२०८० फागुन १६, बुधबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यनाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभाको सल्लाहः जाडोमा के गर्ने, के नगर्ने ?

नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभाको सल्लाहः जाडोमा के गर्ने, के नगर्ने ?


डा. शोभा महर्जन नाक, कान तथा घाटी रोग विशेषज्ञ हुन् । बुढानिलकण्ठ चुनिखेलस्थित करुणा अस्पतालकी मेडिकल निर्देशकसमेत रहेकी उनी यसअघि नेपाल मेडिकल कलेज अत्तरखेलमा प्राध्यापन तथा उपचारमा संलग्न थिइन् । लामो समयदेखि बिरामी सेवामा तल्लीन डा. शोभासँग चिसोमा नाक, कान, घाँटीमा देखिने स्वास्थ्य समस्याका विषयमा केन्द्रीत रहेर हेल्थआवाजले गरेको कुराकानीः

चिसोमा नाक, कान, घाँटीका स्वास्थ्य समस्याबाट कसरी बच्न सकिन्छ ?
जाडो महिना आउने बित्तिकै विशेषतः वातावरण र तापक्रम परिवर्तन हुन्छ । यो परिवर्तन हुने बित्तिकै हाम्रो शरीरले शरीरको र बाहिरी वातावरणको तापक्रमसग सन्तुलन गनुपर्ने हुन्छ । जुन हावा श्वास लिँदा नाकको माध्यमबाट लिन्छौं, नाकको भित्री भागले त्यो तापक्रम सन्तुलनको कार्य गर्दै छातीसम्म पु¥याउने काम गर्दछ ।

तर, जब बाहिरको तापक्रम भित्रभन्दा कम हुन्छ, तब नाकले गर्ने काम बढ्छ । यसलाई भार परेर रक्तनलीहरु पनि फुल्ने गर्छन्, नाकको भित्र सुख्खा हुन्छ । नाक भित्रको छालाहरु पाप्रा बनेर फुटेर रगत पनि बग्ने गर्छ । त्यस्तै, हामीले जाडोको समयमा प्रयोग गर्ने विभिन्न किसिमका तापक्रम दिने विद्युतीय उपकरण तथा आगो ताप्ने क्रियाले आर्दता बढ्दै सुख्खा हावाको कारण चाहिने तापक्रम नपुगेपछि नाकलाई झनै बोझ पर्छ ।

यसरी नाक बन्द हुन्छ । त्यसपछि मुखले श्वास लिनुपर्ने हुन्छ र मुखले श्वास लिँदा घाँटी सुक्ने र श्वास लिन असहज महसुस हुने गर्दछ । मौसमले सुरुमै कानमा असर नगरेतापनि अत्याधिक चिसो हुँदा कानमा रक्तसंचार रोकिन्छ र एक किसिमको एकोहोरो आवाज बजिरहेको महसुस हुन्छ । मर्निङवाकमा जाँदा विशेषतः यस्तो हुने गर्दछ । यो विशेषतः तापक्रमको कारण भयो । तर, अर्को भनेको रुघाखोकी बढी देखिने गर्छ ।

चिसो बढ्ने बित्तिकै रुघाखोकीको समस्या बढ्नुको कारण के हो ?
विशेषतः तापक्रम आउने फेरबदल हो । तापक्रमसँग लड्ने हाम्रो शरीरको छाला नै हो । तर, तापक्रमका कारण किटाणुले हाम्रो छालाको रोक्ने तहलाई पनि तोड्दै शरीरभित्र पस्ने गर्छ । त्यसैले, यो मौसममा घाँटी दुख्ने समस्या पनि देखिन्छ । साथै, चिसोमा मर्निङ वाक जाने, बाइकमा हिँड्ने गर्दा यो समस्या बढी हुन्छ । चिसोमा हिँड्दा शरीरको छालाबाट केही अवरोध नभएपछि कतिपयलाई चिसोको एलर्जी सुरु हुन्छ भने घाँटी दुख्ने, चिलाउने तथा हाँछयु आउनेजस्ता कुराहरु हुने गर्छन् ।

चिसोको एलर्जीका लक्षण्हरु के-के हुन् ?
चिसो हुनेबित्तिकै नाकबाट पानी आउने, चिलाउने, हाँछ्यु आउने बन्द हुने तथा खसखस हुने आदि हुन्छ । तर, एलर्जी हुने व्यक्तिलाई नाक र मुखमा मात्रै नभएर शरीरको अन्य भागमा पनि एलर्जी हुने गर्छ । नाक र फोक्सोको प्रत्यक्ष सम्बन्ध भएकाले एलर्जी भएकोलाई चिसोमा जाने बित्तिकै दम बढ्ने समस्या पनि हुन्छ । नाकको एलर्जी र दम हुने प्राय सँगसँगै भइरहने हुन्छ ।

जाडोमा नाक, कान, घाँटीको ख्याल कसरी गर्न सकिन्छ ?
हामीले हिटरजस्ता प्रविधिको उपयोग गरेर आफ्नो वरपरको तापक्रम जोगाइराख्ने प्रयास गरिरहेका हुन्छौं । त्यो हिटरको अगाडि ह््य्मिडीफायर तथा पानीका भाँडोहरु राख्ने गर्नुपर्छ । भर्खरै जन्मिएका एक वर्षभन्दा मुनिका बच्चाहरुलाई जाडोमा झनै समस्या हुने गर्छ । बच्चाहरुको नाक बन्द भयो, दुध खाएन भन्दै ल्याउनेहरु पनि हुनुहुन्छ । जाडो भयो भनेर हिटरहरु बालिन्छन् । तर, त्यसको सुख्खापनले झनै समस्या निम्त्याउने गर्छ ।

तापक्रमसँगै मोइश्चर पनि हुन जरुरी हुन्छ । न्यानोका लागि मास्क, गलबन्दी, टोपी र मोजाहरु लगाउनुपर्छ । अहिले पानी नपरेका कारण धुलोका कणहरु व्यवस्थित भएका छैनन् । वातावरण पनि दुषित नै छ । यस्तोमा मर्निङ वाक नगर्न पनि सुझाव दिइन्छ । बिहान ९ बजेसम्म दुषित धुलोहरु उडिरहने भएकाले मर्निङवाक नजादा राम्रो हुन्छ । पानी प्रशस्त पिउने गर्नुपर्छ । किनकी पानी पिउनाले घाँटी सुख्खा हुने सम्भावना कम हुन्छ । तर, रुघाखोकी लागेको खण्डमा मास्कको प्रयोग गर्दै सकेसम्म घरेलु उपचारले निको पार्ने प्रयास गर्नुपर्छ । यदि त्यसले मात्रै भएन भने औषधीहरुको सेवन गर्ने र स्थिती खराब हुँदै गएको खण्डमा तुरुन्तै अस्पताल जाने गर्नुपर्छ ।

रुघाखोकी लागेको समयमा घरेलु उपचार के-के हुन सक्छ ?
रुघा लागेको बेलामा हामीले सानैदेखि प्रयोग गर्ने भनेको बेसार पानी नै हो । बेसारलाई एन्टिसेप्टीक पनि भनिन्छ । तातो पानीको बाफ लिने गर्नुपर्छ । तर, बाफ लिँदा पनि ध्यान दिनुपर्ने हुन्छ, नसाहरु फुलिरहेको समयमा बाफ लियो भने रक्तनली फुटेर रगत पनि आउन सक्छ ।

जाडोमा हाँछ्यु के कारणले आउँछ ?
हाँछ्यु एउटा सुरक्षात्मक संयन्त्र हो किनकी हाम्रो नाकले हत्तपत्त कुनैपनि डस्टहरुलाई सहजै शरीरभित्र पस्न दिँदैन । कुनै कारण त्यो पसिहाल्यो भनेपनि हाँछ्युमार्फत बाहिर निक्लने गर्छ । ती कणहरुलाई निकाल्नको लागि नै हाँछ्यु आउने गर्छ । तर, एलर्जी हुनेहरुलाई चाहिँ यो पटक—पटक हुने गर्छ । यो एउटा सुरक्षा गर्ने तह हो ।

(२०७९ माघ १ गते पहिलोपटक प्रकाशित यो अन्तर्वार्ता पाठकहरुलाई उपयोगी हुने ठानेर पुनः प्रकाशन गरिएको छ । सं.)


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ