काठमाडौं— त्रिवि शिक्षण अस्पताल स्वास्थ्य बीमा कार्यक्रममार्फत उपचार बापतको दावीमा ठूलो रकम अस्वीकृत हुन थालेपछि बीमा कार्यक्रम नै बन्द गर्ने मनस्थितीमा पुगेको छ । अस्पतालले बीमामा माग दाबी गरेको रकममध्ये मासिक डेढदेखि दुई करोड रुपैयाँको दाबी अस्वीकृत गर्न थालेपछि स्वास्थ्य बीमा कार्यक्रम नै बन्द गर्ने चरणमा पुगेको हो ।
‘मासिक ४—५ करोडको इन्स्युरेन्स क्लेम हुने भएकोमा हरेक महिना डेढदेखि २ करोड दाबी अस्वीकृत गरिएको जानकारी गराउँदछौं । पटक—पटक त्रिवि शिक्षण अस्पतालको रकमलाई नै अन्तिम रकम मानिदिनु भनी विगत दुई वर्षदेखि आग्रह गर्दै आएका छौं,’ त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. सुवास आचार्यले १६ पुसमा स्वास्थ्य बीमा बोर्डलाई लेखेको पत्रमा छ, ‘यस त्रि.वि. शिक्षण अस्पताल सरकारी संस्था भएर पनि मासिक १२—१४ करोड स्वयंमले नै तलब भत्ता भुक्तानी गर्नुपर्ने यस संस्थामा मासिक डेढदेखि दुई करोड स्वास्थ्य बीमा उपचारबाट घाटा व्यहोर्नुपरेकाले सो घाटा सधैंका लागि व्यवहोर्न नसकिने जानकारी गराउँदछौं ।’
अस्पतालले बाँकी रकम भुक्तानी नपाएमा र अस्पतालको दररेटअनुसार सम्झौता नभएमा १ माघदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न असमर्थ रहेको जनाएको छ । ‘प्रोफेसरले डाइग्नोसिसका लागि बिरामीलाई सिटी, एमआरईलगायतका जाँच प्रेस्क्राइब गर्ने हो,’ त्रिवि शिक्षण अस्पताल स्रोतले भन्यो, ‘तर, स्वास्थ्य बीमा बोर्डले प्रोफेसरले गरेको सिफारिसलाई समेत रिजेक्ट गर्छ । यसले स्वास्थ्य बीमा कार्यक्रममा त्रिवि शिक्षण अस्पताललाई ठूलो घाटा छ । यो कार्यक्रम बन्द गर्नुपर्ने अवस्था सिर्जना हुनुको मुख्य कारण यही हो ।’ यस विषयमा त्रिवि अस्पताल व्यवस्थापनले दुई वर्षदेखि मन्त्रालय र स्वास्थ्य बीमा बोर्ड नेतृत्वलाई जानकारी गराउँदैं आएपनि सुनुवाई भएको छैन ।
त्यसबाहेक सरकारी अस्पतालको दररेट स्वीकृत नहुँदा र स्वास्थ्य बीमा कार्यक्रम वापत उपचार गराएका बिरामीको भुक्तानी दिन बाँकी ३८ करोड ९५ लाख ९७ हजार ९०१ रुपैयाँ भुक्तानी अहिलेसम्म हुन नसक्दा पनि त्रिवि शिक्षणलाई आर्थिक समस्या सिर्जना भएको छ ।
अस्पतालले २०७७ देखि २०८० असार मसान्तसम्म ४२ करोड ७६ लाख ७६ हजार ४८७ रुपैयाँ दाबी गरेकामा ५ करोड ९ लाख ८९ हजार ५७७ रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको जनाएको छ । यसैगरी, २०८०/०८१ म ३९ करोड ९६ लाख ६३ हजार ६९६ रुपैयाँ भुक्तानी दावी गरिएकामा १० करोड १७ लाख, २१ हजार १८१ रुपैयाँ, २०८१/०८२ मा ३८ करोड ९१ हजार ४३४ रुपैयाँ भुक्तानी माग गरिएकामा ८ करोड ८४ लाख ७९ हजार १८८ रुपैयाँ र २०८२/०८३ साउनदेखि मंसिरसम्म २१ करोड ६८ लाख ७९ हजार ५७० दावी रकममध्ये १४ करोड ८४ लाख ७ हजार ९५५ रुपैयाँ भुक्तानी हुन बाँकी रहेको पत्रमा छ ।
अस्पतालले स्वास्थ्य बीमा बापत उपचार गरेको बिरामीहरुको ठूलो रकम भुक्तानी नहुँदा अस्पतालको आन्तरिक स्रोतबाट मात्र खर्च रकम ब्यवहोर्न कठिनाई भएको समेत जनाएको छ । यसले अस्पतालको दैनिक आर्थिक कारोबार औषधी, स्वास्थ्य उपचारका सामाग्री सप्लाई गर्नेलाई पनि पाँच महिनाको भुक्तानी दिन नसकिएको डा. आचार्यले लेखेको पत्रमा उल्लेख गरेका छन् ।
उनले स्वास्थ्य बीमा कार्यक्रममार्फत उपचार वापतको रकम भुक्तानीका लागि विगतमा पटक—पटक सबै दावी रकम भुक्तानीका लागि पत्राचार गर्दासमेत प्राप्त नभएको, बिरामी संख्या बढ्दैं दैनिक २० देखि २५ लाख रुपैयाँसम्म खर्च हुने गरेको, स्वास्थ्य बीमा बोर्ड र स्वास्थ्य मन्त्रालयलाई विगत एक वर्षदेखि जानकारी गराउँदासमेत कुनै हल नआएको उल्लेख गरेका छन् ।
स्वास्थ्य बिमा बोर्डलाई ‘स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न असमर्थ’ रहेको बताउँदैं लेखिएको उक्त पत्र अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालयका साथै दुवै मन्त्रालयका सचिवहरुलाई समेत बोधार्थ दिइएको छ । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. आचार्यले भने भुक्तानीका विषयमा भने आफूहरुलाई थाहा नभएको बताए ।
यस विषयमा स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्ललाई पटक—पटक सम्पर्क गर्दा उनले फोन उठाएनन् ।