आगामी नेपाल मेडिकल काउन्सिल (एनएमसी)को निर्वाचनमा सदस्य पदका लागि ३३ जना र उपाध्यक्ष पदका लागि ३ जना उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराइसक्नुभएको छ। म स्वयं पनि सदस्य पदका लागि उम्मेदवारको रूपमा अघि बढेकी छु।
चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)बाट एमबीबीएस अध्ययन गर्दादेखि पाटनमा एमडी अध्ययन सम्पन्न गर्दासम्म चिकित्सा क्षेत्रका विविध आन्दोलन र पेशागत हकहितका सवालमा सधैं अग्रपंक्तिमा उभिएर आवाज उठाउँदै आएको अनुभव म सँग छ। एमबीबीएस तहको बन्डदेखि एमडी तहको बन्डसम्म, मेसुको सक्रिय नेतृत्व भूमिकामा अन्य सहकर्मीहरूसँग सहकार्य गर्दै काम गरेको अनुभव पनि रहेको छ।
नेपालका पेरीफेरी क्षेत्रमा सेवा प्रदान गर्ने क्रममा स्वास्थ्य क्षेत्रमा विद्यमान विकृति, विसंगति तथा चिकित्सकहरूले काठमाडौं–केन्द्रित एनएमसी संरचनाका कारण भोग्नुपरेका कठिनाइहरू मैले नजिकबाट अनुभूति गरेकी छु । यही कारणले हाल मेरो अभ्यास काठमाडौंमै रहेकाले एनएमसीका फुल हाउस मिटिङहरूमा नियमित सहभागिता जनाउन तथा स्वास्थ्यकर्मीहरूको सुनुवाई हुन नसकेका मुद्दाहरूमा पर्याप्त समय र योगदान दिन सक्ने आत्मविश्वासका साथ यो उम्मेदवारी दिएको हुँ ।
ठूला र अव्यवहारिक एजेन्डाभन्दा पनि चिकित्सकका वास्तविक मुद्दामा काउन्सिलभित्र रहेर आफ्नो समय, इमानदारिता र प्रतिबद्धता प्रस्तुत गर्ने मेरो स्पष्ट संकल्प छ।
मेरा प्रमुख एजेन्डाहरू यस प्रकार छन् :
१. सेटेलाइट एनएमसी
कम्तीमा प्रत्येक प्रदेशमा एनएमसीका सम्पर्क कार्यालय स्थापना गरी चिकित्सकहरूको दर्ता, नवीकरण तथा कागजात प्रमाणीकरणका लागि काठमाडौं आउनुपर्ने झन्झटको अन्त्य गर्ने। साथै, कम्प्युटर ल्याब/पियर्सन सेन्टरहरूसँग सम्झौता गरी एनएमसीका परीक्षा सबै प्रदेशमा एकै दिन १–२ सेटमा सञ्चालन हुने व्यवस्था मिलाउने।
२. निर्वाध डिजिटल एनएमसी (Seamless Digital NMC)
एनएमसीको सफ्टवेयर अद्यावधिक गरी पूर्ण रूपमा पेपरलेस, अनलाइन प्रणाली विकास गर्ने। दर्ता, नवीकरण, इक्वीभ्यालेन्ट सर्टिफिकेट, गुड स्ट्यान्डिङ सर्टिफिकेटलगायतका सबै प्रक्रियाको अवस्थाबारे ट्र्याकिङ सिस्टम राख्ने। चिकित्सकको एनएमसी नम्बर, योग्यता, डिग्री तथा कार्यरत प्रदेशसम्बन्धी विवरण एउटै प्रणालीमा उपलब्ध हुँदा चिकित्सकको बायोडाटा सहज रूपमा प्राप्त गर्न सकिने व्यवस्था गर्ने।
३. एक्टीभ इथिकल कमिटी
चिकित्सकको पेशागत मर्यादा र सुरक्षाका लागि चिकित्सकमाथि हुने दुर्व्यवहार, लापरबाहीसम्बन्धी मुद्दाहरूको छानबिनका लागि ¥यापिड रेस्पोन्स टिम गठन गर्ने। कानुनी सहायताका लागि परामर्श सेवा उपलब्ध गराउने, जसले उपभोक्ता अदालतसम्म पुग्ने अनावश्यक झन्झट कम गर्नेछ। साथै, दीर्घकालीन रूपमा मेडिकल क्षतिपूर्ति बीमा (medical indemnity insurance) को व्यवस्था गर्न पहल गर्ने।
४. प्रोफेसनल ग्रोथ हब
फेलोसीप सम्बन्धी समस्याका लागि शीघ्र उप–समिति गठन गरी शुल्क संरचना र स्टाइपेन्ड वैज्ञानिक आधारमा सुनिश्चित गर्ने।
इन्टर्न र पोस्टग्राजुएट (एमओ/रेजिडेन्ट)का लागि वैज्ञानिक आधारमा ड्युटी आवर र पारिश्रमिक निर्धारण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग कानुनी व्यवस्था निर्माणका लागि पहल गर्ने।
अवैधानिक तथा अनैतिक क्वीकेरी प्रायाक्टिस (quackery practice)को अन्त्यका लागि जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित निकायसँग समन्वय गरी नियमित अनुगमन गर्ने।
५. पारदर्शी र विश्वसनीय एनएमसी
काउन्सिलको पारदर्शिता र सुशासनः काउन्सिलका सम्पूर्ण निर्णय प्रक्रिया तथा आर्थिक गतिविधि (बजेट, खर्च विवरण) वेबसाइटमार्फत सार्वजनिक गरी पारदर्शिता कायम गर्ने।
स्वास्थ्य प्रणाली सुधारका लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल चिकित्सक संघ (एनएमए)सँग समन्वय गरी देशको समग्र स्वास्थ्य प्रणाली र नीति निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने।