काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अतिरिक्त सचिवका बढुवाका लागि १४ जनाको आवेदन परेको छ । मन्त्रालय रिक्त एक जना अतिरिक्त सचिव बढुवाका लागि आवेदन माग गरेपछि १४ जनाले आवेदन दिएको मन्त्रालय स्रोतले जनाएको छ ।
जसमा डडेल्धुरा अस्पतालकी प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सुधा देवकोटा, मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेल, प्रा. दुर्गालक्ष्मी श्रेष्ठ, डा. किरणमणि पौडेल, डा. चुमनलाल दास र डा. रुना झा रहेका छन् ।
यसैगरी, डा. विनोदविन्दु शर्मा, नारायणप्रसाद ढकाल, डा. राजन पाण्डे, डा. चन्द्रभाल झा, डा. यदुचन्द्र घिमिरे, डा. प्रमोद यादव, डा. अभय पोखरेल र डा. विष्णु प्रसाद शर्मा पनि अतिरिक्त सचिवमा बढुवाका लागि आवेदन दिएका छन् ।
अतिरिक्त सचिव डा. टंक बाराकोटीले पारिवारिक कारण देखाउँदैं गत कात्तिकमा पदबाट राजीनामा दिएका थिए । उनको राजीनामासँगै मन्त्रालयमा अतिरिक्त सचिवको पद रिक्त भएको थियो । रिक्त पदमा पदपूर्तिका लागि मन्त्रालयले आन्तरिक बढुवाको सूचना निकालेको हो ।