२०८२ असार १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न माग

एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न माग


काठमाडौं—पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको फ्याकल्टी एशोसियसनले एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न माग गरेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई सम्बोधन गर्दै पठाइएको पत्रमा उसले एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक खारेज गर्न माग गरेको हो ।

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरोकारवालासँग छलफल समेत नगरी एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई व्यवस्था गर्न बनेको विधेयकको खाका तयार पारी सार्वजनिक रुपमा सुझाव माग गरेकोमा प्रतिष्ठान गम्भीर छ,’ प्रतिष्ठानको फ्याकल्टी एशोसिएसनले भनेको छ, ‘र यसको खारेजीको माग गर्दछ ।’

नेपालका स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु फरक—फरक कानुनी संरचना, ऐतिहासक पृष्ठभूमि, संस्थापक दर्शक, भौगोलिक अवस्था र स्रोत साधनका आधारमा विकसित भएका संस्थाहरु भएको भन्दैं एशोसिएसनले सबैलाई एकै साचोमा ढाल्ने केन्द्रीकृत दृष्टिकोण नेपालको संविधान र संघीयताको मर्म र भावनाविपरित रहेको आरोप लगाएको छ ।

एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक खारेज नभए सशक्त आन्दोलन अगाडि बढाउने चेतावनीसमेत दिएको छ । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक मस्यौदा तयार पारेर सार्वजनिक सुझाव माग गरेको थियो ।

मस्यौदामा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अध्ययन संस्थानमा रुपान्तरण गर्ने उल्लेख छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ