काठमाडौं—दुई जना प्रतिष्ठित चिकित्सक साथी मिलेर स्थापना गरेको ग्वार्कोस्थित ३०० शय्याको बी एण्ड बी हस्पिटल प्राइभेट लिमिटेडले एक वर्षमा साढे दुई अर्ब बढीको कारोबार गरेको छ । अस्पतालको फाइनान्सियल तथ्यांकअनुसार अस्पतालले सन् २०२५ मा २ अर्ब ५७ करोड रुपैयाँ (अपरिष्कृत) कारोबार गरेको हो ।
पछिल्ला ६ वर्षमा अस्पतालले निरन्तर आर्थिक उन्नति हासिल गर्दै गइरहेको छ । सन् २०२४ मा बीएण्डबीले १ अर्ब ९५ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो ।
अस्पतालले सन् २०२० मा ८५ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २०२१ मा उसको कारोबार ९४ करोड ८० लाख रुपैयाँमाथि पुग्यो । यस्तै, बी एण्ड बी अस्पतालले सन् २०२२ मा १ अर्ब ३२ करोड रुपैयाँ बढीको कारोबार ग¥यो । सन् २०२३ मा १ अर्ब ४२ करोड रुपैयाँ बढीको कारोबार गरेको थियो।
सन् १९९४ मा दुई जना वरिष्ठ चिकित्सकहरु प्रा.डा. अशोककुमार बाँस्कोटा र प्रा.डा. जगदीशलाल वैद्यले अस्पतालको स्थापना गरेका हुन् । अस्पतालले मेडिकल, सर्जिकल र डाइग्नोष्टिक सेवा विस्तार गर्दै लगेको छ ।
सुरुमा अर्थोपेडिक्सका लागि कहलिएको बी एण्ड बी अस्पतालले अहिले अर्थोपेडिक्स, युरोलोजी र जनरल सर्जरी मुख्य फोकस गरेको छ । यसबाहेक कार्डियोलोजी, न्यूरोलोजी, अकंलोजीलगायतका सेवा दिदैं आएको छ ।
अस्पतालको स्वामित्व प्रा.डा. बाँस्कोटा, प्रा.डा. वैद्य र उनका परिवारका सदस्यहरुको नाममा रहेको छ । अहिले प्रा.डा. बाँस्कोटा अस्पतालमा मेडिकल निर्देशकका रुपमा सक्रिय छन् भने वैद्य कम्पनीको प्रबन्ध निर्देशक छन् ।