२०७९ असोज १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यसर्ने/नसर्ने रोगकुष्ठरोग के हो ? यसका लक्षण के हुन्, कसरी गर्न सकिन्छ उपचार ?

कुष्ठरोग के हो ? यसका लक्षण के हुन्, कसरी गर्न सकिन्छ उपचार ?



डा. रवीन्द्र बाँस्कोटा

कुष्ठरोग एक प्रकारको सानो आँखाले देख्न नसकिने माइक्रो ब्याकटोरिया लिप्रे नामको किटाणुबाट छाला तथा नशामा असर पार्ने एक किसिमको रोग हो । यसले मुख्यतयाः हाम्रो छाला तथा नशामा असर गर्छ । चाडैं उपचार गरिएन भने अरु अंगमा पनि असर पु¥याउन सक्छ । लामो समयसम्म उपचार भएन भने अंगभंग गराइ अपांगता समेत गराउन सक्छ ।

कुष्ठरोग एक उपचारात्मक समस्यामात्रै होइन्, यो सामाजिक समस्या पनि हो । यसले हाम्रो स्वास्थ्यमा मात्रै असर गर्दैन्, हाम्रो समुदाय, घरपरिवार र सामाजिक क्रियाकलापमा पनि असर पु¥याइरहेको हुन्छ । अहिले पनि कुष्ठरोग प्रभावित माथि विभेद् गर्ने चलन पूर्ण रुपमा निर्मुल भैसकेको छ । केही समयअघिसम्म कुष्ठरोग प्रभावितलाई सामाजमा बहिष्कार गर्ने, घरबाट निकालिदिने समेत गरिन्थ्यो । कति कुष्ठरोग प्रभावितहरु त ओढारमा बस्न समेत बाध्य भए ।

कुष्ठरोग प्रभावित निको भएरमात्रै पुग्दैन्, त्यसपछि उसलाई समाजमा कसरी ब्यवहार गरिन्छ । कुष्ठरोगभन्दा ठूलो रोग त त्यो हो । कुष्ठरोग त ६ महिना वा १ वर्षमा निको हुन्छ । तर, समाजले कुष्ठरोग प्रभावितलाई लगाउने ट्याग एकदमै निर्मम र पीडादायी छ । यो पनि अरु रोगजस्तै निको हुने सामान्य रोग हो भन्ने कुरा समाजलाई बुझाउन जरुरी छ । अझ यो अरुरोगभन्दा पनि सामान्य रोग हो । जस्तो सुगर र प्रेसर हुँदा जीवनभर औषधी खानुपर्छ, तर कुष्ठरोग लाग्दा ६ महिना वा १ वर्ष औषधी खाए पुग्छ । रोग फर्किने सम्भावना पनि एकदमै न्युन हुन्छ । निको भैसकेपछि सर्न पनि सर्दैन् । त्यसैले यो रोग बारे समाजमा पर्याप्त जनचेतनाको खाँचो छ ।

कुष्ठरोगको कारण के हो ?

कुष्ठरोग माइक्रो ब्याक्टोरियन लिप्रे नामको किटाणुका कारण हुने हो । यो किटाणु सर्ने खालको हो, यो एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सर्छ ।

लक्षणहरु

  •  कुष्ठरोग छाला र स्नायुमा लाग्ने रोग भएकाले यसको लक्षण पनि छाला र स्नायुमा देखिन्छ ।
  • छालामा छुँदाखेरि थाहा नहुने, चिमोठ्दाखेरि पनि नदुख्ने, फुस्रो र रातो किसिमको दागहरु देखा पर्छन् ।
  •  सुरुमा एक दुई वटा दाग देखिन्छन्, पछि त्यो अन्त फैलिन पनि सक्छ ।
  • सेन्स र स्पर्श शक्ति नभएका दागहरु छालामा देखा पर्छन् ।
  • स्नायुहरु सुनिने, दुख्ने त्यसको असरले हाम्रा हात खुट्टाहरु झमझम गर्ने हुन्छ ।
  • स्नायुले मसललाई रगत सप्लाई गरेको हुँदा स्नायु कमजोर हुँदा मसल पनि कमजोर हुन जान्छ ।
  • खुट्टाका मसलहरु कमजोर हुँदा चप्पल लगाएको खुस्किने, हातका मसल कमजोर हुँदा लेख्ने, खानेजस्ता कामहरु प्रभावकारी रुपमा गर्न नसकिनेजस्ता लक्षणहरु देखा पर्छन् ।
  • कानको लोती बाक्लो हुने, आँखी भौंहरु झरेर जाने, नाकको हड्डी कोल्याप्स हुने हुन्छ ।
  • ढिलोसम्म उपचार गरिएन भने अंगभंग हुने, हात र खुट्टाका औलाहरु झर्ने, स्नायु मरेका कारण शरीरका घाउहरु नदुख्ने हुन्छन् ।
  •  कहिलेकाही कुष्ठरोगका कारण रियाक्सन हुन्छ, त्यस कारण हात खुट्टाहरु सुनिने, झमझम गर्ने, दुख्ने, ज्वरो आएजस्तो हुने आँखा रातो हुने हुन्छ ।
  • अन्तिममा आँखालाई असर गरेर आँखाको ज्योति नै हराउनेजस्तो जटिल अवस्थासम्म पुग्न सक्छ ।

सर्ने तरिका

मुख्यतयाः कुष्ठरोग श्वासप्रश्वासको माध्यमबाट सर्छ । यसको सर्ने प्रमुख रुट भनेकै श्वासप्रश्वास हो । धेरै समय संगत भयो र छालाको संसर्ग भयो भने पनि सर्छ । तर, यसरी सर्ने सम्भावना भने एकदमै कम हुन्छ । सर्ने मुख्य कारण भनेको श्वासप्रश्वास नै हो । तर, हामीले के बुझ्नुपर्छ भने कुष्ठरोग लागेको ब्यक्तिले औषधी सुरु गरिसकेको छ भने त्यो अरुलाई सर्दैन । उपचार सुरु नगरेको विरामीबाट भने अर्कोलाई सर्छ । यदि एक ब्यक्तिलाई कुष्ठरोग लागेको छ, ब्याक्टोरियाबाट अर्कोमा स¥यो भने पनि अर्कोलाई कुष्ठरोग लाग्छ भन्ने ग्यारेण्टी हुँदैन् ।

९५ प्रतिशत दोस्रो ब्यक्तिको रोग प्रतिरोधात्मक क्षमताले त्यो ब्याक्टोरियालाई जित्यो भने कुष्ठरोग लाग्दैन् । त्यसकारण यो सर्ने सम्भावना पनि कम हुन्छ । हात मिलाउदैंमा सर्ने रोग होइन्, खानेकुराबाट पनि यो रोग सर्दैन् । कुष्ठरोग प्रभावितले कुनै खानेकुरा बार्नुपर्छ भन्ने पनि हुँदैन् । सामान्य मानिसले खाने खानेकुरा खान सकिन्छ । उपचार सुरु नगरेका विरामीको लामो समयसम्म संसर्गमा रहँदा बसियो भने यो रोग सर्न सक्छ ।

कुष्ठरोगको उपचार विधि

कुष्ठरोगका लागि हामीसँग एकदमै बलियो उपचार प्रणाली छ । एकदमै प्रभावकारी उपचार छ । ९० प्रतिशतभन्दा बढी एकदमै प्रभावकारी एन्टीयोबायोटिकहरु हामीसँग छन् । कुष्ठरोग प्रभावित ब्यक्तिले औषधी उपचार गरेमा उ पूर्ण रुपमा निको हुन्छ । हामीसँग त्यस्तो पावरफूल र इफेक्टीभ औषधीहरु छन् । यसको औषधी ५ दिन ७ दिनमा खाएर सकिने एन्टीबायोटिकजस्तो हुँदैन् । यसका दुई वटा उपचार विधी छन् ।

विरामीको शरीरमा किटाणुले कति छ, रोगले छाला र स्नायुमा कतिको असर पु¥याएको छ । शरीरमा दागहरु कति छन् । कति वटा नशालाई प्रभाव पारेको छ, त्यो आधारमा दुई वर्गमा विभाजन गरेर उपचार गरिन्छ ।

एक पिबी (पोजी ब्यासिलरी) अर्को चाहिँ एमबी (मल्टी ब्याचिलरी) । जसको शरीरमा किटाणु कम छ वा जाँच गर्दा किटाणु भेटिएन भने उ पीबीमा पर्छ । जसको जाँच गर्दा किटाणु देखियो, जसको धेरै नशाहरु बिग्रेको छ । शरीरमा धेरै दागहरु छन् भने त्यसलाई एमबीमा राखेर उपचार गर्नुपर्छ ।

पिबीमा ६ महिनाको उपचार हुन्छ, एमबीका लागि १२ महिनाको उपचार हुन्छ । पिबीको लागि एक एक पत्ता औषधि ६ महिनासम्म खानुपर्छ । एमबीको लागि १ एक पत्ता महिनाको गर्दै १२ महिनासम्म खानुपर्छ । ६ महिना र १२ महिना पूरै औषधि खाइसकेपछि कुष्ठरोग निको हुन्छ ।


क्याटेगोरी : सर्ने/नसर्ने रोग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)