२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा.भक्तबहादुर सिंहको सल्लाह : कान पाकेमा के गर्ने?

डा.भक्तबहादुर सिंहको सल्लाह : कान पाकेमा के गर्ने?


शरीरका विभिन्न अंगहरुको तुलनामा संवेदनशील अंग मानिने ५ ज्ञानेन्द्रीयमध्ये कान पनि एक हो । बाहिरी आवाजहरु सुन्नको निम्ति कान जति उपयोगी रहेको छ, त्यत्ति नै संवेदनशील पनि । त्यसैले हामीले कानको उचित हेरचाह गर्नुपर्छ । अन्यथा उचित हेरचाहको अभावमा यसको शक्तिमा कमी आउँदै जान्छ ।

र, कालान्तारमा गएर व्यक्तिले कान नै सुन्न सक्ने सम्भावना पनि प्रबल रहन्छ । म उपचारको क्रममा रहँदा अधिकांश व्यक्तिहरु कान पाक्ने समस्या लिएर पनि उपचारको निम्ति आउने गरेका छन् । आखिर कान किन पाक्छ त?

कान पाक्नाका कारणहरु

कान पाक्नु पछाडि धेरै कारणहरु रहेका छन् । त्यसमध्ये धेरैजसो कारण कान सम्बन्धिका विभिन्न रोगहरु लाग्नाले कान पाक्ने समसया देखा परेको पाइन्छ । अर्थात्, कान पाक्नु पछाडिको मुख्य कारण भनेको कानको रोग नै हो । कान पाक्नु पछाडिको विभिन्न कारणहरु मध्ये केहि कारणहरु निम्न रहेका छन् ।

  • कानको संक्रमण
  • फोहोर तथा सरसफाइको कमी
  • कानमा तरल पदार्थ पस्नाले÷हाल्नाले
  • धेरै रुघा लाग्नाले
  • बेस्सरी सिंगान पुछ्नाले
  • कान कोट्याउनाले
  • कानमा धेरै हावा पस्नाले वा फू गर्नाले
  • कानको जालीमा प्वाँल पर्नाले ।

उल्लेखित कारणहरुले कानको भित्री भागमा हानी हुँदा केहि भागमा सूजन देखा परेको खण्डमा कान पाक्ने समस्या देखा पर्दछ । यसरी कानको भित्री भागहरुमा पर्न गएको हानी तथा नोक्सानीका कारण व्यक्तिमा कान सम्बन्धि मात्र नभै अन्य शरीरका समस्याहरु पनि देखा पर्दछ । जस्तोः कान पाकेको व्यक्तिहरुमा निम्न समस्याहरु देखिन सक्ने सम्भावना रहन्छः

  • कानबाट रगत मिश्रित पीप बग्ने
  • कानको दुखाइ
  • ज्वरो आउने
  • रिंगटा लाग्ने
  • वाकवाकी लाग्ने
  • र, सुन्न सक्ने क्षमतामा ह्रास आउनु ।

रोकथाम तथा बच्ने उपाय

कानको पाक्नु भनेको कानको भित्री भागमा चोट पुग्नु हो । हाम्रा विभिन्न क्रियाकलापको माध्यमले नै कानको भित्री भागमा चोटपटक लाग्ने वा हानी पुग्न गई कान पाक्ने समस्या देखा पर्छ । कान पाक्ने समस्यासँगै व्यक्तिको श्रवणशक्तिमा पनि कमी आउने हुन्छ । व्यक्तिमा देखा परेको यस्तो समस्यालाई हल्का रुपमा लिई बेवास्ता गरिएको खण्डमा ब्यक्तिले सदाको निम्ति नै आफ्नो श्रवण शक्ति गुमाउन पुग्छ ।

तसर्थ हामीले बेलैमा यस्तो अवस्था सिर्जना नहोस् भन्नको निमित्त कानको उचित हेरचाह गर्नुपर्छ । यसका निम्ति सर्वप्रथम हामीले कान पाक्नाका कारणहरु के–के हुन् भन्ने कुराको पत्ता लगाई कान पाक्नमा मद्दत गर्ने कुनै पनि क्रियाकलापहरु गर्नु हुँदैन ।

कुनै पनि व्यक्तिले आफ्नो कानमा तेल, दुध तथा पानीजस्ता तरल पदार्थहरु हाल्नु हुँदैन नै । यसबाहेक चिकित्सकको परामर्श बिना कुनै पनि किसिमको औषधि कानको निम्ति प्रयोग गर्नु हुँदैन । यसका साथै, हामीले कान विस्तारै सफा गर्नुपर्छ । कानको भित्री भाग अत्यन्तै संवेदनशील हुने भएकोले यसमा सजिलै चोटपटक लाग्न सक्ने सम्भावना प्रबल रहन्छ । तसर्थ हामीले कानको सरसफाई गर्दा सर्तक पनि रहनु पर्छ ।

कानको जाली पातलो रहने भएकोले कान कोट्याउँदा वा कानमा बेजोडले हावा पस्दा पनि यसमा चोटपटक लाग्न सक्छ । तसर्थ हामीले बेस्सरी हावा लाग्ने ठाउँमा आफ्नो कान बन्द गरी राख्नुपर्छ । कानमा फुक्नु पनि हुँदैन । साथै कान र नाकको नशा तथा स्नायु एक आपसमा जोडिएर रहने भएकोले नाकमा देखा परेको विभिन्न समस्याका बाबजुद पनि कान पाक्ने समस्या देखा पर्न सक्छ । त्यसैले हामीले यसो नहोस् भन्नको निमित्त सकभर रुघा लाग्नबाट जोगिनु उचित रहन्छ । र, सिंगान पुछ्दा पनि कानमा दखल पर्ने गरी बेस्सरी पुछ्नु हुँदैन ।

तर, यसरी कानको उचित रुपमा हेरचाह गर्दागर्दे पनि कान पाकेको अवस्थामा भने तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ । कान पाकेको व्यक्तिले आफ्नो कानको सरसफाई पनि नजिकको मेडिकल तथा अस्पतालमा गएर गराउँदा उचित हुन्छ ।
प्रस्तुतीः सृजना मगर ।


क्याटेगोरी : जनस्वास्थ्य, टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ