काठमाडौं—सरकारले चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपकुलपति सिफारिस गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको नेतृत्वमा सर्च कमिटी बनाएको छ । केही दिनअघि सरकारले उपकुलपति रिक्त रहेका चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपकुलपति सिफारिस गर्न सर्च कमिटी बनाएको हो ।
स्वास्थ्यमन्त्रीको संयोजकत्वमा बनेको सर्च कमिटीका सदस्यहरुमा राष्ट्रिय योजना आयोगको स्वास्थ्य हेर्ने सदस्य डा. आरपी बिच्छा र स्वास्थ्य सचिव डा. विकास देवकोटा सदस्य छन् ।
झण्डै दुई महिनादेखि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपुकलपतिबिहीन छन् । सरकारले ती प्रतिष्ठानमा निमित्त उपकुलपति तोकेर दैनिक आर्थिक र प्रशासनिक काम अगाडि बढाइरहेको छ ।
अहिले सर्च कमिटीले उपकुलपति सिफारिसका लागि मापदण्ड बनाइरहेको छ । ‘सर्च कमिटीले अहिले मापदण्ड बनाइरहेको छ,’ स्वास्थ्य सचिव डा. देवकोटाले भने, ‘मापदण्ड बनिसकेपछि सार्वनिक सूचना जारी हुन्छ ।’
सर्च कमिटीले तीन जनाको नाम प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने छ । सिफारिस तीन जनाबाट प्रधानमन्त्रीले उपकुलपति नियुक्त गर्नेछन् ।