ललितपुर—स्तन क्यान्सर सर्भाइभरहरुले समयमै क्यान्सरको पहिचान गरेर उपचार गर्न सकिएमा स्तन क्यान्सरलाई जित्न सकिने बताएका छन् । बुधबार स्तन क्यान्सर जागरण महिनाको अवसर पारेर देविका बन्दना फाउण्डेसन, नेपाल क्यान्सर हस्पिटल र उपचारलाई सहयोगी हातहरुको संयुक्त आयोजनामा भएको कार्यक्रममा उनीहरुले सो कुरा राखेका हुन् ।
वरिष्ठ गायिका मीरा राणाले आफूलाई सन् २०२० मा स्तन क्यान्सर भएपछि लण्डन पुगेर उपचार गरेको अनुभव बाँडिन् । ‘स्तन क्यान्सर भएपछि उपचारका लागि म लण्डन गए,’ उनले भनिन्, ‘अहिले म पूर्ण रुपमा स्वस्थ छु ।’ क्यान्सर उपचारमा सहभागी हुने चिकित्सकहरुले बिरामीसँग हँसिलो चेहराका साथ केही नभएझैं व्यवहार गर्नुपर्नेमा जोड दिइन् । ‘त्यसले बिरामीको मनोबल वृद्धि गर्छ,’ उनले भनिन्, ‘मैले लण्डनमा उपचार गर्दा डाक्टरहरु हँसिलो अनुहारका साथ केही नभएझैं प्रस्तुत भएँ ।’
गायिका देविका बन्दनाले आफूले सकारात्मक सोच, आत्मबल, क्रियटिभनेस र बलियो मनका कारण स्तन क्यान्सरलाई जितेको अनुभव साटिन् । उनले क्यान्सर जित्नका लागि सही उपचारसँगै परिवारको समेत बलियो साथ आवश्यक पर्ने धारणा राखिन् । क्यान्सरका बिरामीलाई सहयोग गर्ने उद्देश्यका साथ बुधबारै देविका फाउण्डेसन समेत औपचारिक उद्घाटन गराएकी उनले स्तन क्यान्सर लागेदेखिका अनुभूति समेटिएको पुस्तक ‘जित्नेको हाँसो’ पनि बजारमा ल्याएकी छन् ।
स्तन क्यान्सर सर्भाइभर गायिका संगीता शाक्यले १४ वर्षअघि आफूलाई स्तन क्यान्सर भएको र त्यसलाई परास्त गरेको बताइन् । ‘१४ वर्षअघि मलाई क्यान्सर भएको थियो । आत्मबल बलियो बनाउनुपर्छ जित्न सकिन्छ,’ उनले भनिन्, ‘मैले पाँच वर्षसम्म फ्लोअप गरे । क्यान्सरको पनि ट्रिटमेन्ट हुन्छ, सकारात्मक सोच्नुपर्छ ।’ उनले आफूले क्यान्सरसँग लडिरहँदा पनि इन्जोय गरेको बताइन् ।

अर्की क्यान्सर सर्भाइभर कोपिला गौतमले आफूलाई जेनेटिक प्रकृतिको ओभरियन क्यान्सर देखिएको र पछि स्तन क्यान्सर पनि भएको बताइन् । ‘आमालाई ओभरियन क्यान्सर भएकाले त्यो जेनेटिक रुपमा ममा पनि देखियो,’ गौतमले सुनाइन्, ‘पछि ब्रेस्ट क्यान्सर पनि देखियो । मैले ब्रेस्ट नै हटाउनुप¥यो ।’ उनले आफूहरु ‘क्यान्सर सर्भाइभर’ नभएर ‘क्यान्सर फाइटर’ भएको बताइन् । ‘मर्ने धेरै कारण हुँदा पनि बाँच्ने एउटा कारण महिलाको लागि बच्चा हो,’ गौतमले भनिन्, ‘रोगको उपचार समय भएमा क्यान्सर जित्न सकिन्छ ।’
बबी शाक्यले २८ वर्षअघि ब्रेस्ट क्यान्सरसँग लड्नुप¥यो । त्यतिबेला उनको बच्चा ९ महिनाको मात्रै थियो । तर, उनले हिम्मतका साथ ब्रेस्ट क्यान्सरलाई पराजित गरिन् । १३ वर्षयता स्वस्थ रुपमा सक्रिय जीवन बिताइरहेकी छन् । ‘२८ वर्षअघि ब्रेस्ट क्यान्सर हुँदा मेरो बच्चा ९ महिनाको मात्रै थियो,’ उनले भनिन्, ‘१३ वर्षदेखि क्यान्सर फ्री छु ।’ उनले त्यतिबेला बायोस्पीका लागि नमुना भारत पठाएको र रिपोर्ट आउन दुई महिना लागेको अनुभव साट्दैं अहिले नेपालमा त्यो अवस्था नरहेको बताइन् ।
आमाका लागि क्यान्सर जित्ने मनोबल जुटाएको आशा श्रेष्ठले बताइन् । ‘मैले मेरी आमाका लागि बाच्नुपर्छ भनेर ब्रेस्ट क्यान्सरसँग लड्न मनोबल जुटाए,’ आँखा भरी आँशु पार्दै उनले भनिन्, ‘आमा मेरो बाच्नुको प्रेरणा हुनुहुन्छ ।’ दर्जन बढी ब्रेस्ट क्यान्सर सर्भाइभरहरु जम्मा भएको सो कार्यक्रमकै सुरुमै ‘उत्साह र आशाको जीवन’ शीर्षकको कविता सुनाइन् ।
चन्द्रागिरी नगरपालिकाकी सुर्यलक्ष्मी महर्जनले ब्रेस्ट क्यान्सर भएको पत्ता लागेपछि आफूलाई आफन्तले पटक—पटक ‘मर्छस’ भनेको स्मरण गरिन् । ‘मलाई आफन्तले नै तीन पटक ‘तँ मर्छस’ भने मैले तिमीहरुका लागि भएपनि बाँच्छु भनेर प्रण गरेर र मनोबल उच्च बनाए,’ उनले भनिन् ।

निकै कममात्रै पुरुषहरुमा देखिने क्यान्सर ज्ञानु लामा पाख्रिनलाई देखियो । लकडाउनका समयमा विरलै पुरुषहरुमा देखिने ब्रेस्ट क्यान्सर देखिएपछि उनी त्रिवि शिक्षण अस्पताल पुगे । त्यहाँ डा. सुजिता हिराचनले उनको शल्यक्रिया गरिदिइन् । ‘मलाई कतिले त ‘लामा क्यान्सर भयो अब मर्छस’ भने,’ उनले अनुभव साटे, ‘तर, म अहिले निको भएर स्वस्थ जीवन बाँचिरहेको छु । उनीहरुले मुख हेर्न समेत सकेका छैनन् ।’
नेपाल क्यान्सर अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले पहिले क्यान्सरलाई मृत्युसँग जोडेर हेरिने गरेकोमा अहिले भने त्यो अवस्था नरहेको बताए । ‘पहिले क्यान्सर भन्ने बितिकै मृत्युसँग जोडिन्थ्यो,’ उनले भने, ‘अहिले त्यो अवस्था छैन । उपचार भएर निको हुन्छ । सबैको सहयोगले क्यान्सरबाट बच्न सकिन्छ । सहभागीहरुले क्यान्सर सचेतना अहिलेको सबैभन्दा प्रमुख आवश्यकता भएकोमा जोड दिएका थिए ।