२०८३ साउन १०, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन

नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन

आकस्मिक कक्षमा कार्यरत ५ स्वास्थ्यकर्मीलाई कामकाजमा रोक


काठमाडौं—वीरगञ्जस्थित नारायणी अस्पतालमा एक बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि कुटपिट भएको छ । शनिबार बिहान करिब ११ बजे वीरगञ्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेललाई मुटुसम्बन्धी गम्भीर समस्याका कारण अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि ल्याइएको थियो ।

चिकित्सकहरूको टोलीले तत्काल आवश्यक उपचार उपलब्ध गराउँदा–गराउँदै पनि ती बिरामीको कार्डियाक अरेस्टका कारण मृत्यु भएको थियो । बिरामीको मृत्युपछि आक्रोशित भिडले आकस्मिक कक्षमा तोडफोड गरी आतंक सिर्जना गरेको तथा विवाद समाधानका लागि छलफलमा जाँदै गरेका डा. प्रमोद रामलाई करिब ४०–५० जनाको समूहले बाटोमै घेरा हाली मरणासन्न हुने गरी कुटपिट गरेको नेपाल चिकित्सक संघ नारायणी शाखाले जनाएको छ ।

नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिडेन्ट डा. चितरन्जन साहले कुटपिटबाट घाइते भएका चिकित्सकको हालसम्म आइसीयु उपचार भइरहको बताए । उनले भने, ‘छानविन समिति गठन भएकाले हाल सो घटना भएको समयमा इमरर्जेन्सी कक्षमा कार्यरत स्वास्थ्यकर्मीलाई कामकजमा रोक लगाइको छ,’ उनले भने ।

अस्पतालमा घटेको उक्त घटनाकोे सत्यतथ्य अध्ययन तथा विश्लेषण गरी सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारीसहित डा. निरजकुमार सिंहको संयोजकत्वमा छानविन समिति गठन गरिएको छ ।

समितिमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासनिक अधिकृत विनयकुमार गया, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक एकनाथ महराष्ट्र, वीरगञ्ज महानगरपालिका–२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदी, मृतक पक्षका प्रतिनिधि विकास पटेल तथा अस्पताल प्रशासनका प्रतिनिधि सुनिलकुमार रौनियार सदस्य छन् ।

मृतकको शव पोष्टमार्टम गरी आफन्तले शव बुझिसकेको सँगै अन्त्येष्टी समेत भइसकेको डा. साहले बताए ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ