काठमाडौं—चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको डर्माटोलोजी विभागकी प्रमुख र पूर्व प्रमुखले राजीनामा दिएका छन् । अस्पतालकी कन्सल्ट्यान्ट १० औं तह प्रा.डा. अनुपमा कार्की र १० औं तहकै डा. लैला लामाले एकै दिन राजीनामा दिएका हुन् ।
दुवै जनाले १५ माघबाट लागु हुने गरी राजीनामा दिएका हुन् । राजीनामा अघि डा. अनुपमा न्याम्सको कार्यकारी परिषद् सदस्य थिइन् भने डा. लैला डर्माटोलोजी विभागकी प्रमुख थिइन् ।
२५ वर्षअघि इन्टर्नका रुपमा वीर अस्पतालमा सेवा सुरु गरेकी डा. अनुपमा लामो समय त्यहाँ बिताइन् । न्याम्सबाटै डर्माटोलोजीमा एमडी गरेकी उनले त्यही डर्माटोलोली विभागको प्रमुख हुने अवसर पाइन् ।
डा. अनुपमाले डर्माटोलोजी एमडी कार्यक्रमको संयोजक, वीर अस्पतालमा डेपुटी निर्देशकका रुपमा पनि काम गरिन् । राजीनामा अघि उनी न्याम्सको प्राध्यापक रहनुका साथै न्याम्सको कार्यकारी परिषद् सदस्य समेत थिइन् ।
‘२३ वर्ष लामो सरकारी सेवाबाट राजीनामा दिए,’ उनले भनिन्, ‘धेरै काम गरे, अब परिवार र आफूलाई पनि टाइम दिनुपर्छ भनेर राजीनामा दिएकी हुन् ।’
यस्तै, डा. लैला २२ वर्षदेखि वीर अस्पतालमा सेवारत थिइन् । अत्तरखेलस्थित नेपाल मेडिकल कलेजबाट एमबीबीएस गरेकी उनले न्याम्सबाटै एमडी गरेकी हुन् ।
डा. लैला वीर अस्पतालमा रहँदा बिरामी सेवा, अध्यापनका साथै विभिन्न समितिमा रहेर काम गरिन् ।
उनी राजीनामा दिनुअघि न्याम्सकी एशोसियट प्रोफेसर समेत थिइन् । ‘केही समय घरमै छु,’ नयाँ अस्पताल खोल्न लाग्नुभएको हो भन्ने हेल्थआवाजको प्रश्नमा डा. लैलाले भनिन्, ‘अब भविष्यमा केही त गर्नुपर्ला हेरौं ।’