काठमाडौं—नेकपा माओवादी केन्द्रका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आन्दोलनरत नर्सहरुका माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत उनले नर्सहरुको सम्मान, सुरक्षा र पेशागत सुनिश्चितता नभई स्वास्थ्य प्रणाली बलियो बन्न नसक्ने समेत बताएका छन् ।
‘नर्सहरूको सम्मान, सुरक्षाको ग्यारेन्टी र पेशागत अधिकार सुनिश्चितता नभई नेपालको जनस्वास्थ्य सेवा प्रणाली बलियो बन्न सक्दैन्,’ उनले भनेका छन्, ‘त्यसैले हाम्रो पार्टी नर्सहरूका मागहरू तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्दछ।’ देशभरका निजी अस्पतालहरुमा कार्यरत नर्सहरु सरकारीसरह पारिश्रमिक पाउनुपर्ने भन्दैं आन्दोलनमा रहेका बेला दाहाललको यस्तो बताएका हुन् ।
उनले अहिले देशभरका झन्डै डेढ लाख नर्सिङ सेवामा कार्यरत् कर्मचारीहरू तोकिएको तलबमानभन्दा कम पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यता रहेको उल्लेख गरेका छन् ।
‘यतिखेर देशभरका झन्डै डेढ लाख नर्सिङ सेवामा कार्यरत् कर्मचारीहरू तोकिएको तलबमानभन्दा कम पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यता, असमान व्यवहार, स्टाफको कमीले निम्त्याएको दबाब, अस्थायी रोजगारी, सामाजिक सुरक्षाको अभाव, कार्यस्थलमा असुरक्षा र तीव्र विदेश पलायनजस्ता समस्याविरूद्ध विभिन्न चरणमा आन्दोलनरत् छन्,’ उनले भनेका छन् ।