२०८१ वैशाख २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्य‘बाथ रोगबाट बच्न जीवशैली सुधार्नै पर्छ’

‘बाथ रोगबाट बच्न जीवशैली सुधार्नै पर्छ’


काठमाडौं– आज नेपालसहित विश्वभर विश्व बाथ रोग दिवस मनाइँदै छ । यस वर्ष ‘जीवनका हरेक चरणमा आरएमडीसँगै बाचौँ’ भन्ने नाराका साथ दिवस मनाइँदै छ । आरएमडी अर्थात्  र्‍युम्याटिक एण्ड मस्कुलोस्केलेटल डिजिज  हाड जोर्नी र मांसपेशी दुख्ने समस्या हो ।

यस दिवसका दिन नेपालमा बाथ रोग सम्बन्धी जनचेतना फैलाउने कार्यक्रमहरू गरिँदै आइएको छ । पछिल्लो समय नेपालमा बाथ रोग सम्बन्धी विभिन्न किसिमका समस्या लिएर अस्पताल धाउने बिरामीको सङ्ख्या पनि बढ्दो देखिन्छ ।

बाथ रोगको प्रकार धेरै भएकाले यसले हाड जोर्नी बाहेक मुटु, मिर्गौला, फोक्सो, टाउको, कलेजो लगायतका शरीरको भित्री अङ्गलाई पनि असर पार्ने गर्छ । तर समयमै उपचार पाए ९५ प्रतिशत यो रोग निको हुने बाथ रोग विशेषज्ञ डा. अभिलाषा शाह बताउँछिन् ।

बाथ रोग कसरी  लाग्छ  र यसबाट बच्ने उपाय के छन् ? भन्नेबारे लोकहित बाथ रोग उपचार केन्द्र भैसेपाटी, नर्भिक हस्पिटल तथा अल्का अस्पताल ललितपुरमा  कार्यरत बाथ रोग विशेषज्ञ डा. शाहले हेल्थ आवाजसँग गरेको कुराकानी:

बाथ रोग भनेको के हो ?

बाथ रोग एक प्रकारको अटोईम्युन डिजिज हो ।  अटोईम्युन डिजिज भन्नाले हाम्रो शरीरको रोग निरोधक शक्तिले जब आफ्नै शरीरको अङ्गमा असर पार्न थाल्छ त्यस बेला अटो अटोईम्युन डिजिज सुरु हुन्छ । यो दीर्घकालीन रोग हो ।

यो एकै प्रकारको मात्रै हुँदैन । यसका एक सय भन्दा बढी प्रकारहरू हुन्छन् । कुनै बाथ वंशाणुगत हुन्छ भने कुनै चाहिँ अटोइम्युन सिष्टममा हुने गडबडीका कारण हुन सक्छ । कोही कसैको बाबु आमामा बाथ छ भने छोराछोरीमा नहुन पनि सक्छ ।

यो रोग हर्मोनको गडबडीका कारण पनि हुन सक्छ । जसले गर्दा आफ्नै इम्युन सिष्टमले रोगसँग नलडेर आफ्नै शरीरलाई बिगार्न थाल्छ । त्यो पनि एक प्रकारको बाथ हो । त्यस्तै अर्को फेरी उमेरसँग सम्बन्धित हुन्छ । जुन चाहिँ हड्डीहरू खिइने, जोर्नीहरू खिइने खालको बाथ हुन्छ । कोही मांसपेशी दुख्ने, झमझमाउने पोल्ने हुन्छ ।

लक्षणहरू

बाथ रोगमा देखिने लक्षणहरूमध्ये एउटा आर्थराटिस हो । यो भनेको जोर्नीहरू दुख्ने, हातका औँलाहरु दुख्ने वा सुन्निने, बिहान उठ्ने बेलामा हात खुट्टा अरट्ठ हुने हुन्छ ।

त्यस्तै अर्को भनेको हिँड्दा दुख्ने, भर्‍याङ उक्लँदा वा ओर्लिदा दुख्नेजस्ता लक्षणहरू देखिने चाहिँ खिइएर हुने बाथ हो । जुन उमेरसँग सम्बन्धित र मोटा व्यक्तिहरुमा बढी देखिन्छ ।

बाथमा देखिने अरू लक्षणहरू बारम्बार ज्वरो आउने, खकारमा रगत देखिने, घाममा जाँदा अनुहार रातो हुने, मुखमा घाउ आउने, आँखा रातो तथा सुख्खा हुने, हातखुट्टा झमझम गर्ने, पोल्ने, छालामा समस्या आउने यी सामान्य रुपमा देखिने लक्षणहरू हुन् ।

बाथ रोग कुन उमेर समूहका व्यक्तिमा बढी देखिन्छ ?

बाथ रोग जुनसुकै उमेरमा देखिन्छ । अधिकांश ३० वर्षदेखि ५५ वर्ष माथिका व्यक्तिहरूलाई धेरै देखिएको छ । यो रोग सानो बच्चामा पनि देखिन्छ । बच्चाहरूमा पनि जोर्नीहरू दुख्ने, कक्रक्क पर्ने, बेडबाट उठ्दा गाह्रो हुने, बारम्बार ज्वरो आउने, तौल घट्दै जाने औषधीहरू खाँदा पनि बिमार निको नहुने जस्ता समस्याहरू बच्चाहरूमा हुन्छन् ।

बच्ने उपायहरु

बाथ रोग लाग्नै नदिने उपाय र यही कारण हो भन्ने पनि पत्ता लागेको छैन । सुरुवाती लक्षण देखिने बित्तिकै विशेषज्ञहरुलाई देखाउनुपर्छ । स्वस्थ खाना खाने तथा जीवशैली परिवर्तन गर्नुपर्छ ।

बाथलाई बढ्न नदिने सबैभन्दा राम्रो उपाय स्वस्थ जीवशैली यापन नै हो । मदिरा तथा धुम्रपान सेवन गर्ने बानी छ भने तुरुन्तै त्यस्तो बानी त्याग्नुपर्छ ।

बाथको समयमै उपचार गर्न सकियो भने ९५ प्रतिशत यो रोग निको हुन सक्छ । समयमै उपचार नगरे यसले मिर्गौलामा असर पुग्ने, हड्डि/जोर्नी खिइने तथा बाङ्गो हुन गई अपाङ्ग समेत बनाउन सक्छ । त्यसैले बाथ रोग सम्बन्धी जनचेतना फैलाउन आवश्यक छ ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ