२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यबर्दियाका २९ सयमा सिकलसेल एनिमिया भएको पुष्टि

बर्दियाका २९ सयमा सिकलसेल एनिमिया भएको पुष्टि


काठमाडौं— थारु समुदायमा बढी देखा पर्ने सिकलसेल एनिमियाको संक्रमण बढ्दैं गएको छ । चिकित्सकहरुका अनुसार सिकलसेल एनिमिया एक किसिमको रगतसम्बन्धी वंशानुगत रोग हो ।

बर्दिया जिल्लाको बारवर्दिया नगरपालिकामा २५ हजार जनसंख्याको नमुना संकलन गर्दा ११.६ प्रतिशत अर्थात २९ सयमा सिकलसेल एनिमिया देखिएको हो । नेपाल सरकारले लिएको सक्रियता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले एक वर्ष लगाएर तयार पारेको प्रतिवेदनले सो क्षेत्रका अत्याधिक जनतामा सिकलसेल एनिमिया भएको देखाएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अध्यक्ष डा. अन्जनीकुमार झाले बारवर्दियाको जम्मा २५ हजार जनसंख्यामा सिकलसेल एनिमिया परिक्षण गरिएको बताए । ‘सिकलसेल एनिमिया आमाबावु दुवैमा भए सन्तानमा पनि संक्रमित हुने गर्छ,’ अध्यक्ष डा. झाले भने, ‘अनुसन्धानमा आमाबावु दुवैमा सिकलसेल एनिमिया देखिएको छ ।’

१ वर्षदेखि ३९ वर्ष उमेर समूहमा यसको परीक्षण गरिएको थियो । सबै नमुना वीर अस्पतालमा परीक्षण गरिएको हो । त्यसका लागि सरकारले दुई करोड रुपैयाँ विनियोजन गरेको थियो ।

मृत्यु बढी

सिकलसेल एनिमिया भएको व्यक्तिको मृत्यु हुने दर बढी देखिएको छ । वीर अस्पतालकी वंशाणुगत रोग विशेषज्ञ डा. निलम ठाकुरले सिकलसेल एनिमिया भएका बिरामीको मृत्युको दर पनि निकै बढी हुने बताइन् । ‘उनीहरुले स्वास्थ्यका बारेमा ध्यान दिदैनन्,’ डा. ठाकुरले भनिन्, ‘बच्चाहरु बिरामी हुन्छन् तर के रोग लागेको हो भन्नेबारे जानकारी राख्दैनन् । जसले गर्दा मृत्युदर बढी हुन्छ ।’

रगतको कोषिकामा क्रोमोजोम र जीन हुन्छ । तिनमा खराबी आएको खण्डमा सिकलसेल एनिमिया हुन्छ । सिकलसेल एनिमिया रगतको रातो रक्तकोषभित्र रहने र हेमोग्लोबिनलाई असर पार्ने वंशानुुगत रोग हो ।

राज्यको निःशुल्क स्वास्थ्य उपचार

‘सिकलसेल एनिमिया वंशाणुगत रोग भएकाले उपचारका माध्यमबाट निर्मुल पार्न सकिदैंन् । रोग नियन्त्रण गर्न मात्रै सकिन्छ,’ डा. ठाकुर भन्छिन् । उनका अनुसार सिकलसेल एनिमिया देखिने र लुकेको अवस्थामा हुन्छ । सरकारले यो रोग लागेका बिरामीका लागि एक लाखको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरेको छ ।

थारु समुदायभन्दा बाहिरका ब्यक्तिलाई पनि सिकलसेल एनिमिया रोग देखा पर्न सक्छ । ‘स्वास्थ्य उपचारमा ध्यान नदिने हुँदा थारु समुदायमा बढी देखिएको हो,’ डा. ठाकुर भन्छिन् । यसको परीक्षण विभिन्न अस्पतालमा भएपनि सरकारले पूर्ण रुपमा सुविधाको व्यवस्था भने वीर अस्पतालमा गरेको छ ।

सिकलेस एनिमियाले निम्त्याउने जटिलताहरू

  •  सहनै नसक्ने गरी शरीरका अंगहरुको दुखाइ हुनु
  •  कलेजो ठूलो हुनु
  •  रगतको कोषिका जहाँ छन् त्यही रोग लाग्नु
  •  वाकवाक लाग्नु
  • जण्डिस हुनु
  •  अत्याधिक ज्वरो र झाडापखाला हुनु
  •  पक्षघात हुनु
  •  मुटुको समस्या
  •  रक्त अल्पता आदि ।

क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ