काठमाडौं–जनकपुरकी एक ७० वर्षीया महिलालाई हृदयाघात भएको जानकारी आएपछि नर्भिक अस्पतालले हेलिकोप्टरमार्फत तत्काल उद्धार गरी सफल उपचार गरेको छ।
इमर्जेन्सी विभाग प्रमुख डा. रीजु वैद्यको नेतृत्वमा प्यारामेडिक्सहरु अरविन्दकुमार शाह र दिनेश राईसहितको टोली जनकपुर पुगी महिलालाई आइतबार साँझ अस्पताल ल्याएर उपचार गरिएको हो ।
छाती दुख्ने र चक्कर आउने समस्या भएपछि ती महिलालाई जनकपुरस्थित जानकी हेल्थकेयरको आईसीयुमा पुर्याइएको थियो । टोली जनकपुर पुग्दा महिलामा कम्प्लिट हार्ट ब्लक भएको र मुटुको चाल २५ भन्दा कम भएको अवस्था थियो ।
जनकपुरमा आवश्यक उपचारपछि नर्भिकको टोलीले तत्काल महिलालाई लिएर काठमाडौं उड्ने क्रममा कम्प्लिट हार्ट ब्लक भएपछि टोलीले सीपीआरसहितका आवश्यक उपचार उडान अवधिमै गरेको थियो ।
अस्पतालमा ल्याइपुर्याइँदा इमर्जेन्सी तथा कार्डियोलोजी विभागको टिम तयारी अवस्थामा थियो । त्यसपछि तत्काल डा। नमिता अधिकारी र डा. रोशन शर्मासहितको टोलीले महिलालाई इन्ट्युबेसन गरेर भेन्टिलेटरमा राखिएको थियो भने त्यसपछि प्रा. डा. यादव भट्ट नेतृत्वको टोलीले अस्थायी पेसमेकर राख्यो । त्यसपछि महिलालाई सीसीयुमा राखेर डा. प्रदीप तिवारी र डा. रोमन कार्कीसहितको टिमले उपचार गर्यो ।
सोमबार नै बिरामीलाई भेन्टिलेटरबाट निकाल्नुका साथै पेसमेकर पनि हटाइएको र अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।