२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचाररातारात किन रोकियो विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक ?

रातारात किन रोकियो विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक ?


काठमाडौं—तीन वर्षदेखि रोकिएको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको संचालक परिषद् (सिनेट) बैठक अन्तिम समयमा आएर पुनः रोकिएको छ । तीन वर्षसम्म बस्न नसकेको सिनेट सोमबार बस्ने तय भएको थियो ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक वर्षदेखि रहँदैं आएको गञ्जागोलको अवस्था अन्त्य गर्ने आशा राखिएको सिनेट बैठक अन्तिम समयमा आएर सिनेटका अध्यक्षसमेत रहेका सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले रोकेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यकारी समितिको बैठक राखेर सिनेट बैठक डाक्न निर्देशन दिएका थिए । ७ माघमा प्रधानमन्त्रीको निर्देशनपछि २९ माघ (सोमबार)मा सिनेट बैठक बस्ने निर्णय भएको थियो ।

सिनेट बस्नका लागि सबै सिनेट सदस्यहरु २८ माघमा काठमाडौं आइसकेका थिए । तर, २८ माघ मध्यरातमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीको सचिवालयबाट तत्काललाई सिनेट रोक्न निर्देशन भएपछि अन्तिम समयमा बैठक रोकिएको हो ।

डा. संग्रौलाले स्वास्थ्यमन्त्री बस्नेतलाई लेखेको पत्र

स्वास्थ्यमन्त्री बस्नेत सिनेट बैठक बसाएर विपीको गतिरोध निकास निकाल्ने सोचमा भएतापनि प्रधानमन्त्री पुष्पकमल दाहालबाट ‘ग्रीन सिग्नल’ नपाएपछि सिनेट रोकिएको स्रोतले जानकारी दियो । ‘हिजो दिनभर यही विषयमा प्रधानन्त्रीलाई भेट्न मन्त्रीज्यूले खोज्नुभएको थियो,’ मन्त्री बस्नेतको सचिवालयका एक सदस्यले भने, ‘हिजो भेट हुन सकेन्, त्यही भएर तत्काललाई रोकियो ।’

सिनेट बैठक रोक्नका लागि प्रधानमन्त्री मात्र नभएर विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत माओवादी निकट शिक्षक, कर्मचारी र प्राध्यापकहरु पनि लागेका छन् । सिनेट बैठक बस्ने थाहा पाएपछि शनिबार माओवादी निकट चिकित्सक संगठनका अध्यक्ष डा. मधुर बस्नेतको नेतृत्वमा एक टोली प्रधानन्त्रीलाई भेट्न काठमाडौं आएको थियो । सो टोली आइतबार दिनभर प्रधानन्त्री निवास बालुवाटारमा रहेको थियो ।

त्यसो त विपीको सिनेट रोक्न नेपाली कांग्रेसको एक खेमालाई लिएर रजिष्ट्रार प्रा.डा. सूर्य संग्रौला पनि लागेका छन् । उनले सहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्रीलाई आफूलाई सिनेट बैठकका एजेण्डा थाहा नभएको भनेर पत्र पठाएका छन् । उनले कार्यकारी परिषद्मा नै सहमति नभई सिनेट बैठक राखेको भन्दै असन्तुष्टिसमेत जनाएका छन् । स्रोतका अनुसार उनलाई अहिले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको सहयोग रहेको छ । रजिष्ट्रार डा. संग्रौलाले खड्कामार्फत मन्त्री बस्नेतलाई दबाब दिएको मन्त्री बस्नेत निकट स्रोतको दावी छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ