२०८३ असोज २०, मंगलबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ

सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ

काठमाडौंमा हुने सम्मेलनले नेपालको स्वास्थ्य शिक्षा सुदृढीकरण, चिकित्सा र इन्जिनियरिङबीच सहकार्य, युवा नवप्रवर्तकलाई प्रोत्साहन तथा ‘सिमनोभा नेपाल २०३० रोडम्याप’ निर्माणबारे बहस गर्ने


काठमाडौं— स्वास्थ्यकर्मी, स्वास्थ्य शिक्षा विज्ञ, इन्जिनियर, अनुसन्धानकर्ता, विद्यार्थी, नीति निर्माता तथा अन्तर्राष्ट्रिय साझेदारहरू सिमनोभा नेपाल–२०२६ मा सिमुलेसन शिक्षा, स्वास्थ्य सेवा नवप्रवर्तन तथा विश्वव्यापी सहकार्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा एकत्रित हुँदैछन् । सम्मेलन ७–९ अक्टोबरसम्म काठमाडौंमा आयोजना हुने चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को नेशनल सिमुलेसन ल्याबमा आयोजना हुनेछ ।

हेल्थ एक्सचेन्ज नेपाल (HExN) र ग्लोबल सर्जरी सिमुलेसन नेटवर्क (GSSN) को संयुक्त आयोजनामा हुन लागेको यस सम्मेलनको मुख्य विषय ‘सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यमार्फत स्वास्थ्य शिक्षा तथा बिरामी सेवाको भविष्य निर्माण’ रहेको छ । यस सम्मेलनको मार्गदर्शक दर्शन चार आपसमा जोडिएका अवधारणामा आधारित छ — विश्वबाट सिकौँ, स्थानीय क्षमता सुदृढ गरौँ , सहकार्यमा नवप्रवर्तन गरौँ र राष्ट्रिय रूपमा कार्यान्वयन गरौँ ।

सिमनोभा नेपाललाई छुट्टाछुट्टै व्याख्यानहरूको संग्रहका रूपमा नभई एउटा क्रमिक यात्राका रूपमा डिजाइन गरिएको छ । कार्यक्रम चार चरणमा अघि बढ्नेछ— बाहिर हेरौँ, भित्र हेरौँ, समाधान निर्माण गरौँ र राष्ट्रिय रूपमा कार्य गरौँ ।

‘यसले सुरुवातमा अन्तर्राष्ट्रिय अनुभवबाट सिक्नेछ, त्यसपछि नेपालको आफ्नै सिमुलेसनको अवस्थातर्फ फर्कनेछ, स्वास्थ्यकर्मी र इन्जिनियरलाई एकै ठाउँमा ल्याएर नवप्रवर्तनका समाधान निर्माण गर्नेछ र अन्ततः नेपालको राष्ट्रिय प्राथमिकतासँग जोडिएको सिमनोभा नेपाल २०३० रोडम्याप निर्माणतर्फ अघि बढ्नेछ,’ आयोजक अध्यक्ष डा. विश्वविख्यात कार्कीले भने ।

सम्मेलनको मूल दर्शन अन्तर्राष्ट्रिय ज्ञानको सबैभन्दा ठूलो मूल्य त्यसबेला हुन्छ जब त्यसले स्थानीय नेतृत्वमा आधारित प्रणालीलाई सुदृढ बनाउन सहयोग गर्छ भन्ने मान्यतामा आधारित छ । त्यसैले अन्तर्राष्ट्रिय अनुभवलाई नेपालको आफ्नै शैक्षिक आवश्यकता, स्वास्थ्य सेवा प्रणाली, उपलब्ध स्रोतसाधन र संस्थागत अनुभवसँग जोडेर प्रस्तुत गरिने उनले बताए ।

सिमुलेसनलाई सुरक्षित रूपमा सिक्ने र चिकित्सकीय अभ्यासका लागि अझ राम्रो तयारी गर्ने माध्यमका रूपमा हेरिएको छ भने नवप्रवर्तनलाई स्वास्थ्य क्षेत्रमा रहेका अपूरा आवश्यकता र चुनौतीहरूको समाधान खोज्ने माध्यमका रूपमा प्रस्तुत गरिनेछ । विश्वव्यापी सहकार्यले ज्ञान, मार्गदर्शन र साझा विशेषज्ञतामा पहुँच प्रदान गरे पनि त्यस्ता पहल दीर्घकालीन र दिगो बन्नका लागि स्थानीय नेतृत्व निर्णायक हुने आयोजकहरूको विश्वास छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुको उपस्थिती रहने उक्त सम्मेलनको प्रमुख अतिथी चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. देवेन्द्रबहादुर खत्री रहनेछन् । कार्यक्रममास्वास्थ्य सचिव डा. विकास देवकोटा, चिकित्सा शिक्षा आयोगका निर्देशकद्वय प्रा.डा.दिपेन्द्र श्रेष्ठ, प्रा.डा. संघरत्न बज्राचार्य, नेपाल चिकित्सक संघ (एनएमए)का अध्यक्ष डा. बद्री रिजाल, महासचिव डा. विश्वराज दवाडी, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. ढुण्डीराज पौडेल, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका निर्देशक डा. प्रकाशप्रसाद शाह, नेपाल नर्सिङ काउन्सिलकी अध्यक्ष शकुन्तला प्रजापति, विश्व स्वास्थ्य संगठनको हेल्थ इमर्जेन्सी अफिसका डा. अमितकुमार सिंह, सोसाइटी अफ सर्जनका अध्यक्ष डा. रविन जोशी, सोसाइटी अफ एनेस्थेसियोलोजिष्ट अफ नेपालका अध्यक्ष प्रा.डा. अनिल श्रेष्ठ सहभागी हुनेछन् ।

यस्तै, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्रा.डा. विवेक आचार्य, वीर अस्पतालका निर्देशक डा. विकास नेपाल, न्याम्सका डिन प्रा.डा. विकास विक्रम अधिकारी, न्याम्सका रेक्टर प्रा.डा. रविराम श्रेष्ठ, न्याम्सकी रजिष्ट्रार प्रा.डा. ममता भट्टराई, वीरका चिकित्सकहरु डा. अनिप जोशी, डा. शरद पोखरेल, डा. ऋतु प्रधान, प्रा.डा. विदुर बराल, न्याम्सकी नर्सिङ क्याम्पस प्रमुख रोशनी तुईतुई पनि सहभागिता जनाउनेछन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. सुर्यमान मेयाङ्बो, पूर्व उपकुलपति डा. मंगल रावल, निर्देशक विनम्र विष्ट, कर्णालीका डा. निर्मल अमर सिंह थापा, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानकी प्राधानाध्यापक प्रा.डा. रत्ना खत्री, सशस्त्र प्रहरी बलका डिआईजी डा. रुपक महर्जन, डा. शैलेन्द्रकुमार दुवाल श्रेष्ठ, डा. विकास थापा सहभागी हुने आयोजकले जनाएको छ ।

अन्तर्राष्ट्रिय वक्ताका रुपमा युनिभर्सिटी अफ क्याब्रिजका विज्ञहरु सम्मेलनमा सहभागिता जनाउनेछन् । सम्मेलनको आयोजक अध्यक्षमा डा. विश्वविख्यात कार्की, सम्मेलन सह—अध्यक्ष डा. प्रार्थना सुवेदी र डा. राकेश शाह र वैज्ञानिक अध्यक्षमा डा. अनिप जोशी रहेका छन् ।

यसअघि इन्टरनेशनल सर्जिकल स्कील कोर्स तथा ‘विश्वव्यापी स्वास्थ्य चुनौतीहरूका लागि मितव्ययी नवप्रवर्तनात्मक समाधानहरूको विकास तथा न्यून र मध्यम आय भएका देशहरूमा दिगो सिमुलेसन सञ्जालहरूको निर्माण’ शीर्षकका विशेष कार्यक्रमहरू सञ्चालन हुनेछन् ।

के हुँदैछ सम्मेलनमा ?

कार्यक्रमको पहिलो प्रमुख विषय ‘ग्लोबल कोलाबरेसन इन एक्सन’ अर्थात् विश्वव्यापी सहकार्यलाई व्यवहारमा उतार्ने रहेको छ । यसअन्तर्गत अन्तर्राष्ट्रिय साझेदारी, स्वास्थ्य व्यवसायसम्बन्धी शिक्षा, पाठ्यक्रम विकास, ट्रान्सलेसनल सिमुलेसन, इमर्सिभ प्रविधि तथा विस्तारयोग्य तालिमका विषयमा विभिन्न दृष्टिकोण प्रस्तुत गरिनेछ । मुख्य प्रश्न हुनेछ—नेपालले विश्वव्यापी अनुभवबाट सिक्दै गर्दा आफ्नै स्वास्थ्य प्रणाली र आवश्यकतासँग सान्दर्भिक तथा स्थानीय नेतृत्वमा आधारित प्रणाली कसरी निर्माण गर्न सक्छ?

सम्मेलनको दोस्रो प्रमुख विषयले ध्यान नेपालमै केन्द्रित गर्नेछ । ‘सिमुलेसन एजुकेशन इन नेपाल’ अन्तर्गत विभिन्न संस्थाहरू, स्नातकोत्तर तालिम तथा देशका विभिन्न भौगोलिक क्षेत्रमा सिमुलेसन शिक्षाको वर्तमान प्रयोगबारे छलफल हुनेछ । यस क्रममा पाठ्यक्रममा सिमुलेसनको एकीकरण, शिक्षक तथा प्रशिक्षक विकास, गुणस्तर सुनिश्चितता, मापदण्ड, पूर्वाधार र काठमाडौं बाहिर समान पहुँचका विषयमा बहस गरिनेछ ।

सम्मेलनबाट उठ्ने तेस्रो महत्वपूर्ण बहसमध्ये एक स्वास्थ्य व्यवसायसम्बन्धी स्नातक तथा स्नातकोत्तर शिक्षामा सिमुलेसनलाई अझ व्यवस्थित रूपमा कसरी समावेश गर्न सकिन्छ भन्ने हुनेछ । यसअन्तर्गत मेडिकल विद्यार्थीहरूलाई अध्ययनको प्रारम्भिक चरणदेखि नै प्रक्रियागत सीप, सञ्चार तथा टोलीमा काम गर्ने क्षमता विकास गर्ने संरचित अवसर प्रदान गर्न सकिने विषयमा छलफल हुनेछ । अध्ययनको उच्च तहमा पुग्दै जाँदा जटिल चिकित्सकीय निर्णय क्षमता, दक्षता विकास तथा व्यावहारिक तयारीमा सिमुलेसनको प्रयोग विस्तार गर्न सकिनेछ । स्नातकोत्तर तहमा प्राविधिक सीप, संकट व्यवस्थापन, मूल्याङ्कन तथा स्वतन्त्र रूपमा चिकित्सकीय अभ्यास गर्न आवश्यक तयारीमा समेत सिमुलेसनको महत्वपूर्ण भूमिका हुन सक्ने विषय सम्मेलनमा उठाइनेछ ।

सिमनोभा नेपालले मेडिकल विद्यार्थी तथा युवा स्वास्थ्यकर्मीहरूलाई विशेष प्राथमिकता दिएको छ । आयोजकहरूको विश्वासमा सिमुलेसन, अनुसन्धान र नवप्रवर्तनमा विद्यार्थी अवस्थादेखि नै एक्स्पोजर प्राप्त गर्नाले नेपालको भावी स्वास्थ्य जनशक्तिको स्वरूप निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने बुझाइका साथ ‘SIMNOVA Innovation Think Tank: From Problem to Possibility’ सत्रमा छलफल चलाउँदैंछ ।यसअन्तर्गत मेडिकल विद्यार्थी तथा युवा नवप्रवर्तकहरूले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या प्रस्तुत गर्ने, सम्भावित समाधान विकास गर्ने र बहुविषयगत निर्णायक मण्डलसमक्ष आफ्ना अवधारणा प्रस्तुत गर्नेछन् । कार्यक्रममा विद्यार्थी नवप्रवर्तन प्रदर्शनी तथा finalist pitches समेत रहनेछन् । निर्णायक मण्डलमा इन्जिनियरिङ, मेडिकल प्रविधि तथा स्वास्थ्य नवप्रवर्तन क्षेत्रका विशेषज्ञहरू रहनेछन् ।

इनोभेसन क्यानभास विचारबाट समाधानसम्म सत्रमा सृजनात्मक इनोभेसन क्यानभासले विद्यार्थीहरूलाई भविष्यका सिमुलेसन तथा स्वास्थ्यसम्बन्धी नवप्रवर्तन कसरी देखिन सक्छ भन्ने कुरा चित्र, स्केच तथा अवधारणामार्फत प्रस्तुत गर्न प्रोत्साहित गर्नेछ । यसले विद्यार्थीहरूलाई केवल निष्क्रिय रूपमा सिक्ने प्रक्रियाबाट बाहिर ल्याउँदै समस्या पहिचान गर्ने र समाधान खोज्ने सोच भएका नवप्रवर्तकका रूपमा विकास गर्न प्रेरित गर्ने उद्देश्य राखेको छ ।

सम्मेलनको शैक्षिक पक्षअन्तर्गत एकेडेमिक सोकेस आयोजना हुनेछ । यसमा सिमुलेसन, स्वास्थ्य शिक्षा, नवप्रवर्तन तथा विश्वव्यापी सहकार्यसँग सम्बन्धित अनुसन्धानहरू ओरल प्रिजेन्टेसन तथा सर्ट प्रिजेन्टेसन का माध्यमबाट प्रस्तुत गरिनेछन् । यसले नेपालमा भइरहेका अनुसन्धान तथा स्थानीय अनुभवलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने महत्वपूर्ण अवसर प्रदान गर्नेछ ।

त्यसबाहेक सम्मेलनमा ‘हेल्थकेयर इनोभेसनः अपुरो आवश्यकतादेखि प्रभावसम्म’, ‘चिकित्सा र इन्जिनियरिङबीच नयाँ सहकार्यको सम्भावना,’ ‘हब एण्ड स्पोक मोडलमार्फत देशव्यापी क्षमता विकास’जस्ता महत्वपूर्ण सत्रहरुमा छलफल हुनेछ ।

सम्मेलनको अन्तिम चरण ‘एक्ट नेशनल्ली’ (Act Nationally) अर्थात् राष्ट्रिय रूपमा कार्यान्वयनतर्फ अघि बढ्ने हुनेछ । यस क्रममा शैक्षिक नेतृत्व, व्यावसायिक संगठन, नियामक निकाय, सरकारी प्रतिनिधि तथा विभिन्न संस्थागत सरोकारवालाहरूलाई एउटै छलफलमा ल्याएर सिमनोभा नेपाल २०३० रोडम्यापकाका प्राथमिकताहरू निर्धारण गर्ने प्रयास गरिनेछ । जसमा पाठ्यक्रममा सिमुलेसनको एकीकरण, फ्याकल्टी विकास, सिमुलेसनमा समान पहुँच, स्वास्थ्य नवप्रवर्तन, चिकित्सा–इन्जिनियरिङ सहकार्य, मेनटरसिप, अनुसन्धान र राष्ट्रिय क्षमता विकास प्राथमिकतामा राखिने अपेक्षा गरिएको छ ।

यसरी सिमनोभा नेपाल-२०२६ ले सिमुलेसन, स्वास्थ्य शिक्षा, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई एउटै मञ्चमा ल्याउँदै नेपालको स्वास्थ्य शिक्षाको भविष्यबारे एउटा नयाँ राष्ट्रिय संवादको सुरुवात गर्ने अपेक्षा गरिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ