२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअध्ययन बिनै औषधी उत्पादन अनुमति, अध्ययन नै नगरी बन्द

अध्ययन बिनै औषधी उत्पादन अनुमति, अध्ययन नै नगरी बन्द


काठमाडौं—औषधी व्यवस्था विभागले २६ मंसिर २०८० मा विभागको ११ मंसिरको निर्णय भन्दै एउटा सूचना जारी गरेको थियो । ‘औषधी उत्पादन/बिक्री वितरण सम्बन्धी अत्यन्त जरुरी सूचना’ भनेर निकालिएको उक्त सूचनामा चार प्रकारका मोल्यीक्युल र तिनको समिश्रणबाट उत्पादन भएका १० वटा स्ट्रेन्थ उत्पादन नगर्न नराउन भनिएको छ ।

तर, बिरामीमा प्रयोग गर्ने नगर्ने सूचना बोलेको छैन । चिकित्सकहरुका अनुसार विभागले उत्पादन नगर्न/नगराउन भनिएका स्ट्रेन्थहरु नेपालमा चलेका प्रडक्टहरु हुन् । जसमा दुखाइ कम गर्ने र मधुमेह सम्बन्धी समस्यामा प्रयोग हुने औषधीहरु पर्छन् । जुन विभागको सूचनापछि पनि नियमित बिरामीहरुले सेवन गरिरहेका छन् भने चिकित्सकले पनि सिफारिस गरिरहेका छन् ।

विभागले सूचनामा ती औषधी उत्पादन नगर्न/नगराउनको तीन वटा कारण दिएको छ । पहिलो—औषधीको सुरक्षितता विश्वास नभएको, दोस्रो—प्रभावकारितामा प्रश्न उब्जिएको र तेस्रो—सहनता अर्थात बिरामीमा सो औषधीको असर कस्तो हुन्छ नखुलेको उल्लेख छ । त्यसका साथै ती स्ट्रेन्थका औषधीहरु कुनै पनि स्ट्रेन्थ रेगुलारिटी अथोरिटी (एसआरए)मा दर्ता नभएको उल्लेख छ ।

विभागको गोलमोटल सूचना जस्तै ती स्ट्रेन्थका औषधी बिरामीले प्रयोग गर्ने या नगर्ने भन्ने विषयमा विभागकै अधिकारीहरु पनि स्पष्ट छैनन् । विभागका सूचना अधिकारी प्रमोद केसी औषधी मुल्यांकन समितिले विभिन्न देशका अध्ययन गर्दा नियांमक निकायको लिष्टमा नरहेको पाइएपछि यहाँ पनि नयाँ दर्ता नगर्ने र थप उत्पादन नगर्न सुझाव दिएको आधारमा विभागले निर्णय गरेको बताउँछन् । तर, बिरामीले प्रयोग गर्ने÷नगर्ने, उत्पादन पूर्ण रुपमा बन्द गर्ने/नगर्ने विषयमा औषधी सल्लाहाकार समितिको निर्णय अनुसार हुने उनको भनाइ छ । ‘एसआरएमा दर्ता नभएको पाइएपछि तत्काललाई नयाँ दर्ता नगर्ने र थप उत्पादन नगर्न विभागले भनेको हो,’ उनले हेल्थआवाजसँग भने, ‘अन्य सल्लाहाकार समितिको निर्णयअनुसार हुन्छ ।’

नयाँ र थप उत्पादन नगर्न सूचना जारी गरेका स्ट्रेन्थहरुमा लिनाग्लीफ्टीन २.५ एमएल र १० एमएल ट्याब्लेट, एसिक्लोफिनेक २०० एमजीको इमिडेट रिलिज ट्याब्लेट, ३०० एमजीको एमिडेट/डिस्प्यारिबल, कन्ट्रोल/एक्सटेण्डेड/सस्टेण्डेड ट्याब्लेट, लिनाव्लीफ्टीन २.५ एमजी र मेटाफर्मिन ५०० एमजीको कम्बाइन ( एक्सटेण्डेड/सस्टेण्डेड रिलिज) ट्याब्लेट, लिनाग्लीफ्टीन २.५ र मेटाफर्मिन ८५० एमजीको (एक्सटेण्डेड/सस्टेण्डेड रिलिज) ट्याब्लेट, लिनाग्लीफ्टीन ५ एमजी र मेठाफर्मिन ५०० एमजीको इमिडेट रिलिज ट्याब्लेट र लिनाग्लीफ्टीन ५ एमजी र मेठाफर्मिन ५८० एमजीको इमिडेट रिलिज ट्याब्लेट रहेका छन् । यी स्ट्रेन्थका औषधी उत्पादन बन्द गरिएतापनि यिनै मोलीक्युलका अन्य स्ट्रेन्थहरु भने बन्द नभएको सूचना अधिकारी केसी बताउँछन् । ‘अन्तर्राष्ट्रियस्तरमा प्रचलनमा नभई नेपालमा मात्र प्रचलनमा भएका स्ट्रेन्थका औषधी बन्द भएको हो,’ उनी भन्छन्, ‘सोही मोलीक्युलका अन्य स्टे«न्थका औषधी बजारमा पाइन्छन् ।’

रमाइलो के छ भने विभागकै अधिकारीहरुका अनुसार बन्द गरिएको मोलीक्युुलका ती स्ट्रेन्थहरु नेपाल भन्दा बाहेक अन्य कुनै पनि देशमा दर्ता छैनन् र प्रचलनमा पनि छैनन् । विभागका क्लिनिकल फर्माक्लोजिष्ट डा. उत्सव चापागाई यी मोलीक्युल स्ट्रेन्थहरु नेपालबाहेक अन्य कुनै पनि देशमा प्रयोगमा नआएको र नेपालले मान्दैं आएका विश्वका ५ वटै स्ट्रेन्थ रेगुलारिटी अथोरिटीमा दर्ता नभएको पाइएकोले विभागले सूचना जारी गरेको बताउँछन् । उनी यी स्ट्रेन्थका औषधीको हालसम्म वैज्ञानिक सोध अनुसन्धान पनि नभएको दावी गर्छन् । ‘विभागले सूचना निकालेका स्ट्रेन्थका औषधी नेपालबाहेक अन्य कहीँ पनि दर्ता भएको पाइदैन्,’ उनी भन्छन्, ‘यी स्ट्रेन्थको अध्ययन पनि भएको देखिदैन् ।’

विभागकै अर्का क्लिनिकल फर्माक्लोजिष्ट डा. राकेश बर्मा अहिले यी स्ट्रेन्थका औषधी अध्ययन नभएर बन्द गरिएता पनि भोलि अध्ययन गरेर उपयोगी देखिए पुनः दर्ता गरी उत्पादन गर्न सकिने बताउँछन् । ‘भोलि नेपालमै अध्ययन गरेर यी औषधी आवश्यक छन्, उपयोगी छन् भन्ने आयो भने पुनः अनुमति पाउँछन्,’ डा. बर्मा भन्छन् ।

न अनुमति दिन अध्ययन, न अध्ययन गरेर बन्द

विभाग स्रोतका अनुसार आर्थिक वर्ष २०७३/०७४ देखि ०७५/७६ मा नेपालमा दर्ता भएका ती स्टे«न्थका औषधी उत्पादनका लागि दर्ता अनुमति पाएका छन् । विभागकै अधिकारीहरुका अनुसार ती स्ट्रेन्थका औषधी नेपालमा मात्र प्रचलनमा छन् । नेपालमा प्रचलनमा रहेका औषधीको गुणस्तरीयता, प्रभावकारिता र सहनताका विषयमा अहिलेसम्म अध्ययन नै नगरिएको विभागका अधिकारीहरु नै बताउँछन् । सूचना नै यसरी बाँझिएको छ एकातिर एसआरएमा ती स्ट्रेन्थका औषधी दर्ता छैनन् भनिएको छ, अर्कोतर्फ एसआरएमा दर्ता भएको विवरणअनुसार ती औषधीको गुणस्तरीयता, प्रभावकारिता र सहनतामा प्रश्न उठाइएको छ ।

नेपाली औषधी उद्योगले मात्र उत्पादन गर्ने ती औषधी अहिले बजारमा निकै चलेका छन् । विभागका एक अधिकारीका अनुसार ती औषधी उत्पादन दर्ता गर्दा पनि हचुवाका भरमा दर्ता गरिएको र अहिले पनि तिनीहरुको प्रभावकारिता नै नहेरी हचुवाकै भरमा बन्द गर्न लागिएको बताउँछन् । ‘हिजो दर्ता गर्दा एसआरए चाहिएन् वा जानीजानी बेवास्ता गरिएकै हो,’ ती अधिकारी भन्छन्, ‘अहिले फेरि त्यही एसआरएमा दर्ता छैन भनेर हचुवाका भरमा औषधीको गुणस्तरीयता, प्रभावकारिताको कुरा उठाइएको छ ।’

‘यदि गुणस्तरीयता र प्रभावकारिताको प्रश्न उठाउने हो भने दर्ता भएको यत्रो ५/६ वर्षसम्म कुनै अध्ययन नै नगरी किन निर्बाध प्रयोग गर्न दिइयो ?,’ उनी प्रतिप्रश्न गर्छन्, ‘विश्वमा कहीँ पनि अध्ययन नै नगरी प्रश्न कहाँबाट उठ्यो ?’

यी औषधी बन्द गर्ने विषयमा प्राविधिक मात्र नभएर कानुनी प्रश्न पनि उठेको छ ? औषधी ऐनको दफा २५ ले नेपालमा दर्ता भएको कुनैपनि औषधी बन्द गर्नुपर्दा नेपाल सरकारले निर्णय गरेर राजपत्रमा प्रकाशित गर्नुपर्ने हुन्छ । तर, विभागले पहिले उत्पादन बन्द गरेर सल्लाहाकार समितिमा प्रस्ताव लैजादैंछ । विभागका सूचना अधिकारी केसी प्रक्रियाअनुसार नै बन्द हुने बताउँछन् । ‘अहिले मुल्यांकन समितिको सिफारिसका आधारमा विभागले सल्लाहकार समितिमा लैजाने निर्णय गरेको हो,’ उनी भन्छन्, ‘त्यहाँको निर्णय नआएसम्म नयाँ दर्ता र उत्पादन बन्द गर्ने मात्र भनेको हो ।’

अझ रमाइलो त के छ भने त्यतिबेला कसरी उत्पादनको अनुमति दिइयो भन्ने कुरा कसैले बताउँदैंनन् । विभागका अहिलेकै महानिर्देशकका नारायण ढकालकै कार्यकालमा ती स्ट्रेन्थका औषधीहरुको उत्पादन दर्ता गरिएको थियो र अहिले ढकाल नै महानिर्देशक भएका बेला त्यसको उत्पादन बन्द गरिएको छ । यस विषयमा हेल्थआवाजले ढकालसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आएनन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ