काठमाडौं—गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि मापदण्ड कडा भएपछि दोस्रो पटक समय थप गर्दा पनि आवेदन परेको छैन । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयका उपसचिव सुरेशकुमार जोशीकाअनुसार क्राइटेरिया कडा भएपछि दोस्रो पटक म्याद थप गर्दा पनि उकपुलपतिमा आवेदन नपरेको हो ।
‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि मापदण्ड नै कडा छ,’ उनले भने, ‘पिएचडी गरेको, डाक्टर नै हुनुपर्ने, १० वर्ष प्राध्यापकका रुपमा काम गरेको हुनुपर्ने र ६१ वर्षसम्मको हुनुपर्ने मापदण्ड कडा भएकाले आवेदन नपरेको हो ।’
शिक्षा मन्त्रालयले १६ कात्तिकमा पहिलोपटक ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोट तथा सिफारिस सम्बन्धी कार्यविधी, २०८२’ अनुसार योग्यता पुगेका नागरिकबाट उपकुलपति तथा रजिष्ट्रारका लागि आवेदन माग गरेको थियो । मन्त्रालयले १५ दिनको समय राखेर आवेदन माग गरेकोमा समयावधिभित्र उकुलपति पदमा आवेदन परेन भने रजिष्ट्रारका लागि १० जनाले आवेदन दिएका छन् ।
उपकुलपतिमा आवेदन नपरेपछि मन्त्रालयले ५ मंसिरसम्मका लागि उपकुलपति पदमा आवेदन दिने समय थप ग¥यो । तर, दोस्रो पटक म्याद थप गरेर आवेदन माग गर्दा समेत आवेदन नपरेपछि शिक्षा मन्त्रालयका अधिकारीहरु अब कार्यविधी संशोधन गर्ने कि के गर्ने भन्ने अन्योलमा परेका छन् ।
‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोट तथा सिफारिस सम्बन्धी कार्यविधी, २०८२’ मा विश्वविद्यालयको उपकुलपतिका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट चिकित्सा शिक्षा सम्बन्धित कुनै विद्या (हेल्थ प्रोफेसनल एजुकेशन)मा विद्यावारिधी, डिएम, एमसीएच वा सो सरहको उपाधि प्राप्त गरेको, कुनै विश्वविद्यालयमा प्राध्यापक पदमा रही कम्तिमा १० वर्ष काम गरेको, शैक्षिक वा प्राज्ञिक उन्नयनको क्षेत्रमा उत्कृष्ट व्यवस्थापकीय कुशलता, नेतृत्व क्षमता, सिप र कौशल प्रदर्शन गरेको हुनुपर्ने मापदण्ड छ ।
यसैगरी, प्राज्ञिक तथा अनुसन्धानमूलक परियोजना सफलतापूर्वक सम्पन्न गरेको, राष्ट्रिय वा अन्तर्राष्ट्रियस्तरको जर्नलमा अनुसन्धानमूलक लेख वा सन्दर्भ सामाग्री प्रकाशन गरेको हुनुपर्ने उल्लेख छ । मन्त्रालय स्रोतकाअनुसार यति धेरै उपलब्धि हासिल गरेको प्राज्ञिक व्यक्तिको उमेर ३५ वर्ष पूरा भई ६१ वर्ष ननाघेको हुनुपर्नेलगायतका कडा मापदण्डहरु भएकाले उपकुलपतिमा आवेदन नपरेको हो ।
