काठमाडौं—नेपाल चिकित्सक संघ (एनएमए)को निर्वाचन माघमा हुने भएको छ । २० असोजमै निर्वाचन समितिले संघको आगामी नेतृत्वका लागि निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।
निर्वाचन समितिकाअनुसार १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ७ उपाध्यक्ष (प्रत्येक प्रदेशबाट एक जना), १ महासचिव, १ कोषाध्यक्ष, १ सहसचिव, सह कोषाध्यक्ष १ जना र ७ जना सदस्यका लागि निर्वाचन हुनेछ । यसैगरी, नेपाल चिकित्सक संघ परिषद्को ६० जनाका लागि पनि निर्वाचन हुनेछ ।
निर्वाचन कार्यक्रम भने मंसिरबाट सुरु हुने निर्वाचन समितिले जनाएको छ । २५ मंसिरमा प्रथम नामावली प्रकाशन भएबाट निर्वाचनका कार्यक्रमहरु आरम्भ हुनेछन् ।
निर्वाचन समितिमा प्रमुख निर्वाचन अधिकृत डा. प्रणयरत्न शाक्य, निर्वाचन अधिकृतहरुमा डा. विवेक राजभण्डारी, डा. अतीत पौडेल र अधिवक्ता बाबुराम अर्याल रहेका छन् ।
जेन—जी आन्दोलनपछि हुने नेपाल चिकित्सक संघको निर्वाचनलाई महत्वका साथ हेरिएको छ । नेपाल चिकित्सक संघ नेपालकै सबैभन्दा पुरानो पेशागत संगठन हो ।