काठमाडौं—चर्चित फुटबलर तथा नेपाली महिला राष्ट्रिय टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले उपचारका लागि सहयोग ओइरिएको छ । मंगलबार २४ घण्टा पुग्दैं उनको नेपाली खातामा १ करोड रुपैयाँभन्दा बढी र विदेशी खातामा ४५ लाख रुपैयाँ भन्दा बढी संकलन भएको छ ।
मंगलबार साम्बाले फेसबुकका उपचारका लागि आवश्यक रकम जुटेकाले सहयोग रकम रोकिदिन आग्रह गरेकी छिन् । ‘मेरो उपचारका लागि नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लाटफर्ममा ४५ लाख नेपाली रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) जम्मा भएको छ । मलाई प्रायोजन गर्नुहुने संस्था र अन्य नेपालका धेरै संघसंस्थाले पनि नगद र सुविधा सहयोगको वाचा गर्नुभएको छ,’ साम्बाले मंगलबार अपरान्ह फेसबुकमा लेखेकी छन्, ‘यसले मेरो उपचार खर्च मात्र नभएर, कतारमा उपचारका दौरान लाग्ने आवास र यातायात पनि पुग्ने देखिन्छ । कतारमा रहनु हुने विभिन्न व्यक्तित्व र संस्थाले पनि सहयोगको वाचा गर्नुभएको छ । त्यसैले म आजबाट नै दुवै अकाउन्टमा सहयोग रकम रोकिदिनु हुन अनुरोध गर्दछु ।’
मंगलबार साम्बाले सामाजिक सञ्जालमार्फत आफ्नो घुँडाको शल्यक्रियाका लागि ८० हजार अमेरिकी डलर खर्च हुने भएकाले उपचारमा आर्थिक सहयोगका लागि आग्रह गरेकी हुन् । साम्बा ७ हप्तादेखि चोटका कारण साम्बा मैदान बाहिर छन् ।
आर्थिक अभावकै कारण शल्यक्रिया समयमा हुन नसकेको उनले बताएकी थिइन् । साम्बाको घुँडाको एसीएलमा यसअघि शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेको छ । यसका लागि उनले पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको जानकारी दिएकी थिइन् ।
साम्बाले सहयोगको आग्रह गरेको एक दिनमै उनले उपचार लाग्ने खर्च जुटेको छ ।
