२०८२ चैत्र १, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यएएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ

एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ


काठमाडौं—विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का पूर्व प्रमुख वैज्ञानिक डा. सौम्या स्वामीनाथनले लैंगिक हिंसाको समस्या समाधान नगरी औषधिमा प्रतिजैविक प्रतिरोध (एएमआर) नियन्त्रण सम्भव नहुने बताइन् ।

उनका अनुसार धेरै महिलाहरूमा हुने हिंसा वा घरेलु हिंसाको जोखिमले शारीरिक वा यौनजन्य संक्रमण बढाउन सक्छ । तर, परिवार र समाजमा उनीहरुको कमजोर निर्णय क्षमताका कारण समयमै उपचार खोज्न नसक्दा अधूरो उपचार, गलत मात्रा वा गलत औषधिको प्रयोगले औषधिप्रतिको प्रतिरोध बढाउन सक्ने बताइन् ।

‘यौनजन्य संक्रमण, पिसाबको संक्रमण, प्रजनन मार्ग संक्रमण तथा पेल्भिक इन्फ्लेमेटरीजस्ता रोगहरू यौन हिंसासँग जोडिएका हुन्छन्,’ उनी भन्छिन्, ‘यसले एन्टिबायोटिकको प्रयोग बढाउने सम्भावना पनि हुन्छ र असुरक्षित गर्भपतनका कारण पनि संक्रमण र एएमआरको जोखिम बढ्छ ।’

ड्रग–रेसिस्टेन्ट क्षयरोगबाट बचेकी तथा विश्व स्वास्थ्य संगठनको एएमआर सर्वाइभर टास्क फोर्स सदस्य भक्ति चाभानका अनुसार क्षयरोग र एचआईभी/एड्सजस्ता रोगसँग अझै पनि समाजमा ठूलो कलंक (स्टिग्मा) जोडिएको छ । ‘यस्ता रोग भएका महिलालाई बिरामी मात्र नभई परिवारको इज्जत बिगार्ने व्यक्तिका रूपमा पनि हेर्ने गरिन्छ,’ उनी भन्छिन्, ‘त्यसैले धेरै महिलाहरू रोग लुकाउँछन्, परीक्षण ढिलाइ गर्छन्, गोप्य रूपमा औषधि सेवन गर्छन् वा उपचार बीचमै छोड्ने गर्छन् ।’

दक्षिण अफ्रिकाको केप टाउन विश्वविद्यालयकी सहप्राध्यापक डा. एस्मिता चारानीले समाजमा स्रोत र स्वास्थ्य सेवामा पहुँच कम भएका समुदायमा रोगको भार बढी हुने बताउँछिन् । ‘स्वास्थ्य सेवामा पनि शक्ति असमानता हुन्छ, जसमा महिला प्रायः कमजोर अवस्थामा हुन्छन्,’ उनी भन्छिन्, ‘धेरै महिलाहरूले आफ्नो स्वास्थ्य आवश्यकतालाई परिवारका अन्य सदस्यको आवश्यकताभन्दा पछि राख्ने गर्छन्, अस्पतालमा पनि उनीहरू प्रायः आफैं उपचार खोज्नभन्दा परिवारका सदस्यको हेरचाह गर्न आउने गरेको पाइन्छ ।’

इन्डियन स्कुल अफ बिजनेसकी अनुसन्धान वैज्ञानिक डा. दीपशिखा भटेझाका अनुसार महिनावारीसँग सम्बन्धित सामाजिक मान्यता, हेरचाहको जिम्मेवारी, महिलाले गर्ने कामको सिमितता, छोरा प्राथमिकता, गर्भावस्था तथा आर्थिक स्रोतमा नियन्त्रणजस्ता कारणहरूले महिलाको शिक्षा, सचेतना र स्वास्थ्य सेवामा पहुँच कम बनाउँछिन् । परिणामस्वरूप उचित परीक्षण र उपचार नपाएर एन्टिबायोटिकको गलत प्रयोग बढ्ने सम्भावना हहुने उनको ठहर छ ।

प्यान अरब वुमन फिजिसियन एसोसिएसनकी संस्थापक अध्यक्ष डा मेइस्सम अक्रुशका अनुसार महिलाले एन्टिबायोटिकको सही प्रयोगमा महत्वपूर्ण भूमिका खेल्न सक्छन् । ‘महिला आमा, शिक्षक, स्वास्थ्यकर्मी तथा फार्मेसीमा काम गर्ने व्यक्तिका रूपमा समाजको केन्द्रमा हुन्छन्,’ उनी भन्छिन् ‘महिलाहरूलाई लक्षित गरेर सचेतना अभियान सञ्चालन गरेमा एन्टिबायोटिकको सही प्रयोगबारे ठूलो जनसंख्यामा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ ।’

ग्लोबल एएमआर मिडिया एलायन्सकी अध्यक्ष शोभा शुक्लाले महिला हिंसाका कारण एएमआरको समस्या बढी हुनु दुःखद् भएको बताइन । यसलाई कम गर्न समाजबाट हिंसा हट्नुपर्नेमा जोड दिइन ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ