काठमाडौं—नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्माले पद तथा गोपनीयताको सपथ लिएकी छन् । आइतबार दिउँसो राष्ट्रपति कार्यलयमा आयोजित सपथ ग्रहण समारोहमा उनले पद तथा गोपनीयताको सपथ लिएकी हुन् ।
यससँगै जेनजी आन्दोलनपछि गठित प्रधानमन्त्री सुशीला कार्कीले नेतृत्वको सरकार तेस्रो पटक विस्तार भएको छ । स्वास्थ्यमन्त्रीमा डा. शर्मासँगैं बब्लु यादवले युवा तथा खेलकुदमन्त्रीको सपथ लिएका छन् ।
प्रधानमन्त्री कार्कीले डा. शर्मासहित अन्य तीन जना गणपतिलाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्तालाई पनि मन्त्री बनाएर क्याबिनेट विस्तार गर्ने योजना बनाएकी थिइन् । तर, अन्तिम समयमा सुनार र श्रेष्ठको नाममा मन्त्रीको सूचीबाट हटाइएको थियो ।
नवनियुक्त स्वास्थ्यमन्त्री डा. शर्मा नेपाल चिकित्सक संघ (एनएमए)को पूर्व अध्यक्षसमेत हुन् । डा. शर्माले भारतको राजेन्द्र मेडिकल कलेज राँची झारखण्डबाट एमबीबीएस गरेकी हुन् । उनले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)बाट डिजिओ गरेकी छन् भने बेलायतस्थित रोयल कलेज अफ लण्डनबाट फेलोसीप गरेकी छन् ।
डा. शर्माले त्रिभुवन विश्वविद्यालयबाट माष्टर्स अफ पब्लिक हेल्थमा गोल्ड मेडल हात पारेकी थिइन् ।
उनी दुई वर्ष परोपकार स्त्री तथा प्रसूति अस्पतालको रजिष्ट्रार भइन् भने १० वर्ष प्राध्यापक तथा चिफ कन्सल्ट्यान्टमा रुपमा काम गरिन् । एक वर्ष चार महिना प्रसूति गृहको निर्देशकका रुपमा पनि उनले काम गरिन् ।
डा. शर्माले सन् २००८ देखि २०११ सम्म तीन वर्ष तीन महिना स्वास्थ्य सचिवका रुपमा स्वास्थ्य मन्त्रालयको प्रशासनिक नेतृत्व गरेकी थिइन् । सरकारी सेवाबाट अवकास भएपछि उनले युनिसेफ र डिएफआईडीमा झण्डै ६ वर्ष काम गरिन् ।
डा. शर्मा पछिल्ला सात वर्षदेखि सिविक ट्राभल मेडिसिन सेन्टरको सह निर्देशकका रुपमा सक्रिय थिइन् ।
यसअघि अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्रालाई स्वास्थ्यमन्त्री बनाउने तयारी प्रधानमन्त्रीको थियो । तर, स्वास्थ्य सेवा विभागको खरिद प्रकरणमा अख्तियारले उनीमाथि छानविन गरिरहेका कारण उनको नाम अन्तिम अवस्थामा काटिएको थियो । डा. मिश्राले स्वास्थ्यमन्त्री बन्नकै लागि अतिरिक्त स्वास्थ्य सचिवबाट राजीनामा दिएकी थिइन् ।