काठमाडौं—प्रधानमन्त्री सुशीला कार्कीले पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मालाई स्वास्थ्य मन्त्री बनाउने तयारी गरेकी छन् । बालुवाटार स्रोतकाअनुसार स्वास्थ्य मन्त्रीका लागि डा. शर्माको नाम लगभग टुंगिएको छ ।
‘उहाँ (डा. सुधा)लाई स्वास्थ्यमन्त्री बनाउने करिब—करिब टुंगिएको छ,’ स्रोतले भन्यो, ‘अब केही तलमाथि नभए उहाँसहित चार जना मन्त्रीलाई आजै सपथ गराउने तयारी छ ।’
उनी नेपाल चिकित्सक संघ (एनएमए)को पूर्व अध्यक्षसमेत हुन् ।
प्रधानमन्त्री कार्कीले डा. शर्मासहित अन्य तीन जना गणपतिलाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्तालाई पनि आफ्नो क्याबिनेटमा थप्ने तयारी गरेकी छन् । कार्की क्याबिनेट चार जना थपिएसँगै १२ सदस्सीय पुग्नेछ ।
यसअघि अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्रालाई स्वास्थ्यमन्त्री बनाउने तयारी प्रधानमन्त्रीको थियो । तर, स्वास्थ्य सेवा विभागको खरिद प्रकरणमा अख्तियारले उनीमाथि छानविन गरिरहेका कारण उनको नाम अन्तिम अवस्थामा काटिएको थियो ।
डा. मिश्राले स्वास्थ्यमन्त्री बन्नकै लागि अतिरिक्त स्वास्थ्य सचिवबाट राजीनामा दिएकी थिइन् ।