वीरेन्द्रनगर—सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा जोड्ने भएको छ । स्वयंसेविकाले कोषमा जोड्न माग गर्दै आएकाले नगरपालिकाले यसै आर्थिक वर्षभित्र उनीहरूलाई कोषमा जोड्ने गृहकार्य भइरहेको जनाएको छ ।
२२ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई कार्यवाहक नगरप्रमुख नीलकण्ठ खनालले यसै वर्षदेखि स्वयंसेविकालाई सामाजिक सुरक्षा कोषमा जोड्ने तयारी भइरहेको बताए ।
‘यसका साथै नगरपालिकामा कार्यरत अस्थायी तथा करारका कर्मचारीलाई पनि कोषमा जोडिने छ,’ उनले भने , ‘स्वास्थ्य अवस्थामा सुधार ल्याउनका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको ठूलो योगदानको छ ।’
स्वयंसेविकालाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्ने, बिदाइ हुने बेला एकमुष््ठ नगद एक लाख रुपैयाँ प्रदान गर्नुपर्ने, कामको मूल्याङ्कन गर्नुपर्ने स्वास्थ्य स्वयंसेविका भीमा रोकाय रिजालले माग गरिन् ।
वीरेन्द्रनगर नगरपालिकाका १६ वटा वडामा २० वटा आधारभूत स्वास्थ्य केन्द्र छन् । जसमा नगरभित्र एक सय ७८ जना स्वयंसेविका रहेको नगरपालिकाका नगर स्वास्थ्य शाखा संयोजक भूपेन्द्रदेव गिरीले बताए ।