२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलएम्सको छात्रवृत्तिको पढाइ बीचमै छाडेर फर्किएका डा. भुपेन्द्र पिजीका इन्ट्रान्स टपर

एम्सको छात्रवृत्तिको पढाइ बीचमै छाडेर फर्किएका डा. भुपेन्द्र पिजीका इन्ट्रान्स टपर


चिकित्सा शिक्षाको पोष्ट ग्राजुयसन (पिजी)अन्तर्गत एमडी/एमएस/एनबीएमएसको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएको छ । सोमबार चिकित्सा शिक्षा आयोगले पिजीको एमडी/एमएस/एनबीएमएसतर्फको प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको हो । जसमा पर्वतका २९ वर्षीय डा. भुपेन्द्र अधिकारीले टप गरेका छन् ।

२ हजार ४ सय ६८ जना उत्तीर्ण विद्यार्थीमध्ये पहिलो नम्बरमा नाम निकालेका डा. भुपेन्द्र भारतको प्रतिष्ठित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)मा इन्टरनल मेडिसिनको पढाइ बीचमै छाडेर गत साउन मात्रै नेपाल फर्किएका हुन् । उनले आयोगको एकीकृत प्रवेश परीक्षामा २०० पूर्णांकमा सबैभन्दा बढी १६०.७५ स्कोर ल्याएर टप गरेका हुन् । एसएलसीमा धौलागिरी अञ्चल टप गरेका डा. भुपेन्द्रले छात्रवृत्तिमै एमबीबीएस पढेका हुन् । उनले प्लसको पढाइ पनि पूर्ण छात्रवृत्तिमै पूरा गरेका थिए ।

वि.सं. २०५० सालमा पर्वतको मोदी गाउँपालिकाको सामान्य परिवारमा जन्मिएका उनका बुवा इन्द्रबहादुर अधिकारी रिटायर्ड लाहुरे हुन् । इन्द्रबहादुर चन्द्रकुमारीका तीन सन्तानमध्ये उनी जेठा हुन् । उनको प्रारम्भिक शिक्षादीक्षा गाउँकै स्थानीय बोर्डिङ स्कुलबाट भएको हो । उनी कक्षा ४ सम्म स्थानीय सिर्जना इंग्लिस बोर्डिङ स्कुलमा पढेपछि थप शिक्षाका लागि सदरमुकाम कुश्मास्थित नमुना उच्च माध्यमिक विद्यालयमा आए । स्कुल जीवनमा उनलाई गणितसँगसँगै सामाजिक विषयमा मन पथ्र्यो । त्यसबाहेक उनी खेलकूदलगायतका अतिरिक्त क्रियाकलापमा पनि सक्रिय रहन्थे । भलिबलमा खुब खेलिन्थ्यो,’ उनले स्कुल जीवनबारे सुनाए, ‘त्यो सँगै साहित्यमा पनि रुचि थियो ।’

नमुना उच्च माध्यमिक विद्यालयबाट वि.सं २०६५ सालको एसएलसीमा उनले ९०.६३ प्रतिशत अंकसहित धौलागिरी अञ्चल टप गरे । ‘सानैदेखि पढाइमै रुचि थियो । पढाइ राम्रै थियो,’ उनले सुनाए, ‘मुख्यतः आमाबुबाको साथ हो । मेरो गाउँघरमा खासै एकेडेमिक माहोल थिएन । बुबाआमाले पढ्नुपर्छ भन्दै चाहेको ठाउँमा पढ्ने व्यवस्था पनि मिलाउँदै जानुभयो । राम्रो विद्यालय र राम्रा शिक्षकहरुको संगतमा पढ्न पाएँ । त्यही कारण मेरो पढाइ पनि अब्बल भयो ।’

एसएलसी उत्तीर्ण गरेपछि उनी थप उच्च शिक्षाका लागि काठमाडौं आए । काठमाडौंको बत्तीसपुतलीस्थित गोल्डेन गेट कलेजमा विज्ञान विषय लिएर छात्रवृत्तिमा प्लस टु अध्ययन गर्न थाले । वि.सं. २०६८ मा डा. भुपेन्द्रले प्लस टु उत्तीर्ण गरे । प्लस टुमा बायोलोजी लिएर पढेपछि उनी सिए पढ्ने कि एमबीबीएस भन्नेमा दोधारमै थिए ।

‘त्यो बेला सिए पढ्ने कि डाक्टर पढ्ने दोधारमा थिएँ,’ डा. भुपेन्द्र भन्छन्, ‘साउनमा प्लस टुको रिजल्ट आएको थियो । तर, दोधारमै भएकाले केही समय त्यतिकै बित्यो ।’ तर, अन्तिममा उनको डाक्टरी पढ्ने विचारको नै जित भयो । उनले शिक्षा मन्त्रालयको छात्रवृत्तिमा एमबीबीएस पढ्नका लागि नाम निकाले ।

त्यसपछि उनको डाक्टरी अध्ययन यात्रा प्रारम्भ भयो । काठमाडौं विश्वविद्यालय (केयु)अन्तर्गतको मणिपाल मेडिकल कलेजमा उनले सन् २०१२ अगष्टबाट एमबीबीएस अध्ययन सुरु गरे । सन् २०१७ को जुनमा उनले एमबीबीएस सके । ‘पढाइ, खेदकुद, ट्रेकिङ गर्दै साथीभाइहरुसँग एकदमै रमाइलोका साथ एमबीबीएस पढाइ सकियो,’ एमबीबीएस अध्ययन अनुभव बाँड्दैं डा. भुपेन्द्र भन्छन्, ‘प्रेसरजस्तो कहिल्यै पनि लागेन । किनकी पढ्ने भनेर सबैथोक छाडेर लागेको पनि होइन् । त्यस्तो मुस्किल महसुस भएन ।’ एमबीबीएस सकिएपछि उनले एक वर्ष मणिपालमै इन्टर्नसीप गरे ।

सन् २०१८ मा इन्टर्नसीप सकेपछि उनी सरकारसँगको छात्रवृत्ति करार सम्झौताअनुसार पूर्वी नेपालमा बिरामीको सेवामा खटाइए । तेह्रथुम सदरमुकाम म्याग्लुङस्थित जिल्ला अस्पतालमा दुई वर्ष काम गरे । त्यसपश्चात सन् २०२० मा उनले पिजीको इन्ट्रान्सका लागि तयारी गरें । ‘साथीहरु विदेश जाने सोचमा थिए । तर, म सकेसम्म यहीं केही गरौँ भन्नेमा थिए,’ डा. भुपेन्द्र सुनाउँछन्, ‘त्यही कारण युएसएमएलईको तयारी पनि गरिएन ।’

त्यही बीचमा उनले आईएनआई—सीईटी परीक्षा दिएँ । भारतका एम्स, चण्डीगढलगायतका मेडिकल संस्थानहरुमा विशेषज्ञता अध्ययनका लागि लिइने यो परीक्षामा उनले इन्टरनल मेडिसिनमा एम्समा अध्ययन गर्नका लागि छात्रवृत्ति पाए । डा. भुपेन्द्र भारत गएर एम्समा इन्टरनल मेडिसिनमा एमडीको अध्ययन सुरु गरे । पाँच महिना इन्टरनल मेडिसिनको अध्ययन गर्दागर्दै उनलाई त्यहाँ रहेर अध्ययन अगाडि बढाउन नसकिने बाध्यता आइलाग्यो । त्यही कारण उनी नेपाल फर्किनुपर्ने बाध्यतामा परे । गत साउनमा उनी एम्समा एमडीको पढाइ बीचमै स्थगन गरेर नेपाल फर्किए ।

नेपाल फर्केपछि उनले चिकित्सा शिक्षा आयोगले लिने पिजीको एकीकृत प्रवेश परीक्षाका लागि तयारी थाले । डा. भुपेन्द्रकाअनुसार १९ वटा विषयको तयारी गर्नुपर्ने भएकोले यो आफैमा एकदमै विशाल छ । ‘साढे पाँच वर्षदेखि पढाएका विषयहरुलाई ६ महिनामा पढ्नुपर्छ र ती सबै कुरा सम्झन सहज पनि हुँदैन्,’ उनी आफनो पिजी इन्ट्रान्स तयारीबारे भन्छन्, ‘मानिसहरुले यसका लागि छोटो बाटो पनि खोजिरहेका हुन्छन् । त्यो भएर एकचोटी सबै विषयमा अनलाइनमा उपलब्ध सामग्रीहरुलाई छानेर दिनहुँ अभ्यास गर्नुपर्छ ।’ उनी हरेस नखान र मनमा यत्ति चाहिँ ल्याउँछु कन्फिडेन्टका साथ तयारी गरेमा सोचेको जस्तो नतिजा पाइने बताउँछन् ।

सटिक, वैज्ञानिक र कन्फिडेन्टयुक्त तयारीकै कारण उनले एमडी÷एमएसको एकीकृत परीक्षा परीक्षा टप गरे । ‘त्यही तयारीका कारण अहिलेको यो नतिजा आयो,’ यी युवा चिकित्सक भन्छन् । त्यसो भए टप गर्ने फर्मुला के हो ? ‘टप गर्छु भनेर तयारी त कमैले गर्छन् । सबैको आफ्नो प्राथमिकता हुन्छ । कसैलाई सरकारीमा पिजी गर्ने मन हुन्छ, कसैलाई निजीमा,’ डा. भुपेन्द्र भन्छन्, ‘तर पछिल्ला वर्षमा कस्ता नतिजा आएका थिए । कति सम्मकाले पाएका थिए भन्ने कुराहरुको प्लानिङ गरेर अघि बढ्यो भने चाहिँ आफूले खोजेको नतिजा हासिल गर्न सकिन्छ ।’ डा. भुपेन्द्रकाअनुसार पहिले घोक्नैपर्ने अवस्था थियो भने अहिले बुझेर पढ्दा बढी फाइदा उठाउन सकिन्छ । ‘बुझेर पढ्नेले नै बाजी मार्छ र बुझेर पढेको कुराको महत्व पनि छ,’ उनले भने ।

डा. भुपेन्द्र मेडिसिन र रेडियोलोजीमध्ये एक विषयमा विशेषज्ञता हासिल गर्न चाहन्छन् । ‘मन त मेडिसिनमा नि छ । तर, यसको अवधि लामो पनि छ, त्यसैले रेडियोलोजी तिर नै गइन्छ होला,’ उनले आफ्नो भावि पढाइबारे भने, ‘अहिलेसम्म के पढ्छु भन्नेमा दोधारमै छु । सम्भवतः रेडियोलोजीमा नै पिजी गर्छु होला ।’ नेपालका अधिकांश टपरहरुले रोज्ने शैक्षिक संस्थाहरुमा पर्ने चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) नै उनको रोजाइमा छ ।


क्याटेगोरी : प्रोफाइल
ट्याग : #इन्ट्रान्स टपर, #चिकित्सा शिक्षा आयोग, #डा. भुपेन्द्र, #डा. भुपेन्द्र अधिकारी, #पोष्ट ग्राजुयसन (पिजी)


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ