काठमाडौं—नेपाली फर्मा कम्पनी देउराली जनता फर्मास्युटिकल्स प्रा.लि. ले ४ अर्ब ५० करोड रुपैयाँ लगानी थप गर्ने भएको छ । कम्पनीले उत्पादन विविधीकरण गर्ने, क्षमता वृद्धि गर्ने र अन्तर्राष्ट्रिय मापदण्डको नयाँ कारखाना बनाउन ४ अर्ब ५० करोड रुपैयाँ लगानी थप्न लागेको हो ।
चितवनको भरपुरमा निर्माण गर्न लागिएको नयाँ कारखाना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ‘कम्पनीले आफ्नो उत्पादनलाई विविधीकरण गर्दै उत्पादन क्षमता वृद्धि गर्ने र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको अत्याधुनिक नयाँ कारखाना चितवनको भरतपुरमा निर्माण गर्ने निर्णय गरेको छ,’ कम्पनीले भनेको छ, ‘यो प्रस्तावित नयाँ कारखानामा यस कम्पनीले थप ४७५ करोड रुपैयाँ लगानी गरी यो आयोजना दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखेको छ।’
कम्पनीले नयाँ परियोजना बनेपश्चात थप ५५० जनाले प्रत्यक्ष रोजगारी पाउने जनाएको छ । हाल देउराली जनता फर्मास्युटिकल्समा ६७५ जना कर्मचारीले काम गरिरहेका छन् ।
उत्पादन विविधीकरण र क्षमता वृद्धिमा ठूलो लगानी थप्न लागेको देउराली जनता फर्मास्युटिकल्स प्रा.लि. ३५ वर्षअघि स्थापना भएको हो । कम्पनीले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै अत्यावश्यक जीवन रक्षक औषधीहरू र विभिन्न दीर्घ रोगहरूको उपचारमा आवश्यक पर्नेलगायतका २९६ प्रकारका औषधिहरू उत्पादन गरिरहेको छ ।
‘कम्पनीले नेपालमा नयाँ र अत्यावश्यक औषधी उत्पादन विस्तार गर्ने आफ्नो उद्देश्यलाई इमानदारीपूर्वक कार्यान्वयन गर्दै देशमा औषधी आयातमा रहेको परनिर्भरतालाई कम गर्दै औषधी उत्पादनको क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउनका लागि सयौं औषधिहरू नेपालमा पहिलो पटक विकास र उत्पादन गरी सफल इतिहास कोर्ने सौभाग्य प्राप्त गरेको छ,’ देउराली जनताले ३५ औं वार्षिकोत्सवमा जारी वक्तव्यमा भनेको छ ।