भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुर मेडिकल सिटिकाे रुपमा विकास भएतापनी मानसिक राेगकाे उपचारमा कमी भएकाे वताएकी छन् । उनले साे कमिलाई पूरा गर्न भरतपुरमा मानसिक अस्पताल निर्माण गर्ने साझा संकल्प गर्नुपर्ने बताईन्।
भरतपुरकाे चितवन मेडिकल कलेजमा बिहिवार सुरु भएकाे दोस्रो अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलनको उद्घाटन गर्दै उनले भनिन् ‘विशेषज्ञ सेवा लिने थलोको रुपमा विकास भएको भरतपुरमा मानसिक रोगको उपचारमा कमी भएको महसुस भएकाे छ ।’
उनले मेडिकल सिटीमा अर्काे एउटा आयाम थप्न इच्छुक र तत्पर रहेकाे वताईन् !
सम्मेलनमा संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारका प्रतिनिधि सम्मेलनमा सहभागी भएको हुँदा मानसिक स्वास्थ्यको कस्तो नीति र कार्यक्रम ल्याउने भन्नेमा आफूहरु सबै जिम्मेवार भएको बताईन् ।
भरतपुर महानगरपालिका जनताको स्वास्थ्यप्रति चिन्तित रहेको चर्चा गर्दै उनले एक वडा एक स्वास्थ्य नीति अन्तर्गत भरतपुर महानगरपालिकाका २९ वटा वडामा ४२ वटा स्वास्थ्य संस्था रहेको जानकारी दिईन् ।
उद्घाटन सम्मेलनमा बाेल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले सीमित साधन र स्रोतका भरमा मानसिक स्वास्थ्य क्षेत्रमा काम गर्नुपर्ने बाध्यता रहेको बताए । तथापी समुदायस्तरमा अझै पनि मानसिक रोगको उपचारको पहुँच पुग्न नसकेको बताए । उनले मानसिक स्वास्थ्य सम्बन्धी विशेषज्ञ उत्पादन गर्नेतर्फ राज्य लागेकाे बताए।
कार्यक्रमका अध्यक्ष एवं चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रा.डा.हरिश्चन्द्र न्यौपानेले समाजका लागि केही गर्न सकियोस् भनेर कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रम संयोजक डा श्रीधर पौडेलले विकसित देशहरुमा पनि मानसिक रोग विकराल रुपमा रहेको बताए । उनले विकसित देशमा मानसिक रोग लुकाउने प्रचलन हड्दै गएतापनि नेपाल जस्ता विकासाेन्मुख देशहरुमा अझै पनि लुकाउने प्रचलन रहेकाे बताए ।
उनले स्वदेशी तथा विदेशी विशेषज्ञ, अनुसन्धानकर्ता, चिकित्सक, समाजसेवीहरुको छलफलबाट निष्कर्ष निकालिने भन्दै जसका कारण नेपालको मानसिक स्वास्थ्यका समस्या न्यूनिकरण गर्न सम्मेलन फलदायी हुने बताए ।
सम्मेलनमा अमेरिका, नर्वे, भारत, नेपाल लगायतका देशका सहभागी रहेका छन् ।