२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठटिप्सकस्ता विरामीले के खाने के नखाने ?

कस्ता विरामीले के खाने के नखाने ?


डा. उदय नारायण सिंह
एमडिजिपी, नारायणी अस्पताल

दशैैं नेपालीहरुको लागि खाने सिजन नै भन्दा पनि फरक पर्दैन । यो बेला मासु मात्र नभई अन्य विभिन्न मिठाइ लगायत उपलब्ध हुने प्रायः सबै खानेकुरा नेपालीहरुको भान्छामा पाइन्छ ।

त्यसैले पनि यो समयमा खाँदा विशेष ध्यान दिनुपर्छ । त्यसमा पनि खास रोग भएका मानिसहरु बढी नै सचेत हुनुपर्छ ।

१. मधुमेह
मधुमेहका बिरामीहरुका लागि कार्बोहाइड्रेटयुक्त खानेकुरा लाभदायी हुँदैन । भात, आलु, गुलिया खानेकुरामा कार्बोहाइड्रट धेरै हुन्छ । त्यसैगरी धेरै क्यालोरी दिने खाना पनि मधुमेहका रोगीका लागि स्वस्थकर हुँदैन । कोल्ड ड्रिंक्स र अल्कोहल सेवन गर्नु हुँदैन । छाला र बोसो हटाएर दैनिक ३/४ पिस मासु (हप्ताको २/३ दिन मात्र) खाँदा असर नगर्ने भए पनि तारेको, भुटेको र बोसोयुक्त मासु राम्रो हुँदैन ।

२. युरिक एसिड
गेडागुडी, दाल, माछा मासु, अण्डा जस्ता प्रोटिनयुक्त खानाले युरिक एसिडका बिरामीलाई फाइदा गर्दैन । यो रोगका बिरामीले पानी प्रशस्त पिउनु पर्छ । मसलायुक्त खानाले खासै असर गर्दैन ।

३. हृदयघात
हृदयघातका बिरामीलाई हरिया सागसब्जी र फलफूलको सेवनले लाभ गर्छ । तर तारेको, भुटेको खाना भने पूर्ण रुपमा वर्जित जस्तै छ । चिल्लो, बोसोयुक्त, मसालेदार र बढी नुनिलो खाना पनि खानु हुँदैन । जंक फुडमा प्राय नुन बढी हुन्छ, जसले रक्तचाप वृद्धि गर्छ । त्यसैले जंक फुड पनि हृदयघातमा विष समान हुन्छ ।

४. दम
दमका बिरामीहरुले चिसोबाट बच्नुपर्छ । दशैंमा प्राय फ्रिजमा राखिएका खानेकुरा बढी सेवन गरिन्छ । दमका बिरामीहरुले फ्रिजमा राखिएका चिसा खानेकुरा खानु हुँदैन । साथै धुम्नपान पनि हानिकारक नै हुन्छ ।

५. कब्जियत
कब्जियतका रोगिहरुले प्रोटिनयुक्त खानेकुरा कम खानुपर्छ । हरिया सागसब्जी र पानी प्रशस्त सेवन गर्नुपर्छ । स्याउ, अम्बाजस्ता बोक्रासहित खान मिल्ने फलफूल बोक्रा नतासी खाँदा कब्जियतका बिरामीका लागि फाइदाजनक हुन्छ ।

६. उच्च रक्तचाप
उच्च रक्तचाप भएकाहरुले नुन धेरै कम मात्र खानुपर्छ । धुम्रपान गर्नुहुँदैन । हरिया सागसब्जी र फलफुल प्रशस्त खानुपर्छ भने चिल्लो, तारेको, भुटेको खाना सकेसम्म कम गर्नुपर्छ ।

७. कलेजो र पेट
कलेजो र पेट सम्बन्धि रोग हुनेहरुले प्रोटिनयुक्त खानेकुरा कम खाने गर्नुपर्छ । दिनमा ३० ग्रामभन्दा बढी प्रोटिन (३/४ पिस मासु) भएको खाना खानु हुँदैन । चिया, कफी, मसला र बोसो, चिल्लो भएको खाना कलोजो र पेटका बिरामीका लागि हानिकारक हुन्छ । धुम्रपान र मदिरापान पनि गर्नुहुँदैन ।


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ