काठमाडौं—त्रिवि शिक्षण अस्पतालमा २२ औं सफल कलेजो प्रत्यारोपण भएको छ । शनिबार कलेजो प्रत्यारोपण गरिएका भक्तपुरका ५४ वर्षीय पुरुष डिस्चार्ज भएका छन् ।
दुई हप्ताअघि अस्पतालका ग्यास्ट्रो तथा कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारीको टिमले भक्तपुरका ५४ वर्षीय ती पुरुषमा कलेजो प्रत्यारोपण गरेको थियो । उनलाई उनका २२ वर्षीय छोराले कलेजो दिएका थिए ।
‘हामीले त्रिवि शिक्षण अस्पतालमा २२ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गर्यौं । दुई हप्तापछि हामीले प्रत्यारोपण गरिएका बिरामीलाई आज डिस्चार्ज गर्यौं,’ प्रा.डा. भण्डारीले हेल्थआवाजसँग भने । एक हप्ताअघि कलेजो दान गरेका उनका छोरालाई डिस्चार्ज गरिएको उनले जानकारी दिए । डा. भण्डारीले शल्यक्रिया पश्चातको समय निकै चुनौतीपूर्ण र उतार–चढावपूर्ण रहेपनि सबै कुरा सफलतापूर्वक सम्पन्न भएको बताए।
नेपालमा कलेजो प्रत्यारोपण कार्यक्रम सुरु भएको १० वर्ष पूरा भइसकेको छ। ‘अहिलेको अवस्थामा त्रिवि शिक्षण अस्पतालमामा रहेको हाम्रो टोली देशमै स्वतन्त्र रूपमा जीवित दाता कलेजो प्रत्यारोपण कार्यक्रम सञ्चालन गरिरहेको एकमात्र टोली भएकोमा हामी गर्व गर्छौँ,’ फेसबुकमा डा. भण्डारीले भनेका छन्, ‘यस्तो उत्कृष्ट टोलीको नेतृत्व गर्न पाउँदा म विनम्र र सम्मानित महसुस गरिरहेको छु।’
यो त्रिवि शिक्षण अस्पतालको टिमले पूर्ण रुपमा आत्मनिर्भर भएर गरेको १३ औं कलेजो प्रत्यारोपण हो । त्रिवि शिक्षण अस्पतालले पहिलो पटक १२ जनवरी २०२४ मा नेपालमै पहिलो पटक आत्मनिर्भर भएर कलेजो प्रत्यारोपण गरेको थियो । डा. भण्डारीले आफ्नो टिम त्रिवि शिक्षण अस्पतालमा दिगो कलेजो प्रत्यारोपण कार्यक्रमको लक्ष्यतर्फ अगाडि बढिरहेको बताए ।