२०८२ जेठ ७, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशीमा उपकरण खरिदमा बेथिती : गोदाममै थन्किए करोडौंका क्षयरोग पत्ता लगाउने मेसिन

कोशीमा उपकरण खरिदमा बेथिती : गोदाममै थन्किए करोडौंका क्षयरोग पत्ता लगाउने मेसिन

अस्पतालले लगेका उपकरण पनि छैन प्रयोगमा


विराटनगर–कोशी प्रदेश सरकारले हचुवाको भरमा करोडौं रुपैयाँ खर्चेर खरिद गरेका अत्याधुनिक स्वास्थ्य उपकरणहरू प्रयोगमा नआइकनै वर्षौंदेखि गोदाममै थन्किएको पाइएको छ । करोडौं मूल्यको ती स्वास्थ्य उपकरणहरू एक वर्षदेखि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको गोदाममा थन्किएका हुन् ।

अस्पतालहरूको भण्डारण क्षमता र आवश्यकता पहिचान नगरी अन्धाधुन्ध खरिद गरिएका यी उपकरणहरू अहिले आपूर्ति केन्द्रको गोदाममा थन्किएका छन् । प्रदेश सरकारले ७ वटा जिल्ला अस्पताल र संघीय सरकार मातहतको कोशी अस्पतालका लागि भनेर ८ थान क्षयरोग परीक्षण गर्ने डिएनए एक्स्ट्रयाक्सन मेसिन प्रति इकाई ३८ लाख ६४ हजार ६ सय रुपैयाँका दरले खरिद गरेको थियो ।

आपूर्ति केन्द्रले डिएनए एक्स्ट्रयाक्सन मेसिन कटहरी अस्पताल, तेह्रथुम जिल्ला अस्पताल, सोलुखुम्बु जिल्ला अस्पताल, इटहरी नगर अस्पताल, माइनगर अस्पताल इलाम, बेलबारी नगर अस्पताल, मोरङको रंगेली अस्पताल र कोशी अस्पतालको लागि खरिद गरेको थियो । कुल ३ करोड ९ लाख २० हजार रुपैयाँ खर्च गरी खरिद गरिएका यी मेसिनहरूमध्ये तीन वटा अझै पनि आपूर्ति केन्द्रकै गोदाममा थन्किएर बसेका छन् ।

त्यसैगरी, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका लागि ३४ लाख ९४ हजार ६ सय १० रुपैयाँमा खरिद गरिएको एचआईभी भाइरस पत्ता लगाउने एचआईभी१ र एचआईभी२ भाइरल लोड परीक्षण गर्ने मेसिन पनि वर्षौंदेखि प्रयोगविहीन अवस्थामा छ ।

बेलबारी नगर अस्पताल, रंगेली अस्पताल र कोशी अस्पतालमा उपकरण राख्ने स्थान नभएको भन्दै खरिद गरिएका मेसिनहरू एक वर्ष बितिसक्दा पनि आपूर्ति केन्द्रको गोदाममा थन्किएर राखिएका छन् । अझ अचम्मको कुरा त के भने उपकरण लगेका अधिकांश अस्पतालमा समेत क्षयरोग पत्ता लगाउने यी उपकरणहरू एक पटक प्रयोग गरेपछि पुनः प्रयोगमा नआएको स्रोतहरूले जनाएका छन् ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका लागि खरिद गरिएको भाइरल लोड मेसिन रिएजेन्ट पाउन गाह्रो हुने भन्दै प्रयोगशालाले नलगेको बुझिएको छ । स्वास्थ्य मन्त्रालयका एक कर्मचारीले नाम नखुलाउने शर्तमा भने, ‘प्रयोगशालाको आवश्यकता र राय बिना हचुवाको भरमा स्वास्थ्य उपकरणहरू मनलाग्दी रूपमा खरिद गरिएको छ । त्यसैले अहिले ती प्रयोगमा आएका छैनन् । बजारमा रिएजेन्ट पाउनै मुस्किल हुने उपकरणहरू पनि खरिद गरिएपछि अहिले प्रयोगबिहीन अवस्थामा छन् ।’

यी स्वास्थ्य उपकरणहरूको खरिद प्रक्रिया तत्कालीन कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र स्वास्थ्यमन्त्री प्रदीपकुमार सुनुवारको पालामा अगाडि बढाइएको थियो । त्यस समय  प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा. वीरेन्द्र मण्डल थिए । उक्त स्वास्थ्य उपकरणहरू आपूर्ति केन्द्रमा ४ असार २०८१ मा दाखिला भएको बेला भने मुख्यमन्त्री हिक्मतकुमार कार्की र स्वास्थ्यमन्त्री राजेन्द्र कार्की पदमा थिए ।

आवश्यकता र क्षमता पहिचान नगरी, बिना जनशक्ति व्यवस्थापन, भण्डारण स्थानको सुनिश्चितता नगरी खरिद गरिएका करोडौं मूल्यका स्वास्थ्य उपकरणहरू गोदाममा थन्किएर बस्नुले प्रदेश सरकारको खरिद प्रक्रियामा गम्भीर अनियमितता देखिएको छ । प्रदेशका अस्पताल र स्वास्थ्य संस्थाहरूमा आधारभूत स्वास्थ्य सेवाहरू समेत प्रभावित भइरहेका बेला राज्यकोषबाट यसरी करोडौं रकम बर्बाद हुनु आफैंमा दुर्भाग्यपूर्ण मात्र होइन्, यसले प्रदेश सरकारको सुशासन र पारदर्शिताको अभाव स्पष्ट रूपमा देखाएको छ ।

खरिद गरेर प्रयोगमा नआउनु बेथिती हो : स्वास्थ्यमन्त्री राई

कोशी प्रदेशका स्वास्थ्य मन्त्री भुपेन्द्र राईले आवश्यक जनशक्ति बिना यसरी उपकरण खरिद गरेर प्रयोगमा नआउनु स्पष्ट बेथिती भएको बताए । उनले भने, ‘सामान खरिदले मात्रै सुशासन प्राप्त हुँदैन । गोदाममा थन्किएर राख्नु र कारखानामा हुनु एकै हो । यो बेथिती हो ।’

उनले आफू मन्त्री भएपछि यस्तो प्रवृत्ति रोक्न लागि परेको दाबी गरे । ‘धनकुटामा डायलाइसिस मेसिन दुई वर्षदेखि नचलाई राखिएको थियो । अहिले जनशक्तिको व्यवस्थापन गरेर सुचारु भएको छ,’ मन्त्री राईले भने । उनले संखुवासभामा सिटी स्क्यान मेसिन खरिदका लागि बजेट बिनियोजन भएपनि जनशक्ति नभएको पाइएपछि त्यो खरिद प्रक्रिया रोकेको समेत बताए ।

प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र विराटनगरका प्रमुख डा. सुरेश मेहताले भने सप्लायर्सबाट इन्जिनियर आएपछि जनशक्ति भएका अस्पतालहरूमा स्वास्थ्य उपकरण पठाउने तयारी भइरहेको बताए । ‘म आउनुभन्दा अगाडि खरिद गरिएका उपकरणहरू रहेछन् । अहिले थन्किएका उपकरणहरू अस्पतालमा पठाउनको लागि तयारी भइरहेको छ,’ उनले भने ।

महालेखाले देखायो प्रदेश सरकारको लापरवाही

महालेखा परीक्षकको कार्यालयले कोशी प्रदेश सरकारले खरिद गरेको स्वास्थ्य उपकरणको उचित संरक्षण र व्यवस्थापन गरिनुपर्ने बताएको छ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०/८१ को वार्षिक रिपोर्टमा यसलाई गम्भीर कमजोरीका रूपमा औंल्याइएको छ ।

प्रदेश आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली, २०७९ को नियम ४३ (छ) अनुसार सरकारी रकम खर्च गर्दा स्रोत, साधन तथा सम्पत्तिको समुचित उपयोग हुनु अनिवार्य छ । साथै, खर्च गरिएका सामाग्रीको सम्भार तथा संरक्षणको उचित व्यवस्था गर्नुपर्ने स्पष्ट व्यवस्था रहेको छ । तर, प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले यस प्रावधानको खुला उल्लंघन गर्दै प्रयोगमा नआउने उपकरणहरू खरिद गरेको देखिएको छ ।

केन्द्रले एचआईभी भाइरसको परीक्षणका लागि १ थान ‘एचआईभी १ र २ भाइरल लोड मेसिन’ ३४ लाख ९७ हजारमा ६१० रुपैयाँ खरिद गरेको थियो । यस्तै, ८ थान ‘डीएनए/आरएनए एक्स्ट्रयाक्सन मेसिन’ प्रति थान ३८ लाख ६४ हजार ६०० रुपैयाँका दरले कुल ३ करोड ९ लाख २० हजार रुपैयाँ खरिद गरिएको हो । तर, तीमध्ये ७ थान मेसिन अझैसम्म केन्द्रको गोदाममै थन्किएको महालेखा परीक्षकको प्रतिवेदनले उल्लेख गरेको छ ।

यसरी उपकरणहरू प्रयोगमा नआउँदा जनस्वास्थ्य सेवामा सुधार आउने सरकारको दाबी खोक्रो सावित भएको छ । प्रदेशवासीको कर तिर्ने पैसाबाट खरिद गरिएका उपकरणहरू यति लामो समयसम्म प्रयोगमै नआउनु गम्भीर प्रश्नको विषय बनेको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ