काठमाडौं-निजी अस्पतालहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)ले निजी स्वास्थ्य क्षेत्रलाई शान्तिपूर्वक निर्वाध सेवा सुचारु गर्ने सुनिश्चितता माग गरेको छ । मंगलबार अफिनका अध्यक्ष डा. पदमबहादुर खड्काले एक विज्ञप्ती जारी गर्दै शान्तिपूर्ण रुपमा निर्वाध सेवा सुचारु गर्ने सुनिश्चिताका लागि स्वास्थ्य मन्त्रालय र सुरक्षा निकायलाई पहलकदमी लिइदिन आग्रह गरेका हुन् ।
पछिल्लो समय स्वास्थ्यकर्मी तथा नर्सहरु सरकारीसरह पारिश्रमिक माग गर्दै आन्दोलनरत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि नर्स र स्वास्थ्यकर्मीहरुलाई सरकारी पाँचौ तहसरह पारिश्रमिक दिन निर्देशन दिएका छन् । अफिनले एकतर्फी रुपमा जारी निर्देशनहरुलाई अकस्मात र अबिलम्ब कार्यन्वय सम्भव नभएको जनाएको छ ।
उसले यस सम्बन्धमा पर्याप्त छलफल, वार्ता र निष्कर्षको वातावरण तयार नभई आन्दोलनको नाममा गैरकानुनी वातावरण पैदा हुनु सिंगो राष्ट्रकै सुरक्षा नीतिमा प्रश्न उठ्नु भएको दावी गर्दै स्वास्थ्य क्षेत्रलाई बदनाम र नागरिकका सशयको अवस्था पैदा गराउनु भएको पनि दावी गरेको छ ।
पारिश्रमिकको विषयलाई लिएर मेडिकल कलेजहरुमा स्वास्थ्यकर्मीबाट सिर्जित परिस्थितीले मानिसको जीवन रक्षा गर्ने स्वास्थ्य जस्तो अति संवेदनशील क्षेत्रलाई सेवाविमुख गराउने अवस्था सिर्जना भएको आरोप पनि अफिनको छ ।
निजी क्षेत्रका देशभर ४०१ अस्पताल सञ्चालनमा छन् । ती अस्पतालहरुमा करिब २० हजार शैय्या छन् । अफिनले आफूहरुले देशको कुल जनसंख्याको ६५ प्रतिशतलाई स्वास्थ्य सेवा प्रवाह गरिरहेको जनाएको छ ।
