काठमाडौं—अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९५ अर्ब बजेट छुट्याएका छन् । बिहीबार संसद भवन नयाँबानेश्वरमा संघीय संसदका दुवै संसद समक्ष अर्थमन्त्री पौडेलले स्वास्थ्य मन्त्रालयलाई ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट बिनियोजन गरेको जानकारी दिएका हुन् ।
उनले स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब रकम बिनियोजन गरिएको जानकारी दिए । यस्तै, बीमाको हालसम्म रहेको भुक्तानी तेस्रो पक्षबाट परिक्षण गराइ यही आर्थिक वर्षभित्रमा भुक्तानी गर्ने व्यवस्था मिलाएको समेत बताए ।
स्वास्थ्यको बजेटमा समेटिएका मुख्य २७ बुँदा
१. निरोगी नेपाली, स्वस्थ नेपाल,स्वच्छ आहार, योग ध्यान व्यायाम र सकारात्मक सोचसहितको जीवनशैली विकास गर्न निरोगनी नेपाल अभियान अभियान संचालन गरिने
२. आम नागरिकलाई निःशुल्क, सर्वसुलभ र गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाका उपलब्ध गराइनेछ । निःशुल्क औषधि दुई अर्ब ६ करोड रुपैयाँ । वितरण गरिएका औषधिको अभिलेख राखिने ।
३. विशिष्टीकृत स्वास्थ्य सेवाको दायरा विस्तार गर्न दक्ष जनशक्ति, आधुनिक उपकरण र पूर्वाधारमा लगानी वृद्धि गरिने
४. स्वास्थ्य बीमा कार्यक्रमको पुनःसंरचना गरिने । दायरा विस्तार गरिने, बिमितहरु सुविधा थैली वृद्धि गरिने । बीमामा दोहोरपना हटाइने । सामाजिक सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमामा एकीकृत गरिने । बिमितलाई पोलिसी छनोटको सुविधा दिइने । चुहावट नियन्त्रण र संस्थागत सुशासन कायम गरिने । जेष्ठ नागरिक, दलित, अपांगता भएका व्यक्ति, विपन्न तथा अल्पसंख्यक समुदायको बीमा सुविधालाई निरन्तरता दिइने ।
५. स्वास्थ्य बीमा कार्यक्रमलाई १० अर्ब । हालसम्म भुक्तानी बाँकी रकम यसै वर्षभित्र फरफारक गर्ने
६. उच्च रक्तचाप, मुटु, मधुमेह, मिर्गौला, कलेजो र क्यान्सरलगायतका नसर्ने रोगको निदान तथा उपचारका लागि दक्ष चिकित्सक र आधुनिक उपकरणसहित विशिष्ट सेवा विस्तार गरिने । सातै प्रदेशमा मुटु रोग र क्यान्सर रोगको उपचार विस्तार गरिने । फागुन महिनामा नसर्ने रोगको सघन स्क्रिनिङ गर्ने व्यवस्था मिलाइने ।
७. आधारभूत स्वास्थ्य सेवा र आधारभूत अस्पतालबाट निःशुल्क उपलब्ध हुँदैं आएका औषधिहरुको सुनिश्चित गरिनेछ । वितरण गरिएका औषधिको अभिलेख राख्ने र वेबसाइटमा प्रकाशन गर्ने व्यवस्था मिलाइनेछ । यसका लागि २ अर्ब ६ करोड रुपैयाँ बिनियोजन ।
८. संक्रामक रोग र महामारीबाट सिर्जना हुने स्वास्थ्य आपतकालीन अवस्थाको पूर्व तयारी एवं प्रति कार्यलाई प्रभावकारी बनाउन र डेंगीलगायतका कीटजन्य रोगको नियन्त्रण गर्न आवश्यक बजेट
९. सिकलसेल एनिमियाको उपचारका लागि नवीनतम प्रविधी अपनाइने
१०. स्वदेशमै जलनको गुणस्तरी सेवा प्रदान गर्न सबै प्रदेशका एक—एक अस्पतालमा विशिष्टीकृत जलन उपचार विभाग बनाउने । वीर अस्पतालमा जलन उपचारका लागि सघन उपचार कक्ष विस्तार गरिने ।
११. निर्माणाधीनको आधारभूत अस्पतालको पूर्वाधार निर्माण सम्पन्न र सञ्चालनका लागि ११ अर्ब २४ करोड रुपैयाँ
१२. कीर्तिपुर जलन अस्पताल, धुलिखेल अस्पताल, काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ, तिलगंगा र रण अम्बिका आँखा अस्पतालको सेवा तथा गुणस्तर वृद्धिका लागि पुँजीगत अनुदान
१३. स्वास्थ्य सेवामा सबैको पहुँचका लागि टेलिमेडिसिन र डिजिल हेल्थ सेवा विस्तार गरिने । अत्याधुनिक स्वास्थ्य सेवाका लागि रोबटिक तथा कृत्रिम वौद्धिकताको उपयोग गरिनेछ ।
१४. वीर अस्पतालबाट अन्तर्राष्ट्रियस्तर चिकित्सा शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउन पूर्वाधार निर्माण र उपकरण र जनशक्ति व्यवस्थापनका लागि बजेट व्यवस्था ।
१५. कान्ति बाल बालबालिका उपचारको सेन्टर अफ एक्सीलेन्सका रुपमा विकास गर्ने ।
१६. पाठेघरको क्यान्सर, स्तन क्यान्सर र पाठेघर खस्ने रोग निःशुल्क उपचार, एचपीभी परीक्षण, आमा सुरक्षा कार्यक्रम, सुनौला हजार दिन, विपन्न नागरिकलाई निःशुल्क उपचारलाई निरन्तरता
१७. १४ वर्षमुनिका बालबालिकाको क्यान्सर निःशुल्क उपचार गरिने
१८. सबै प्रदेशमा अटिजम र वौद्धिक अपांगता भएका बालबालिको पहिचान, उपचार र पुनस्थापना सेवाको प्रारम्भ गरिने
१९. मनोसामाजिक परामर्श कार्यक्रम र सचेतना कार्यक्रममार्फत मानसिक स्वास्थ्य समस्या निराकरण गरिने । मानसिक अस्पताल लगनखेलको क्षमता विस्तार गरिने ।
२०. काठमाडौं उपत्यकास्थित केन्द्रीय अस्पतालमा मस्तिष्क, मेरुदण्ड तथा स्नायु रोगको उपचारका लागि राष्ट्रिय न्यूरो साइन्स केन्द्र स्थापना गरिने
२१. राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको स्तरोन्नती गरी अन्तर्राष्ट्रियस्तरको बनाइने
२२. आयुर्वेद र वैकल्पिक उपचार पद्धति प्रवद्र्धन गरिने
२३. सिंहदरबार वैद्यखानानको क्षमताको विस्तार गरिने
२४. पञ्चकर्म सेन्टरलाई सञ्चालनमा ल्याइने
२५. सबै प्रकारका औषधिको परीक्षणका लागि औषधि प्रयोगशालाको क्षमता विस्तार गरिने ।
२६. अत्यावश्यक औषधि स्वदेशमै उत्पादन गर्नका लागि प्रोत्साहन गरिने ।
२७. राष्ट्रिय जनसंख्या नीति कार्यन्वयन गरिने ।