२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलराष्ट्रपतिदेखि पूर्वराजासम्मको मुटुको उपचार गर्ने डाक्टर

राष्ट्रपतिदेखि पूर्वराजासम्मको मुटुको उपचार गर्ने डाक्टर

जो मुटुका नसा खोल्न रमाउँछन्


११ वर्षदेखि निरन्तर राष्ट्र प्रमुखका चिकित्सक । पूर्वराजा ज्ञानेन्द्र शाहदेखि पूर्वयुवराज पारस शाहसम्मको मुटुको एन्जीओप्लास्टिक । त्यसबाहेक पनि थुप्रै भीभीआईपीहरुको मुटुको उपचार गर्ने सौभाग्य प्राप्त गर्ने चिकित्सक हुन्— वरिष्ठ मुटुरोग विशेषज्ञ तथा इन्टरभेन्सनल सर्जन डा. यादवदेव भट्ट । उनले हासिल गरेको सीपले हजारौं सर्वसाधारण मुटु रोगका बिरामीलाई नयाँ जीवन दिएको छ ।

नेपाली चिकित्सा जगतमा मुटुको उपचारमा इन्टरभेन्सनल (बिना चिरफार गरिने उपचार) पद्धति भित्र्याउने कामको नेतृत्व पनि डा भट्टले नै गरेका हुन् । पछिल्ला १७ वर्षमा डा. भट्टले यही प्रविधीमार्फत हजारौं नेपालीको मुटुको सफल उपचार गरिसकेका छन् । यो अवधिमा उनले झण्डै ५ हजार बढीको कोरोनरी एन्जोजिओग्राफी, झण्डै ४ हजार हाराहारीमा कोरोनरी एन्जिओप्लाष्टिक तथा स्टेन्ट प्रत्यारोपण, १ हजार बढीको माइट्रल भल्भोटोमी गरेका छन् ।

यस्तै, सयौंको मुटुमा एओर्टिक एण्ड पल्मोनरी भल्भोटोमी, पेसमेकर, एसडी, पीडिए डिभाइस क्लोजरजस्ता थुप्रै इन्टरभेन्सनल प्रक्रिया सफलतापूर्वक सम्पन्न गरिसकेका छन् । त्यसबाहेक नेपालमा इन्टरभेन्सनलजस्तो उच्च प्रविधिको उपचार पद्धतिको विकास र प्रवद्र्धनमा पनि उनी सक्रिय छन् ।

डा. भट्ट सन् १९६४ मा काठमाडौंको प्रसुती गृहमा जन्मिएका हुन् । बुवा चित्रदेव भट्ट र आमा हेमकुमारी भट्टको पहिलो सन्तानका रुपमा उनको जन्म भएको हो । उनका बुवा इन्जिनियर थिए, आमा हाउस वाइफ । पुख्र्यौली घर बैतडी भएका उनका हजुरबुवा महादेव भट्ट आफ्नो समयका चर्चित न्यायाधीस थिए । उनका बुवा पनि उतिकै कहलिएका इन्जिनियर । अहिले पनि कयौं बिरामीहरु उनका बुवाको नाम लिएर उनी कहाँ उपचारका लागि आइपुग्छन् ।

डा. भट्टको घर बत्तीसपुतलीमा थियो । परिवारको राम्रो आर्थिक अवस्थाका कारण उनको बाल्यकाल सुखमय बित्यो । कक्षा ४ सम्म उनले भानुभक्त मेमोरियल स्कुलमा अध्ययन गरे । लगतै, बुढानिलकण्ठ स्कुल खुल्यो । तत्कालीन शाही परिवारले बेलायती मोडलमा शिक्षा दिनका लागि सुरु गरेको बुढानिलकण्ठ स्कुलमा उनले पहिलो ब्याचमै प्रवेश पाए । ‘हामी बुढानिलकण्ठको पहिलो ब्याचका विद्यार्थी हौं,’ उनी भन्छन्, ‘हाम्रो ब्याचका ७०—७२ जना इन्ट्रान्सबाट छानिएको थियो ।’ बुढानिलकण्ठमा पढ्नेहरुका लागि कलेजभित्रको होस्टेलमा खानबस्नको प्रबन्ध थियो । डा. भट्ट पनि कक्षा १० सम्म नै होस्टेलमा बसेर पढे । ‘खेत कसरी खन्नेदेखि कसरी पढ्ने भन्नेसम्मका सबै कुरा सिकियो,’ उनी बुढानिलकण्ठ बसाइँको स्मरण गर्छन् ।

बुढानिलकण्ठ सबै किसिमका तालिम हुन्थे । डा. भट्ट त्यही तालिमका कारण अहिले आफूले जीवनको भ्यालू सम्झेको उल्लेख गर्छन् । ‘त्यतिबेला त्यो ट्रेनिङ राम्रो लाग्दैन्थ्यो, अहिले त्यही ट्रेनिङले जीवन यस्तो बन्यो,’ उनले भने । बुढानिलकण्ठमा उनको सबैभन्दा रुचि फुटबलमा थियो । त्यसबाहेक बाँस्केटबल, सर्ट रनिङ पनि उनी मन पराउँथे । मनकामना केबुलकारका सञ्चालक राजेशबाबु श्रेष्ठ, शिक्षणका विभागीय प्रमुख डा. द्वारिका श्रेष्ठलगायतका उनका ब्याची हुन् । वुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर वस्नेत भने उनीभन्दा एक ब्याच जुनियर ।

डा. भट्ट पढाइमा एभरेज स्टुडेन्ट थिए । तर, उनको मेहनत गर्ने बानी थियो । स्कुल पढ्दा उनलाई सबैभन्दा मनपर्ने विषय अंग्रेजी र विज्ञान थियो । वि.सं. २०३६ सालमा उनले बुढानिलकण्ठबाट एसएलसी उत्तीर्ण गरे । चिकित्सक बन्ने सपना बनाएका डा. भट्ट त्यसपछि विज्ञान पढ्न अमृत साइन्स क्याम्पस गए । दुई वर्षमा अमृत साइन्स क्याम्पसबाट आईएस्सी उत्तीर्ण गरे । ‘त्यो बेला बत्तीसपुतली घरबाट कलेज साइकलमा आउजाउ गर्थे,’ उनी सम्झन्छन्, ‘झण्डै २० मिनेट जति लाग्थ्यो ।’

आईएस्सी सकेपछि उनी एमबीबीएस गर्नका लागि दक्षिण भारतको तमिलनाडू गए । तमिलनाडूको मदुराई मेडिकल कलेजबाट उनले सन् १९८८ मा एमबीबीएस उत्तीर्ण गरे । साढे चार वर्षको पढाइ र एक वर्ष इन्ट्रान्स गरी साढे पाँच वर्षमा त्यहाँ बिताएपछि डा. भट्ट नेपाल फर्किए । नेपाल आएपछि वीर अस्पतालमा भोलिन्टीयर गर्न थाले । पछि उनी अस्पताल विकास समितिको जागिरे भए । त्यही क्रममा उनी वीर अस्पतालको रजिष्ट्रारसम्म भए । वीरमा रहँदा उनले एकेडेमिक काममा पनि सघाए ।

डेढ वर्षमा वीरको जागिर छोडेर उनी थप अध्ययनको तयारीमा जुटे । ‘एमबीबीएस गरेर मात्रै पुगेको थिएन, मलाई कार्डियोलोजीमा डिएम गर्नु थियो,’ डा. भट्ट भन्छन्, ‘कार्डियोलोजीमा डिएम गर्नुपूर्व मेडिसिनमा एमडी गर्नुपर्छ ।’ उनी इन्टरनल मेडिसिनमा एमडी गर्नका लागि चण्डीगढ गए । त्यहाँको पोष्ट ग्राजुयट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एण्ड रिसर्च (पिजीआईएमईआर) बाट उनले सन् १९९४ मा एमडी पास गरे । त्यहीबाट उनले सन् २००० मा कार्डियोलोजीमा डिएम सके ।

डा. भट्ट आफ्नो सीपलाई थप निर्खान चाहन्थे । त्यसका लागि फेलोसीप खोज्न थाले । त्यही क्रममा उनले भारतको प्रसिद्ध डिएनबी इन्टरभेन्सनल कार्डियोलोजी, नेशनल बोर्ड अफ एक्जामिनेसनअन्तर्गतको एस्कर्ट हार्ट इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरमा इन्टरभेन्सनल कार्डियोलोजीमा दुई वर्षे फेलोसीप गर्ने मौका पाए । त्यसका लागि उनी नयाँदिल्ली गए । सन् २००३ मा उनले त्यो फेलोसिपी पूरा गरेर नेपाल फर्किए ।

झण्डै १५ वर्ष त डा. यादवले चिकित्सा विज्ञानमा ज्ञान हासिल गर्नमै बिताए । यति लामो समय पढाइमा बिताएका डा. भट्टलाई घरबाट सदैव सहयोग प्राप्त भयो । भन्छन्, ‘मेरा मातापिता र बहिनीहरु सबैबाट सदैंव मेरो पढाइमा सपोर्ट भयो । साढे ५ वर्ष एमबीबीएस, तीन—तीन वर्ष एमडी र डिएम, २ वर्ष अर्को फेलोसीप गरी १३ वर्ष र सबै गरी १५ वर्ष त मैले मेडिसिन अध्ययनमै बिताए । मेडिसिन नै १५ वर्ष पढ्दा पनि घरबाट अब त सकिएन भनेर कहिल्यै सोधिएन ।’ त्यही सपोर्टकै बलमा अहिलेका प्रख्यात मुटुरोग विशेषज्ञ डा. यादवदेव भट्ट बनेका हुन् ।

के डा. भट्ट स्वयंमलाई यति लामो मेडिकल शिक्षा अध्ययन यात्रामा थकाइ महसुस भएन ? ‘अँह मलाई लागेन्,’ उनी भन्छन्, ‘मलाई सधैं पढ्नुपर्छ, नेपालमा कार्डियोलोजीमा राम्रो गर्नुपर्छ भन्ने लाग्थ्यो । त्यसैले मैले डिएम गरेपछि दुई वर्ष फेलोसीप गरे ।’ संयोग नै मान्नुपर्छ—सन् २००४ मा डा. भट्ट नेपाल फर्कने बेला र शहीद गंगालाल हृद्धयरोग केन्द्र विकास हुने समय लगभग उस्तै पर्न गयो । ‘मेरो भाग्य नै भनौं न त्यो बेला गंगालाल हस्पिटल बनेर माथि उठ्दैं थियो,’ उनले सुनाए, ‘डा. भगवान कोइराला, डा. मानबहादुर केसी, डा. दिवाकर शर्मालगायत हुनुहुन्थ्यो । मैले म आउँछु भन्दा सबैले वेलकम गर्नुभयो ।’

गंगालालमा मुटुको नशाको उपचार उनी आउनु अगावै सुरु भइसकेको थियो । तर, इन्टरभेन्सनल पद्धतिबाट उपचार नेपालमा भित्र्याउने काम भने उनले गरेका हुन् । डा. भट्ट गंगालालमा काम गर्न थालेपछि एन्जिओप्लास्टिक सेवा सुरु भयो, हर्टअट्याकटको उपचार सुरु भयो । त्यो बेला गंगालालको वातावरण पनि सहयोगी र मैत्री रहेको अनुभव उनले सुनाए । ‘सबैले पोजेटिभ रुपमा लिनुभयो, कसैले हामीभन्दा ठूलो बन्ला भन्ने भावना राख्नुभएन्,’ उनी भन्छन्, ‘डा. शर्मा, डा. कोइराला र डा. केसीहरु सबैले गर्नुपर्छ भनेर प्रोत्साहन दिनुभयो ।’ डा. भट्टले नै नेपालको पब्लिक सेन्टर शहीद गंगालालमा सन् २००४ मा नेपालमै पहिलो पटक एन्जीओप्लास्टिक सेवा सुरु गरे ।

युवा जोश बोकेर फर्किएर उनी अस्पतालमा रातदिन खट्न थाले । उनको खटाइलाई त्यो बेलाको गंगालालमा रहेका सबै अग्रज र सहकर्मीहरुले पोजेटिभ रुपमा लिएर सपोर्ट गरे । ‘त्यसको श्रेय सबैलाई जान्छ,’ उनी भन्छन्, ‘मैले मात्र गरेको होइन् । हाम्रो देशमा नचाहेको कुरा ब्लक गर्न सक्छन् । तर, त्यहाँ त्यस्तो वातावरण भएन ।’ डा. भट्टले एन्जीओप्लास्टिकदेखि बच्चाको मुटुको प्वाँल टाल्ने, किड्नी, खुट्टा, ब्रेनको एन्जीओप्लास्टिक सम्मको सेवाहरुको गंगालामा सुरुवात गरे । पहिले दिनमा एउटा केस हुने गंगालालमा डा. भट्ट आएपछि दिनमै चार—पाँच वटा इन्टरभेन्सन हुन थाले । नहोस्, पनि किन डा. भट्टको हात र ट्रेनिङ दुवै उत्तिकै अब्बल थियो ।

गंगालालमै काम गर्दा उनी नर्भिक इन्टरनेशल हस्पिटल थापाथलीमा साँझपख पार्टटाइम गर्थे । यही क्रममा गंगालालको विभागीय प्रमुख भए । ‘जो अगुवा उही हगुवा त हुनुभएन,’ उनले भने, ‘त्यहाँबाट ५ बजे निस्केपछि नर्भिक पुग्दा साढे ६ बजिसक्थ्यो । साढे ६ बजेदेखि प्राइभेट प्राक्टिस गर्नुपर्ने ।’ काममा उनलाई अलि भार पर्न थाल्यो । अर्कोतर्फ, गंगालालमा नयाँ पुस्ताका चिकित्सक पनि तयार भइसकेका थिए ।

त्यही क्रममा उनका बुवा बिते । बुवा बितेपछि डा. भट्ट जीवनमा दौडको अर्थ के रहेछ भनेर सोच्न थाले । अवस्था यस्तो पनि हुन थाल्यो उनी आफ्ना सुतिरहेका छोराछोरीलाई भर्टिकल होइन्, होरिजेन्टल देख्न थाले । ‘विहानै निस्कँदा पनि सुतिरहेका, राति अबेर फर्किदा पनि सुतिरहेका,’ उनी सुनाउँछन्, ‘मैले बच्चाहरुलाई समेत होरिजेन्टल हेर्न थाले । फ्यामिली लाइफ पनि भएन ।’ उनका साथीहरुले पनि त्यो अवस्थालाई हेरेर अलि ‘स्लो डाउन’ गर्न सल्लाह दिए । ‘गंगालालमा सबै कुरा सेटल र विकसित भएपछि म पनि साथीहरुको सल्लाहलाई मानेर स्लो डाउन गर्न राजी भएँ,’ उनले भने ।

सन् २०१६ मा गंगालालसँगको १३ वर्ष लामो यात्रा टुग्याउँदा उनले त्यहाँ झण्डै ४ हजार हाराहारीमा एन्जिओप्लास्टिक गरे । हजारौं नेपालीका लागि मुटु सम्बन्धि डा. भट्टले हासिल गरेको ज्ञान जीवनपयोगी बन्यो । पाँच वर्षयता भने उनी नर्भिकमा पूर्णकालीन चिकित्सकका रुपमा कार्यरत छन् । अहिले नर्भिकमा पनि उनको काम गर्ने शैली फरक छ । ‘म अहिले बौलाहा शैलीमा प्रयाक्टिस गर्दिन्,’ उनी सुनाउँछन्, ‘मलाई मन लागेको टाइममा आउँछु, मन लागेको टाइममा जान्छु । नो बाइन्डिङ ।’ बिरामीलाई प्रभाव नपर्ने गरी अघिल्लो दिन नै उनको अपोइटमेन्ट फिक्स हुन्छ । अहिले पनि उनी दैनिक औसतमा २० जना मुटुका बिरामी हेर्छन् ।

नर्भिकस्थित डा. भट्टको कार्यकक्ष

डा. भट्टले पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्व युवराज पारस शाहदेखि धेरै भिआईपीहरुको समेत उपचार गरेका छन् । राजा र सामान्य नागरिकको उपचार गर्दाको फरक के हुँदोरहेछ त ? भन्छन्, ‘ठूलो मान्छेको उपचार गर्दा प्रचार—प्रसार हुन्छ, हिरो भइन्छ । सामान्य मान्छेको उपचार गर्दा केही हुँदैन् । तर, आफूलाई स्याटिसफ्याक्सन भने बिरामीलाई राम्रो भएपछि हुन्छ । त्यो भीभीआईपी होस् वा सामान्य नागरिक ।’ कसैको रोग पत्ता लगाएर सफल उपचार गर्दा, जटिल प्रकृतिका केसहरुको सफल उपचार गर्दा आफूलाई खुशी मिल्ने अनुभव उनी सुनाउँछन् । ‘चाहे त्यो धनी होस्, चाहे त्यो गरिब,’ उनी भन्छन् । कसैको उपचार सफल नहुँदा भने उनलाई दुःख लाग्छ ।

अहिलेसम्म सहरका यी व्यस्त मुटु चिकित्सकले ५/६ हजारभन्दा बढी एन्जोओप्लास्टिक गरिसकेका छन् । सक्सेस केस बढेमा एक चिकित्सकका जीवनमा खुशी, सन्तुष्टि सबै प्राप्त हुन्छ भने अनसक्सेस केस बढेमा त्यसले असन्तुष्टि, दुःख र ग्लानीसँगै प्रयाक्टिस पनि राम्रो नहुने उनी बताउँछन् । डा. भट्ट सक्सेस केस बढी गरेका भाग्यशाली चिकित्सक हुन् । के राम्रो डाक्टर हुनका लागि कर्म मात्रै पर्याप्त छ । त्यो होइन् । ‘डाक्टरले आफूलाई आउने काम राम्रोसँग गर्नुपर्छ,’ उनी भन्छन्, ‘सबैले आफ्नो काम गम्भीरतापूर्वक गरेमा त्यसको नतिजा राम्रो आउँछ ।’ गम्भीरतापूर्वक काम गर्नेले आज नभएपनि भोलि प्रतिफल पाउने विश्वास उनको छ ।

हजारौं मुटु बिरामीलाई नयाँ जीवन दिएका डा. भट्टको मुटुसँगको अनुभव कस्तो छ ? ‘इररको ठाउँ नै नदिने ठाउँ हो—यु क्याननट मेक मिस्टेक । जिरो इरर हुुनुपर्छ । कुनै ठाउँमा सामान्य मिस्टेक भयो भने त्यो निकै महंगो पर्छ,’ मुटु उपचारको गम्भीरताबारे उनी भन्छन्, ‘त्यसकारण आफ्नो स्कीललाई निखार्नैपर्छ । न निखारिकन यो सुरु नै गर्नुहुँदैन भन्ने मेरो मान्यता हो ।’ डा. भट्टले आफूले स्कील निखार्नैका लागि दिल्लीमा दुई वर्ष कडा परिश्रम गरेको सुनाउँछन् । त्यहाँ दिनमै साठी वटासम्म केस हेरेको अनुभव उनको छ । त्यही कारण डा. भट्टलाई अहिलेको यो मुकाम हासिल भएको हो । एउटा राम्रो चिकित्सक हुनका लागि परिश्रम (कर्म) र खुबी दुवै हुनुपर्ने उनी बताउँछन् ।

५६ वर्षको उकालो हिड्दैं गरेका यी चिकित्सकको इन्टरभेन्सन गर्ने, एन्जीओप्लाष्टिक गर्ने, नसाहरु खोल्ने प्यासन हो । त्यसो भए उनको सपना के छ त ? भन्छन्, ‘जीवन आनन्दसँग जिउने, राम्रो प्रायाक्टिस गर्ने नै मेरो एकमात्र सपना हो । इन्टरभेन्सन अरुले गर्न नसकेका केसहरु गर्ने र बिरामीलाई ठीक पार्ने मेरो हब्बी नै त्यही हो ।’ डा. भट्टका त्यसबाहेक ठूला अरु केही पनि सपना छैनन् । सन् २००९ यता राष्ट्रपतिको चिकित्सक समेत रहेका उनले विज्ञान प्रविधी पुरस्कार—२०७६ र सुप्रबल जनसेवाश्री—२०१६ प्राप्त गरेका छन् ।

प्राध्यापनमा डा. भट्ट

तस्वीरः डा. भट्टको फेसबुकबाट

भारतबाट विशेषज्ञता हासिल गरेर फर्किएपछि डा. भट्ट नेपालमा कार्डियोलोजीमा दक्षता स्थापित गर्नुपर्छ भन्ने धाउन्नेमा लागे । त्यही कारण नेपाल फर्केपछि उनी राति अबेरसम्म पढाउन गइरहेका हुन्थे । उनी नेपाल फर्केपछि सन् २००७ देखि सन् २०१६ सम्म चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा कार्डियोलोजीका प्रोफेसर भए । लामो समय उनले त्यहाँ आफूले सिकेको सीप नयाँ पुस्तालाई बाँडे ।

गंगालालमा हेड अफ डिपार्टमेन्ट भएपछि मात्रै उनले न्याम्सको प्रोफेसर छाडेका हुन् । अहिले पनि न्याम्समा उनका साथीभाइहरु नै छन्, केही परेमा डा. भट्टले हेर्छन् । सहजै उपलब्ध हुन्छन्, नाइनास्ति गर्दैनन् । अहिले पनि उनको न्याम्ससँगको सम्बन्ध सुमधुर नै छ ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको मनमोहन कार्डियोभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा सन् २०१५ देखि डा. भट्ट भिजिटिङ प्रोफेसरका रुपमा कार्यरत छन् । त्यहाँ हरेक बिहीबार गएर साथीभाइसँग मिलेर इन्टरभेन्सन गर्थे । कोभिड—१९ पछि भने त्यो क्रम पनि रोकिएको उनले बताए । ‘अब बिस्तारै त्यहाँ पनि जान्छु,’ उनले भने ।

भगवानमाथि विश्वास गर्ने चिकित्सक

डा. भट्टको जीवनशैली सरल छ । उनी विहान ६ बजेतिर उठ्छन् । एक डेढ घण्टा एक्ससाइज गर्छन् । जसमा ट्रेडमिल र स्ट्रेचिङजस्ता एक्ससाइज पर्छन् । कहिलेकाही साइक्लिङ पनि गर्छन् । कहिलेकाही अल्छी लाग्यो भने उनी एक्ससाइज इस्केप गर्छन् ।

त्यसपछि चिया लिन्छन् । आमा र फ्यामिलीसँग बसेर रमाइलो गर्छन् । त्यसपछि खाना खान्छन् । खानामा दाल र तरकारीमा बढी जोड हुन्छ, भात कम । खाना लिइसकेपछि अफिसको पनि उनलाई उति हतारो हुँदैन् । कहिले ११ बजेतिर, कहिले १२ बजेतिर नर्भिक पुग्छन् ।

आफ्टरनुनमा उनी फ्रुट खान्छन् । तर, कोभिड—१९ का कारण अस्पतालमा अहिले उनले फ्रुट खान बन्द गरेका छन् । नत्र सदैव उनी घरबाट फ्रुट लिएर अस्पताल जान्थे, दिउँसो त्यही फ्रुट खान्थे । ‘अहिले कोभिड—१९ का कारण आफ्टरनुनको त्यो सेडयुल कट भएको छ,’ उनले सुनाए, ‘साँझ ६ बजेतिर घर पुग्छु । घर पुगेपछि खाना नै खान्छु ।’ साँझपखमा दाल, भात र तरकारी खाने उनको खानाको मेनुमा कहिलेकाही मासु पनि हुन्छ ।

डा. भट्ट खानामा पनि उनी उतिकै कन्सस छन्, सकेसम्म बाहिरको खाना खादैनन् । सामान्यतयाः उनी पार्टी र फाइभ स्टार होटलमा खान रुचाउँदैनन् । ‘७० प्रतिशत जति म त्यस्ता पार्टीहरुमा खादैन्, घरमै खान्छु,’ उनी भन्छन् । दुवै छाक भात, दाल, तरकारी खान्छन् । तर, खानाका भातभन्दा तरकारीको मात्रा बढी हुन्छ । कार्बोहाइड्रेयुक्त खाना कम लिने उनी फलफूल छुटाउँदैनन् ।

म्युजिकमा रुचि भएका यी चिकित्सक फुर्सदको समयमा म्युजिकको समीप पुग्छन् । कहिलेकाही टेलिभिजन पनि हेर्छन् । घुमघाममा पनि उनी मन पराउँछन् । उनलाई सबैभन्दा मनपर्ने ठाउँ दक्षिण भारत नै हो । त्यसमा पनि उनलाई सोमनाथ विशेष मन पर्छ । कन्फ्रेन्सनका क्रममा उनले युरोप, अमेरिकाका धेरैजसो देशहरु घुमिसकेका छन् ।

पहिले डा. भट्ट किताब खुबै पढ्थे, अहिले भने अलिकति कम भएको छ । अहिले पनि आफ्नो विषयसँग सम्बन्धित किताबहरु पढिरहेका हुन्छन् । त्यसबाहेक लेखहरु पढ्छन्, लेख्छन् । इन्भरभेन्सनका अन्तर्राष्ट्रिय किताबहरुमा पनि उनले लेखेका छन् । कहिलेकाही वेमिनारहरुमा पनि बोलिरहेका हुन्छन् । पहिरनमा पनि उनी विशेष ख्याल गर्छन् । राम्रो कम्पनीको आकर्षक लुगा लगाउने उनको रुचि छ ।

३६ वर्षअघि प्रीति भट्टसँग विवाह बन्धनमा बाँधिएका डा. भट्टका दुई छोरी र एक छोरा छन् । श्रीमती पूर्ण रुपमा हाउस वाइफ हुन् । उनलाई लाग्छ—दुवै एउटै दौडमा भएको भए परिवार सम्हालन गाह्रो पथ्र्यो । ‘मेरो करिअरमा उनको म्याक्सिमम सपोर्ट छ,’ उनी भन्छन्, ‘श्रीमतीको सपोर्ट नभएको भए गाह्रो हुन्थ्यो ।’

डा. भट्ट मान्छेको जीवन धेरै लामो नभएकाले योजनावद्ध जीवन जिउनुपर्नेमा जोड दिन्छन् । ‘आँखा चिम्लेर दौडनु हुँदैन्,’ उनी भन्छन्, ‘आँखा चिम्लेर दौड्यो भने कहाँ दौडेको हो पनि थाहा छैन्, किन दौडेको हो पनि थाहा छैन् ।’ मानिसको जीवन बचाउने कर्ममा तल्लीन डा. भट्टलाई भगवानप्रति पनि उतिकै आस्था छ । भन्छन्, ‘म भगवानमाथि हन्र्डेड पर्सेन्ट विश्वास गर्छु । म हरेक दिन पुजा गरेर आउने मान्छे हुँ ।’ सदैव उनको निधारमा टिका हुन्छ । यदि कुनै दिन उनको निधारमा टिका छैन भने सोचे हुन्छ— कि कुनै टिका लगाउन नहुने घटना घटेको छ कि त कुनै इमर्जेन्सी केस ।

डा. भट्ट आफैले पनि प्रत्यक्ष त्यो विशेष शक्तिको अनुभव गरेका छन् । कतिपय बाँच्दैन् भनेर आशा मारिसकेका बिरामी ठीक भएर घर फर्केका पनि छन् । ‘त्यो त मीराकल नै हो,’ उनी भन्छन्, ‘हामीले नै आशा मारिसकेका कति बिरामी तीन चार दिनमा ठमठम हिडेर घर फर्किन्छन्, यसलाई केही भएको छैन भनेका कतिपय बिरामी छिनभरमै मर्छन् । केही त छ, जो यो मीराकल गर्छ ।’


क्याटेगोरी : प्रोफाइल



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ