काठमाडौं—राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको पाँचौं राष्ट्रिय महाधिवेशन १७ देखि १८ जेठसम्म काठमाडौंमा हुने भएको छ । बुधबार महासंघले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रिय सभागृहमा हुने महाधिवेशनको उद्घाटन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने जानकारी दिएको छ ।
दुई दिनसम्म चल्ने सम्मेलनमा ५०० भन्दा बढी प्रतिनिधी सहभागी हुनेछन् । महासंघका अध्यक्ष डा. झलक गौतमकाअनुसार महाधिवेशनले विधान संशोधन गरेर ९ पदाधिकारीसहित ९९ जनाको केन्द्रीय समिति निर्वाचित गर्नेछ ।
महाधिवेसन तयारीका लागि महासंघले विभिन्न उपसमितिहरु बनाएर तयारी अगाडि बढाएको डा. गौतमले जानकारी दिए ।
वि.स. २०६२ सालमा स्थापना भएको राष्ट्रिय स्वास्थ्यकर्मी संघ विस्तार भएर वि.सं. २०७८ सालमा महासंघ बनेको हो । हाल महासंघमा स्वास्थ्य क्षेत्रका विभिन्न ८ घटकहरु आवद्ध छन् । महासंघको चौथो महाधिवेशन ०७८ देखि हालसम्म ८ वटा प्रदेश, ७१ वटा जिल्ला, ८ विशेष जिल्ला, ८ घटकका केन्द्र, २८७ वटा स्थानीय कमिटी गरी ४०० भन्दा बढी कमिटी छन् । जसमा हजारौं स्वास्थ्यकर्मीहरु संगठित रहेको महासंघले जनाएको छ ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले सरकारी, गैरसरकारी, निजी र शिक्षण संस्थाहरुका कार्यरत स्वास्थ्यकर्मीको हकहितमा काम गर्दै आएको छ । यस्तै, महासंघले स्वास्थ्यकर्मीको पारिश्रमिक, सेवा सुविधा, भत्ता, स्वास्थ्य सेवा सुधार, स्वास्थ्य जनशक्ति उत्पादन, स्वास्थ्य सम्बन्धि कानुन, नीतिगत सुधार, पूर्वाधारहरु र सामाजिक कार्यहरुमा समेत पैरवी र वकालत गर्दै आएको छ ।