२०७९ असोज १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलमेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन्

मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन्

वि.सं. २०४९ सालको एसएलसीका बोर्ड फष्ट चिकित्सकको प्रेरणादायी कथा


अमेरिकाको वासिंगटन राज्यको एवेरेट सहरमा प्रोभिडेन्स रिजनल मेडिकल सेन्टरको ११ तलाको अत्याधुनिक भवन छ । अमेरिकाको पाँचौं ठूलो अस्पताल चेन प्रोभिडेन्स सिस्टमको त्यो भवनको ९ औं तलामा डा. प्रकाश थपलिया हप्ताको ५ दिन बिहानदेखि साँझसम्मै व्यस्त रहन्थे । मेडिकल अंकोलोजिष्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाशले पछिल्ला २ वर्ष त्यहाँ मेडिकल अंकोलोजी विभागको नेतृत्व गरे । विभागको निर्देशक भएर उनले १ सयभन्दा बढी स्टाफहरु कमाण्ड गरे ।

डा. प्रकाश प्रोभिडेन्स अस्पताल र आफ्नै क्लिनिकका लागि विहानै ७ बजे घरबाट निस्कन्थे । सियाटल नजिकै बोथेलस्थित घरबाट एवेरेटमा पुग्न आधा घण्टा लाग्थ्यो । गेटबाट अस्पतालमा छिरेपछि उनको अर्कै खालको व्यस्तता सुरु हुन्थ्यो । ‘क्यान्सर जटिल रोग भएकाले सबै डाक्टर बसेर केसको छलफल गर्ने चलन नै छ,’ उनी निर्देशकका रुपमा प्रोभिडेन्समा काम गर्दाको अनुभव साट्छन्, ‘टिमवर्क, टयुमर बोर्ड नभएको क्यान्सर अस्पताललाई मान्यता दिइदैंन् । त्यही कारण सबै नयाँ र जटिल केसको मल्टी डिसिप्लिनेरी छलफल हुन्छ ।’

सबै ब्यवस्थित क्लिनिकहरुमा केसको छलफल, बिरामी हेर्ने र बिरामीको डकुमेन्टेशन गर्ने गरी तालिका बनाइएको हुन्छ । उनी लगभग १२ घण्टामा काममा तल्लीन रहन्थे । हप्ताका ४ दिन बिरामी हेर्ने र बुधबार प्रशासनिक काम गर्ने समय हुन्थ्यो । विभागमै ब्लड बैक, अंटीकोऐग्युलेशन क्लिनिक रहेकाले त्यहाँ क्लिनिकल समस्या आएमा पनि डा. प्रकाश नेतृत्वको विभागले नै हेर्नुपर्थ्यो । क्वालिटी इम्प्रुभमेन्ट र विभागका कामहरू दैनन्दिन नै थिए । अमेरिकाको धेरै राज्यमा भएको प्रोभिडेन्स पाचौं ठूलो चेन अस्पताल हो ।

डा. प्रकाशले अमेरिकी हेल्थकेयर प्रणालीमा १७ वर्ष लामो अनुभव संगालेका छन् । यो अवधिमा प्रख्यात मेयो क्लिनिकदेखि पिस हेल्थ र डाबिटा/अप्टमसम्म काम गरे । सँगसँगै वासिंगटन स्टेट युनिभर्सिटीको मेडिकल स्कुलको रेज़िडेन्सी प्रोग्रामको अंकोलोजी विभाग कोर्डिनेटर भएर पनि २ वर्ष काम गरे । विशेषज्ञता हासिल गर्न शुरूमा अमेरिका गएका उनले यो अवधिमा डिग्रीसहित उच्चस्तर मेडिकलको ज्ञानमात्रै हासिल गरेनन्, समयको महत्व, अनुशासन, सिष्टम र कामप्रतिको सम्मान भाव भएको अमेरिकी शैली सिके । ‘अमेरिकी मेडिकल तालिम र सीप संसारको जुन कुनामा गएर पनि चल्न सक्ने इञ्जिन जस्तै छ,’ उनले भने, ‘अमेरिकाले आर्थिक रुपले सहज जीवन पनि दियो ।’

गत जुन १५ मा डा. प्रकाशले प्रोभिडेन्स रिजनल मेडिकल सेन्टर अंकोलोजी विभागको निर्देशक र एवरेट क्लिनिकको कन्सल्टेन्ट पदबाट राजीनामा दिए । १७ वर्षपछि स्वदेश फर्किने र आफूले हासिल गरेको ज्ञान नेपाली जनताको सेवामा लगाउने अठोटका साथ पहिलो विश्वको विकसित देशको सम्मानित र आकर्षक स्थायी जागिरलाई वाइवाइ गरिदिए ।

जागिर छोडेपछि नेपाल फर्किएका उनी केही समय नेपालका सबैजसो गाउँवस्ती चहार्ने योजना बनाइरहेका छन् । ‘साथीभाईसँग सल्लाह गर्ने, स्वास्थ्य प्रणालीको बारेमा बुझ्ने, गाउँ–गाउँ जाने, प्रदेशहरुमा जाने के कसरी हेल्थ सिष्टम चलिरहेको छ हेर्ने बुझ्ने देश घुम्ने योजना छ,’ हालैको एक मध्यान्ह हेल्थआवाजसँग उनले भने, ‘अमेरिकामा स्वास्थ्य विश्व स्वास्थ्य संगठनको मापदण्डमा चल्दैनन्, सिडिसीलगायतका आफ्नै प्रणाली छन् । नेपालको स्वास्थ्य प्रणाली विश्व स्वास्थ्य संगठनको मापदण्डमा चल्छ ।’ डा. प्रकाश आफूले अमेरिकी स्वास्थ्य प्रणाली जाने पनि नेपालको स्वास्थ्य प्रणालीबारेमा यही प्रायक्टिस गरिरहेका डाक्टरबाट सिक्ने बताउँछन् । ‘हामीले पनि सिकाउने, उहाँहरुबाट पनि सिक्ने गर्ने हो,’ उनले थपे ।

काभ्रेको सिपालीदेखि एसएलसी बोर्ड फस्टसम्म

वि.सं. २०३३ साल भदौं १३ गते डा. प्रकाशको जन्मको रोशी छेउमा पर्ने सिपालीस्थित उनको मामाघरमा भएको हो । बुवा बलराम थपलिया र आमा सिता थपलियाका ८ जना सन्तानमध्ये उनी तेस्रो हुन् । नमोवुद्ध नगरपालिकाको फूलवारीमा उनी हुर्किएका हुन् ।

बुबा स्कुलका शिक्षक थिए भने आमा गृहिणी । बुवा नै शिक्षक भएकाले सन्तानको शिक्षादीक्षासम्मको पहुँच सहज हुनु स्वभाविकै थियो । उनको प्रारम्भिक शिक्षादीक्षा स्थानीय मथुरापाटी माध्यमिक विद्यालयबाट भएको हो । उनले त्यहाँबाट कक्षा ५ सम्म अध्ययन गरे । त्यसपछि थप शिक्षाका लागि काठमाडौं आए । काठमाडौंको सितापाइलास्थित महामंजुश्री स्कुलबाट उनले कक्षा ८ उत्तीर्ण गरे । कक्षा ८ पछि उनी सिद्धार्थ वनस्थली गए ।

स्कुल जीवनमा राजनीति, साहित्य र खेलकूदप्रति उनको रुचि थियो । ‘पढाइबाहेक साहित्य र राजनीतिको धेरै कुरा गर्ने गर्थ्यौ,’ डा. प्रकाश स्मरण गर्छन्, ‘पढाइभन्दा पनि हामी ८ देखि १० कक्षासम्म यस्तै कुरा गरेर अधिकांस समय बिताउँथ्यौं ।’

त्यतिबेला नयाँबानेश्वरमा उनको घर थियो । अहिलेको क्रंक्रिटको जंगलजस्तो काठमाडौं त्यो बेला थिएन् । वरपर खेतहरु थिए । पानीका इनार पनि हुन्थे । उनलाई फुटबल मन पर्थ्यो । ‘खेल्दाखेल्दै बल इनारभित्र पस्थ्यो,’ उनले सम्झिएँ, ‘इनारबाट बाल्टीले बल झिक्ने गर्थ्र्यौ ।’ त्यो बेलाको काठमाडौं साच्चिकै स्वप्नगरीजस्तै थियो । ठूलाठूला खेत, हरियाली र बीचबाट कलकल निलो पानी बग्ने नदीहरुको मिश्रण । ‘आहा क्या गज्जब,’ उनले स्मृति पल्टाए, ‘हामी बागमतीमा पौडी पनि खेल्थ्यौं । नदी किनारमा डरलाग्दो नर्कटको झाडी थियो ।’

सिद्धार्थ वनस्थलीबाट वि.सं. २०४९ सालमा डा. प्रकाशले एसएलसी बोर्ड फस्ट गरे । त्यसपछि उनी आईएस्सी पढ्नका लागि सेन्ट जेभियर्स कलेज गए । कानुन उनलाई बढी मन पर्ने विषय थियो । त्यही कारण उनले आईएस्सी पढ्दा-पढ्दै कानुनमा पनि भर्ना गरे । ‘मलाई कानुन पनि मनपर्ने विषय थियो । कानुनमा पनि भर्ना गरे । राजपत्र पनि एकएक पढ्थे,’ उनले भने, ‘तर, परीक्षा दिन जाने दिन भने गइएन् ।’ उनले वि.सं. २०५२ सालमा आईएस्सी सके ।

मणिपालमा एमबीबीएस, मेयोमा विशेषज्ञता

डा. प्रकाशका बुवा बिरामी हुँदा शिक्षण अस्पताल महाराजगन्ज लैजान्थे । त्यहाँ एक जना उनको गाउँले दाइ एचए थिए । बुवाले सेतो स्क्रबमा भएका उनलाई डाक्टर भनेर चिनाउँथे । पछि, प्रख्यात न्यूरो सर्जनका रुपमा नाम कहलिएका उनका ती दाइले एक विमान दुर्घटनामा ज्यान गुमाए । पहिलो पटक प्रकाशको आँखामा डाक्टर बन्ने सपनाको बिऊ तिनै दाइलाई देखेपछि आयो। ‘बुवाले उहाँलाई देखाउँदैं डाक्टर बन्नुपर्छ भन्नुहुन्थ्यो,’ उनी विगत पल्टाउँछन्, ‘त्यहाँबाट पछि उनको अठोटमा साथीभाइ र परिवारको उत्प्रेरणा थपियो ।’

त्यही कारण प्रकाश पनि डाक्टरी पढ्न प्रेरित भए । आईएस्सी सकेपछि उनले एमबीबीएसको छात्रवृत्तिका लागि इन्ट्रान्स दिए । नेपाल सरकारको शिक्षा मन्त्रालयअन्तर्गतको छात्रवृत्ति पाएपछि एमबीबीएस पढ्नका लागि उनी मणिपाल मेडिकल कलेज पोखरा गए । डा. प्रकाश मणिपालको दोस्रो ब्याच हुन् ।

‘मणिपाल नेपालको पहिलो निजी मेडिकल कलेज थियो । त्यो बेला यो कलेज चल्दैन्, बन्द हुन्छ, शिक्षा मन्त्रालय र त्रिभुवन विश्वविद्यालयले स्वीकृति दिदैंन भन्दाभन्दै मेरो पहिलो वर्ष सकियो,’ उनले मणिपाल अनुभव सुनाए । कलेज बन्द होला कि भन्ने पीरले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा इन्ट्रान्स दिनका लागि तीन महिना काठमाडौं आएर पढे । तर, संयोग के प¥यो भने आईओएमको इन्ट्रान्स र उता एमबीबीएसको पहिलो वर्षको परीक्षा एकैपटक प¥यो । ‘म दोधारमा परे,’ उनले भने, ‘एक वर्ष ढिला किन गर्ने भनेर पछि जाँच दिन पोखरा नै गएँ ।’

मणिपालमा त्यो समय अधिकतम विदेशी विद्यार्थी थिए । भारत, श्रीलंका, क्यानडा, अमेरिका, साउथ अफ्रिकाका विद्यार्थी हुँदा थरीथरीका भाषा, संस्कृति सिक्ने अवसर उनले पाए । मणिपालमा सिकेको यही कुरा पछि उनलाई विदेश जाँदा पनि सहयोगी बन्यो । सन् २००१ मा उनले मणिपालबाट इन्टर्नसीप समेत पूरा गरे ।

त्यसपछि डा. प्रकाश नेपालभर डुले । सर्जरी मनपर्छ कि भनेर मणिपालकै सर्जिकल विभागमा ६ महिना काम गरे । ‘तर, मलाई मन लागेन्,’ उनले भने। उनले त्रिवि शिक्षण अस्पतालमा ६ महिना आईसीयुमा काम गरे । त्यही बेला सिन्धु कोइरालासँग उनी विवाह बन्धनमा बाँधिए । ‘त्यसपछि म भरतपुर क्यान्सर अस्पताल गए ।’ चितवनको गर्मी सहन नसकेर उनकी श्रीमती काठमाडौं फर्किइन् । डा. प्रकाश पनि ६ महिना जति काम गरेर काठमाडौँ फर्किए । त्यसपछि काठमाडौं मोडल अस्पतालमा २ वर्ष काम गरे ।

सन् २००३ मा उनी छात्रवृत्तिमा रेजिडेन्सी गर्न विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान गए । त्यहीबेला उनकी छोरी जन्मिइन् । केही समयका लागि काठमाडौँ फर्किए । युएसएमएलईको पहिलो चरणको परीक्षा पनि दिए । ‘राम्रो भयो भने अमेरिका जान्छु नत्र यही काम गर्ने सोच थियो,’ डा. प्रकाश भन्छन्, ‘तर, राम्रो अवसर पाएपछि रेजिडेन्सीको पहिलो वर्ष पूरा नगरी म अमेरिका गए ।’ अहिले पनि रेजिडेन्सी छोडेर जानुपर्दाको त्यो क्षण उनलाई नरमाइलो अनुभूति गराउँछ ।

सन् २००४ मा अमेरिका गएका उनले सबै परीक्षा पास गरे । सन् २००५ देखि २००८ सम्म तीन वर्षसम्म पेन्सल्वेन्याको रिडिङ हस्पिटलबाट इन्टरनल मेडिसिनमा पिजी गरे । सन् २००८ देखि सन् २०११ सम्म विख्यात मेयो क्लिनिकबाट हेमोटोलोजी र मेडिकल अंकोलोजीमा फेलासीप पूरा गरे । ‘सन् २०११ बट काम सुरु गरे,’ उनले भने, ‘अमेरिकामा मैले तीन सिस्टममा काम गरे । दुई वर्ष विशुद्द प्राइभेट प्राक्टिस गरे ।’ यो अवधिमा उनले एरिजोनाको फ़ीनिक्समा ठूलो प्राइभेट प्रायाक्टिस समूहमा २ वर्ष, वासिंगटन स्टेटको ‘पिस हेल्थ’ नन प्रोफिट हेल्थ सिस्टममा ३ वर्ष काम गरे । ततपस्चात डाबिटा र अप्टममा ६ वर्षभन्दा धेरै सेवा गरे । ‘त्यहाँ मैले कन्सलटेन्ट हेमोटोलोजिष्ट र अंकोलोजिष्टका रुपमा काम गरे,’ उनले भने । अप्टमको कन्सेप्ट आफ़नै अस्पताल चलाउनुभन्दा चिकित्सकहरुको मल्टीस्पेशल्टी समूहले अस्पतालसँग सहकार्य गरेर काम गर्ने थियो । अप्टममा छँदा उनले अमेरिकाकै हेल्थकेयर जायन्ट प्रोभिडेन्स रिजनल मेडिकल सेन्टरसFग सहकार्य गरे । पछिल्ला दुई वर्ष उनले त्यहाँ मेडिकल अंकोलोजी विभागलाई नेतृत्व दिएर बिताए । गत जुनदेखि त्यसबाट बिदा लिएर उनी नेपालमा छन् ।

अमेरिकामा चिकित्सकीय प्रायक्टिस नेपालको तुलनामा भिन्न छ । बिरामी सन्तुष्ट नभएसम्म अर्को बिरामी हेर्न पाइदैन् । चिकित्सक बिरामी हेर्ने समय छुटाएको हुन्छ । क्यालेन्डर प्रायः पहिला नै बनिसकेको हुन्छ । ‘धेरै दिनअघि नै कति बिरामी हेर्ने भन्ने तालिका हुन्छ,’ डा. प्रकाश भन्छन्, ‘फ्लोअपका बिरामीलाई कम्तिमा २० मिनेट टाइम दिने गरिन्छ । जटिल केस र काउन्सिलिङ गर्नुपर्ने भएमा ४० मिनेट वा बढ़ी नै समय दिनुपर्छ । नयाँ बिरामीलाई १ घण्टा ।’ अमेरिकामा रोगबारे पहिले बिरामी थाहा दिने र उसको अनुमति लिएर पछि मात्रै अरुलाई थाहा दिने चलन छ ।

विविध कमजोरीका बाबजुद अमेरिकाको स्वास्थ्य बिमाका विभिन्न पक्ष नेपालजस्ता देशहरुका लागि अनुकरणीय हुन सक्ने उनी बताउँछन् । सबैको आयस्रोतबाट मेडिकल ट्याक्स काट्ने सिस्टम छ । ६५ वर्षपछि कर तिरेका सबैले मेडिकेयरमार्फत स्वास्थ्य सेवा पाउँछन् । स्वास्थ्यमा पैसा खर्च गर्न नसक्ने आम मानिसको लागि राज्यले छुट्टै कर लिएर उपचार गर्छ । ५० वटा राज्यका आफ्नै विशेषतासहितका Medicaid का प्रावधान छन्। स्वास्थ्य बिमा कर आयस्रोतबाट १ वा २ प्रतिशत छुटाउनुपर्छ । यति हुँदाहूँदै पनि प्रायःले काममार्फत वा निजी बिमा कम्पनीबाट स्वास्थ्य बिमा गराएका हुन्छन् ।

यो लामो समयमा डा. प्रकाशलाई अमेरिकाबाट के दियो ? ‘अमेरिकाले आवश्यक सामान्य ज्ञानदेखि अति विशिस्टिकृत ज्ञान सिकायो । चिकित्सा ज्ञान त अनलाइन वा किताबबाट जुनसुकै ठाउँमा बसेर लिन सकिन्छ । तर, अमेरिकाले समयको महत्व सिकायो, प्रणाली र जवाफदेहिता सिकायो । अनुसन्धान र निरन्तर सिकाइको महत्व सिकायो,’ उनले भने, ‘काममा अनुशासन र कामप्रतिको सम्मान सिके ।’ कार्य क्षेत्रमा अमेरिकामा ठूला चिकित्सकदेखि अस्पताल बढार्नेसम्मलाई बराबर सम्मान गरिन्छ ।’

पुस्तक प्रेमी चिकित्सक

डा. प्रकाशको जीवनशैली पनि सामान्य छ । बिहान ५ बजे उठि सक्छन् । उठनेबितिकै फाइनान्सियल टाइम्सलगातयका केही पत्रिका नछुटाइ पढ्छन् । केही नेपाली अनलाइनहरु पनि चहार्छन् । विहान दुई घण्टा नियमित हिड्छन् ।

त्यसपछि दुई कप स्ट्रोङ चिनी नभएको कफी लिन्छन् । अमेरिकामा हुँदा एभोकाडो दलेको ब्रेड, अम्लेट, प्यान केक ब्रेकफास्टका रुपमा लिन्छन् । १२ देखि १ बजेको बीचमा खाना खान्छन् । जसमा स्याण्डबीचजस्ता खानेकुरा हुन्छन् । नेपालमा हुँदा भने ब्रेकफास्ट नगरी खाना खान्छन् ।

अमेरिकामा रहँदा महिनामा दुई तीन पटक १५/१६ किलोमिटरको हाइकिङ जान्छन् । साँझपखको खाना नियमित रुटिङमै हुन्छ । त्यसपछि टिभी, युट्युब हेर्ने र एकछिन पढ्ने गर्छन् । उनी ११ बजेभन्दा अघि नै बेडमा पुगिसक्छन् ।

डा. प्रकाश काममा जाँदा फर्मल पहिरनमा हुन्छन् । अनौपचारिक पहिरनमा भने प्रायः जिन्स र टिसर्ट मन पर्छ ।

किताबप्रति उनको उल्कै अनुराग छ । साताको एउटा नयाँ किताब पढ्छन् । ‘नन् फिक्सन, राजनीति, आर्थिक किताब बढी पढ्छु,’ उनले भने, ‘फिलोसोफ़ीका किताबहरु पनि पढ्छु ।’ हामीले भेटेको साता उनको मार्कस ओरेलियसको मेडिटेसन्स (Meditations) र एचबीआरस टेन मष्ट रिडर्स वन लिडरसीप फर हेल्थकेयर (HBR’s 10 Must Reads On Leadership for Healthcare) पढ़ने पालो थियो । डा. प्रकाशलाई म्युजिक पनि मनपर्छ। हाइकिङ/रनिङका बेला स्पोटिफाइ स्थायी साथी हुन्छ । प्राइम र नेट फिलिक्समा हप्ताको १-२ सिनेमा पनि हेर्ने गर्छन् ।


क्याटेगोरी : प्रोफाइल
ट्याग : #अंकोलोजी विभागको निर्देशक, #अमेरिकी हेल्थकेयर, #डा. प्रकाश थपलिया, #प्रोभिडेन्स रिजनल मेडिकल सेन्टर, #बोथेल, #मणिपाल मेडिकल कलेज, #मेडिकल अंकोलोजिष्ट एण्ड हेमाटोलोजिष्ट, #मेडिकल अंकोलोजी, #रिडिङ हस्पिटल, #विश्व स्वास्थ्य संगठन, #शिक्षण अस्पताल महाराजगन्ज, #सिद्धार्थ वनस्थली, #सियाटल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)