुट्टेको टोकाइबाट बच्ने र लामखुट्टेको वृद्धि रोक्नु नै डेंगीबाट बच्ने मुख्य उपाय भएको बताउँछिन् । ‘प्रायः दिउँसोको समयमा बढी सक्रिय हुने र टोक्ने गर्दछ । त्यसैले घरको झयाल ढोकामा जाली लगाउने, शरीर पूरै छोप्ने लुगा लगाउनुपर्छ,’ उनले भनिन् ।

लामखुट्टे घरभित्र र वरिपरी नै जम्मा भएको पानीमा आफ्नो नश्ल सार्ने गर्छ । त्यसैले खुला ठाउँमा पानी जम्मा गरेर नराख्ने, गमला, खुला बाल्टिन, कन्टेनर, हरेक २.३ दिनमा परिवर्तन गर्नुपर्ने उनको भनाइ छ । ‘पानी संकलन गरेर प्रयोग गर्ने गर्नुभएको छ भने त्यसलाई कभर गर्नुपर्छ,’ उनले थपिन् ।

डेंगी संक्रमण तीब्र बनेसँगै मानिसहरुले खानपान, उपचारलगायतका कुरामा विशेष ध्यान दिनुपर्ने समय आएको चिकित्सकहरु बताउँछन् । ‘डेंगी हुँदा यो नै खानुपर्छ भन्ने हुँदैन् । घरमा उपलब्ध पोषणयुक्त र सजिलै पच्ने खाने कुरा खानुपर्छ,’ डा. खनाल भन्छिन्, ‘चिल्लो पिरो मसलायुक्त खानेकुराहरु खानु हुँदैन् ।’

‘ज्वरो आउने, मांसपेशी र जोर्नी हरुमा दुखाइ हुने, टाउको अत्याधिक दुख्ने, हड्डी भाँच्चिए सरह दुखाइ हुने, आँखाको पछिल्लो भाग दुख्ने, वाकवाकी लाग्ने हुन्छ,’ उनी थप्छिन्, ‘शरीरमा स–साना राता दाना देखिनु, पेट दुख्नु यसका लक्षण हुन् ।’ उनकाअनुसार कुनै—कुनै केसमा निरन्तर वान्ता आउनु, अत्याधिक पेट दुख्नु, नाक र गिजाबाट रगत बग्नु, आलस्य र बेचैनीजस्ता समस्या पनि देखिन्छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ