काठमाडौं—दाङको घोराही उपमहागरपालिका—३ भानपुरस्थित ३०० शय्याको सन्जीवनी इन्स्टिच्युट अफ एडभान्स स्टडिज एण्ड टिचिङ हस्पिटलले २५९ जना कर्मचारी माग गरेको छ । मंगलबार एक सूचना प्रकाशित गर्दै शिक्षण अस्पतालले ३२ जना विभिन्न विधाका विशेषज्ञहरु चिकित्सक र ६० जना मेडिकल अधिकृत माग गरेको छ ।
यस्तै, अस्पतालले १० जना नर्सिङ सुपरभाइजर र १०० जना पिसिएल नर्स माग गरेको छ । अस्पतालले ३० जना एचए, १० जना एनेस्थेसिया एसिस्टेन्ट र २ जना अप्थाल्मिक असिस्टेन्ट मागेको छ ।
सन्जीवनी शिक्षण अस्पतालले १५ जना फार्मेसिष्ट माग गरेको छ । ४ अर्ब लगानीमा बनेको सन्जीवनी शिक्षण अस्पतालले यसअघि झण्डै ३ सय ५० जनाभन्दा बढी कर्मचारी भर्ना गरिसकेको छ ।
‘पहिलो चरणमा हामीले झण्डै ३ सय ५० जना कर्मचारी लिइसकेका छौं,’ अस्पतालका प्रमुख कार्यकारी अधिकृत दिपक रोकाले भने, ‘आज २ सय ५९ जना कर्मचारीका लागि भ्याकेन्सी गरेका छौं ।’
पाँच वर्षभित्र मेडिकल कलेज सञ्चालनको लक्ष्य राखेको अस्पतालले सबै विशेषज्ञ सेवाहरु उपलब्ध गराउने तयारी गरिरहेको छ ।
