२०८१ असार ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यढाडको नसा च्यापिएको उपचारमा नयाँ आयाम-युबीई (UBE)

ढाडको नसा च्यापिएको उपचारमा नयाँ आयाम-युबीई (UBE)


प्रोलाप्सड इन्टरभर्टेब्रल डिस्क (PIVD), जसलाई हर्नियेटेड वा स्लिप्ड डिस्क पनि भनिन्छ, यो समस्या तब हुन्छ जब इन्टरभर्टेब्रल डिस्कको भित्री जेल-जस्तो कोर (न्यूक्लियस पल्पोसस) यसको बाहिरी तह (एनुलस फाइब्रोसस)मार्फत बाहिर निस्कन्छ ।

जसले नजिकको स्नायुहरूलाई दबाउन सक्छ । विभिन्न कारणहरूले गर्दा यी क्षतिग्रस्त डिस्कहरूले मेरुदण्डको स्नायुहरूलाई च्याप्न वा दबाउन सक्छन् । यसलाई हर्नियेटेड डिस्क भनिन्छ । यसलाई तलको तस्बिरले स्पष्ट पार्न सकिन्छ ।


उमेर बढेसँगै हड्डीको क्षयसग (Degeneration), हर्नियेटेड डिस्कको जोखिम बढाउने कारकहरूमा स्थिर जीवनशैली पर्ने गर्दछ । लामो समयसम्म एकै ठाउँमा बसिरहनु हर्नियेटेड डिस्कको एउटा कारण हुन सक्छ र हर्नियेटेड डिस्कका लक्षणहरूलाई झन् खराब बनाउँछ । शारीरिक रूपमा मेहनत लाग्ने काम गर्ने व्यक्तिहरूमा तान्ने, धकेल्ने, उठाउने र झुक्नेजस्ता दोहोरिने क्रियाहरूको कारण पिठ्युँको समस्याको जोखिम बढी हुन्छ । धेरै तौल बोक्दा तल्लो पिठ्युँका डिस्कहरूमा तनाव पर्छ, जसले डिस्क हर्नियेसन र मेरुदण्ड स्नायु दुखाइको कारण बन्न सक्दछ । धूम्रपानले डिस्कहरूलाई अक्सिजन आपूर्ति कम गराउँछ, जसले गर्दा ती छिट्टै बिग्रिन सक्छन्।

उपचारका विकल्पहरूमा आराम, शारीरिक थेरापी (Physiotherapy) र औषधिहरू आधा पर्दछन भने जटिल अवस्थाहरूमा एपिड्यूरल स्टेरोइड इन्जेक्सन र शल्यक्रियाजस्ता अधिक आक्रामक उपायहरूसम्म पर्छ। उपचारपछिको पुनर्स्थापना (Rehabilitation) महत्त्वपूर्ण हुन्छ ।

अप्रेसनका विभिन्न तरिकाहरु मध्ये एकपक्षीय द्विपोर्टल इन्डोस्कोपिक स्पाइन सर्जरी (UBE ) दुरबिनबाट गर्ने सबैभन्दा अत्याधुनिक प्रविधि हो, जसको बारेमा हामी विस्तृतमा जानकारी दिदैछौ ।यो प्रविधिले पुराना शल्यक्रिया बिधिहरु भन्दा कसरी फाइदाजनक छ भन्ने विषयमा जानकारी दिनेछौं ।

१. दुरबिन प्रविधिबाट गर्ने एकतर्फी द्विपोर्टल इन्डोस्कोपिक स्पाइन सर्जरी (UBE) के हो?

यो प्रबिधि मेडिकल क्षेत्रको नया प्रबिधि हो । एस प्रविधिको माध्यमबाट मेरुदण्डको नशा च्यापिएको, नशाको घर साँघुरिएको (स्पाइनल कानल स्टेनोसिस), र मेरुदण्ड बांगो तथा मेरुदण्डसँग सम्बन्धित विभिन्न रोगको सानो प्वाल बनाएर शल्यक्रिया गरिन्छ । यो प्रविधिबाट उपचार गर्दा बिरामीको दुखाइ पनि कम हुने गर्दछ ।

२. एकतर्फी द्विपोर्टल इन्डोस्कोपिक स्पाइन सर्जरी (UBE ) कसरी गरिन्छ?

एकतर्फी द्विपोर्टल इन्डोस्कोपिक स्पाइन सर्जरी (UBE ) को समयमा, शल्यचिकित्सकले विशेष उपकरणहरू र एन्डोस्कोप, क्यामेरा र प्रकाशसँग जोडिएको पातलो, लचिलो ट्यूब प्रयोग गर्छन् ।

एक्स-रे गरिसकेपछि कुन ठाउँमा पुग्ने हो त्यो ठाउँमा पुगी यो ट्यूबले मेरुदण्डभित्र के भएको छ त्यो सबै स्पष्ट रुपमा देखाउने गर्दछ (Photo n0-2) । त्यसपछि सर्जनले बिग्रिएको तन्तुलाई त्यहाँ बाट हटाउने गर्दछ (Photo-3। त्यसपछि मेरुदण्डको भार पनि कम हुने गर्दछ र अप्रेसन पछि बिरामीलाई सजिलो हुने गर्दछ ।


३. एकतर्फी द्विपोर्टल इन्डोस्कोपिक स्पाइन सर्जरी (UBE ) का फाइदाहरू के-के रहेका छन् त ?

• मिनिमल इन्भेजिब सर्जरी: UBE लाई पूरानो शल्यक्रिया विधिको तुलनामा साना चिराहरु बनाएर शल्यक्रिया गरिन्छ। जसको गर्दा बिरामीको तन्तुमा पनि कम क्षति पुग्दछ । शल्यक्रिया गर्दा बिरामीहरुमा रगत पनि कम बग्ने र चाँडो निको हुने गर्दछ ।
• दुखाइ कम हुने : बिरामीहरुले अप्रेसन पश्चात दुखाइ पनि कम भएको महसुस गर्ने गर्दछन् ।
• जटिलताहरूको कम जोखिम: सानो प्वाल बनाएर सल्यक्रिया गरिने हुनाले संक्रमण र तन्तुहरुमा पनि कम मात्रामा क्षति पुग्दछ ।
• बिरामीलाई शल्यक्रिया गरिसकेपछि लामो समय अस्पतालमा बस्नु नपर्ने : बिरामीको अवस्था हेरी शल्यक्रिया गरेको सोही दिन नै पनि घर जान सकिने ।

४. एकतर्फी द्विपोर्टल इन्डोस्कोपिक स्पाइन सर्जरी (UBE) कस्ता बिरामीहरुलाई गर्ने ?

इन्डोस्कोपिक स्पाइन सर्जरी मेरुदण्डमा समस्या भएका धेरै बिरामीहरुलाई गर्ने गरिन्छ । यो विधिबाट क-कसलाई सर्जरी गर्ने भनेर सर्जनले निर्णय गर्दछन् ।

प्राय अप्रेसन गर्नुपर्ने बिरामीहरुमा नसा च्यापिएका, मेरुदण्ड बाङ्गिने, ट्युमर भएका र दुर्घटना भएका बिरामीहरुको यो प्रविधिबाट शल्यक्रिया गरी पूर्ण रुपमा निको पार्ने गरिन्छ ।

५. रिकभरी तथा पुनर्स्थापना :

इन्डोस्कोपिक स्पाइन सर्जरीपछि केही दुःखी अनुभव गर्ने गर्दछन तर यो दुखाइ लामो समयसम्म भने हुँदैन् । बिरामीहरुलाई केहि दिनमा नै सामान्य जीवनमा फर्कनका लागि चिकित्सकहरुले शारिरीक अभ्याससहित बल र गतिशिलतालाई पुन: प्राप्ति गर्न फिजियोथेरापी गर्न लगाइन्छ ।

६ .फलो-अप तथा हेरचाह:

बिरामीहरु आफूलाई कस्तो भइरहेको छ भनेर नियमित रुपमा आफ्नो सर्जनलाई भेटिराख्नु पर्दछ । कुनै पनि शारीरिक जटिलता उत्पन्न नहोस् भन्नको लागि र आफ्नो नियमित जीवनशैलीलाई पहिलाको अवस्थामा फर्काउनका लागि आफ्नो आफ्नो सर्जनको आदेशलाई पूर्ण रुपमा पालना गर्नु पर्दछ ।

(त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)बाट न्यूरो सर्जरीमा एमसीचएच गरेका लेखक डा. काफ्ले ब्रेन तथा स्पाइन सर्जन समेत हुन् । उनी नोबेल मेडिकल कलेज शिक्षण अस्पतालको न्यूरो सर्जरी विभागको सहप्रधाध्यापक तथा विभागीय प्रमुख पनि हुन् ।)


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ