२०८२ जेठ २५, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारत्रिवि शिक्षण अस्पतालमा नेपालमै पहिलो पटक ‘सेक्स चेन्ज अप्रेशन’

त्रिवि शिक्षण अस्पतालमा नेपालमै पहिलो पटक ‘सेक्स चेन्ज अप्रेशन’


काठमाडौं—त्रिभुवन विश्वविद्यालय त्रिवि शिक्षण अस्पतालमा नेपालमै पहिलो पटक लिङ्ग परिवर्तन (सेक्स चेन्ज अप्रेशन) शल्यक्रिया भएको छ । आइतबार अस्पतालले एक विज्ञप्ती जारी गर्दै जनकपुरका २५ वर्षीय ट्रान्सजेन्डरमा उक्त शल्यक्रिया गरिएको जनाएको छ ।

अस्पतालका सह—प्रवक्ता डा. गोपाल सेढाइकाअनुसार नेपालमै पहिलो पटक सेक्स चेन्ज अप्रेशन गरिएको हो ।

‘जनकपुर निवासी २५ वर्षीया ट्रान्सजेन्डरमा गरिएको यस सेक्स चेन्ज अप्रेशनमा पुरुषको लिङ्गको तन्तुहरुलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जैनेन्द्रिय अंगको पुननिर्माण गरिएको छ,’ उनले भने, ‘यसले सो व्यक्तिलाई आफूले चाहेको लैङ्गिक पहिचान प्राप्त गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।’

त्रिविका चिकित्सकहरुले विदेशी चिकित्सक अलरिजा हमीदियानको नेतृत्वमा उक्त सर्जरी सम्पन्न गरेका हुन् । सर्जरीमा त्रिवि शिक्षण अस्पतालको प्लाष्टिक सर्जरी विभागका प्रमुख प्रा.डा. जयनमान श्रेष्ठ, प्लाष्टिक सर्जनहरु प्रा.डा. ईश्वर लोहनी, डा. संगम रायमाझी, डा. समित शर्मा, डा. विकेश राजभण्डारी र डा. हिमालय निरौला सहभागी थिए । यस्तै, रेजिडेन्टहरु डा.अनुप थापा, डा. सुदिप पण्डित, डा. आशिष अधिकारी, डा. नोभेल, डा. इशा, डा. अस्विनको सहभागिता थियो भने एनेस्थेसियामा डा. मेघा कोइराला, डा. पंकज जोशीको टिमले सघाएको थियो ।

अस्पतालको प्लाष्टिक सर्जरी विभागका प्रमुख प्रा.डा. जयनमान श्रेष्ठले अब शिक्षण अस्पतालमा जेन्डर अफर्मिङ क्लिनिक स्थापना गरेर सेवा दिने जानकारी दिए ।

अस्पतालले यसअघि यो शल्यक्रियाका लागि विदेश जानुपर्ने भएकामा अब स्वदेशमै शल्यक्रिया सुरु गरेपछि ट्रान्सजेन्डर समुदायलाई विदेश जानुपर्ने र धेरै खर्च गर्नुपर्ने बाध्यता अन्त्य हुने जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ