२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकबुलियतनामाअनुसार ५ वर्ष काम नगरेपछि चिकित्सकलाई झण्डै दुई करोड जरिवाना

कबुलियतनामाअनुसार ५ वर्ष काम नगरेपछि चिकित्सकलाई झण्डै दुई करोड जरिवाना


काठमाडौं–बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले विशेषज्ञ डा. पुरु कोइरालालाई  झण्डै २ करोड जरिवाना बुझाउन १५ दिन अन्तिम सूचना जारी गरेको छ । बुधबार फोटोसहितको एक सूचना प्रकाशित गर्दै प्रतिष्ठानले कोइरालालाई १ करोड ६७ लाख कबुलियतनामाअनुसार क्षतिपूर्ति रकम बुझाउन आउनेबारेको अन्तिम सूचना जारी गरेको हो ।

विराटनगर महानगरपालिका–१२ रंगेली रोडका स्थायीवासी डा. कोइराला यसअघि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इन्टर्नल मेडिसिन विभागमा एसिस्टेन्ट प्रोफेसरका रुपमा कार्यरत थिए ।

प्रतिष्ठानले उनलाई फ्याकल्टी डेभलपमेण्ट प्रोग्राम अन्तर्गत पुल्मुनरी क्रिटिकल केयर एण्ड सिलिप मेडिसिन विषयमा डिएम अध्ययनका लागि तीन वर्ष अध्ययन बिदा उपलब्ध गराई डिएम अध्ययनको अवसर दिएको थियो । उक्त अवसरका बेला उनले प्रतिष्ठानसँग आफूले पाँच वर्ष काम नगरेमा प्रत्येक वर्षको ५० लाखका दरले नगद रकम प्रतिष्ठानलाई बुझाउने सम्झौता गरेका थिए । जसअनुसार उनले कम्तिमा पाँच वर्ष सेवा गर्नुपर्ने हुन्थ्यो ।

तर, डा. कोइरालाले अध्ययनपश्चात ५ वर्षको साटो १ वर्ष ७ महिना २५ दिनमात्र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गरे । बाँकी तीन वर्ष चार महिना ५ दिन काम नगरी उनी बीचैमा राजीनामा गर्दा समेत प्रतिष्ठानले तोकेको तीन महिनाको पूर्व सूचना नदिए प्रतिष्ठान छोडेर हिडे । त्यसपछि प्रतिष्ठानले उनलाई यसअघि बझबुझारथ गर्न र बाँकी रकम तिर्न भन्दैं गत कात्तिकमा अन्नपूर्ण दैनिकमा सार्वजनिक सूचना जारी गरेको थियो । तर, त्यसलाई पनि अटेर गरेपछि प्रतिष्ठानले बुधबारको कान्तिपुर दैनिकमा फोटोसहितको १५ दिने अन्तिम सूचना जारी गरेको हो ।

प्रतिष्ठानको उक्त सूचनामा लेखिएको छ, ‘अध्ययन पश्चात प्रतिष्ठानमा कम्तिमा पाँच वर्ष सेवा गर्ने अन्याथा ५ वर्ष सेवा पु¥याउन बाँकी अवधिको लागि प्रत्येक वर्षको रु. ५०,०००० / (अक्षरेपी पचास लाख)का दरले नगदैं प्रतिष्ठानलाई बुझाउनेछु भनी मिति २०७०/०६/०४ को बुँदा नंं. ४ बमोजिम कबुलियतनामा गर्नुभएकोमा कबुलियतनामाअनुसार अध्ययन पश्चात प्रतिष्ठानमा पाँच वर्ष सेवा पु¥याउनुपर्नेमा तपाईंले अध्ययन पश्चात एक वर्ष ७ महिना २५ दिनमात्र काम गरेको देखिएको र ३ वर्ष ४ महिना ५ दिन अझ सेवा गर्न बाँकी देखिएकोले तपाईले गरेको कबुलियतनामाअनुसार उक्त अवधि बराबरको रकम र तपाईले राजीनामा दिदा नियमअनुसार दिनुपर्ने तीन महिनाको पूर्व सूचना नदिए बापतको क्षतिपूर्ति गरी कुल १,६७,५०,०००/- (अक्षेरुपी एक करोड सतसठ्ठी लाख पचास हजार) यस प्रतिष्ठानमा दाखिला गर्न प्रतिष्ठानको च.नं. ४६१/०७५/०७६ मिति २०७५/०४/२९ मा पत्राचार भई मिति २०७५/०४/२९ मा बुझिसमेत लगिसकेकोमा यस सम्बन्धमा तपाईबाट कुनै जवाफ प्राप्त हुन नआएको हुँदा अन्नपूर्ण राष्ट्रिय दैनिक पत्रिकामा मिति २०७५/०७/३० गतेको ३० दिनको समयसीमा तोकी सार्वजनिक सूचना प्रकाशन भएकोमा तोकिएको म्याद समाप्ति भएपछि पनि हालसम्म तपाई प्रतिष्ठानमा सम्पर्क गर्न नआउनु भएको हुँदा अन्तिम पटकको लागि १५ दिनभित्र उपरोक्त बमोजिमको रकम दाखिला गर्नुका साथै प्रतिष्ठानको नियमअनुसार बझबुझारथको कार्य समेत गर्नुहुन यो सूचना जारी गरिएको छ,’ सूचनामा लेखिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ