२०७८ भदौ ३१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलकार्डियोभास्कुलर सर्जन डा. संजीत, जो भक्तपुरमै मुटुका ठूला शल्यक्रिया गर्न चाहन्छन्

कार्डियोभास्कुलर सर्जन डा. संजीत, जो भक्तपुरमै मुटुका ठूला शल्यक्रिया गर्न चाहन्छन्


शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मुटुको एकदमै जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेपश्चात युवा कार्डियोभास्कुलर सर्जन डा. संजीतकुमार शाह अलि फुर्सदमा देखिन्थे । उनको फुर्सद कम भएजस्तो मात्रै देखिन्थ्यो । यथार्थमा उनी व्यस्त नै थिए । शल्यक्रिया गरेकी बिरामीको अपडेट लिने, औषधी घटाउने/बढाउने र नियमित ड्रेसिङका कामहरुमा सहजीकरण गर्नेमै ।

कोभिड-१९ पछि यो नै केन्द्रमा गरिएको मुटुको सबैभन्दा जटिल शल्यक्रिया हो । त्यसकारण केही समय अस्पताल व्यवस्थापन टिम र स्टाफले समेत उनलाई एक पटक सोच्न सुझाव दिएका थिए । तर, डा. संजीत ढुक्क थिए, सफलतापूर्वक शल्यक्रिया सम्पन्न गर्न सकिन्छ भन्नेमा । त्यसमा उनलाई सबैभन्दा बढी आफूले हासिल गरेको ज्ञान र अनुभवप्रति विश्वास थियो । थप भरोसा बनेका थिएँ, गंगालाल हृदय रोग केन्द्रका सिनियर सर्जन डा. विश्व पोखरेल । यसका साथै एनेस्थेसियामा डा. सन्तोष खत्री र पर्फुनिष्ट उमेश खानलगायत भरपर्दो चिकित्सक र नर्सहरुको टिम उनीसँग थियो ।

अन्ततः २ साउनमा भक्तपुर ५१ वर्षीया पूर्णेश्वरी भालजुको मुटुको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न भयो । पूर्णेश्वरीको कार्डियोभास्कुलर सर्जरी यसकारण गम्भीर थियो कि उनको एकै पटक मुटुका धेरै समस्या हटाउनु परेको थियो । अपरेटिङ सर्जन डा. संजीतकाअनुसार उनको मिट्रल भल्भ रिप्लेसमेन्ट, प्त्रिस्क्युस्पिड भल्भ रिपेयर, एट्रियल सेप्टल डिफेक्ट क्लोजर र लेफ्ट एट्रियल अपेन्डेज एक्सक्लुजन गरिएको थियो । अझ त्यसमाथि उनको मानसिक समस्या पनि थियो । यी सबैका बाबजुद शल्यक्रिया सम्पन्न गरेपछि यी युवा सर्जन हौसिएका छन् । नेपालमै कार्डियोभास्कुलर सर्जरीमा केही फरक गर्ने सोच बनाएका उनको छ ।

डा. संजीतको जन्म वि.सं. २०३९ सालमा सप्तरी खडक नगरपालिका—३ सिसवामा भएको हो । उनका बुवा डा. मिसिलाल शाह नेपाल सरकारका एमडीजीपी चिकित्सक थिए । उनका बुवा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका पाँचौ ब्याचका विद्यार्थी हुन्, जसले देशका धेरै भूभागमा पुगेर बिरामी निको पारेका छन् । अहिले उनी नेपाल सरकारको जागिरबाट रिटायर्ड भइसकेका छन् । आमा गीतादेवी शाह भने गृहणी थिइन् ।

बुवा जागिरका शिलशिलामा विभिन्न ठाउँमा पुगिरहने भएकाले संजीत आफ्ना हजुरबुवासँग हुर्के बढेका हुन् । ‘हजुरबुबासँग हुर्केको हुँ । गाउँघर डुल्ने, भैसी चराउन जाने, पानीमा रुझ्ने खुब गरिन्थ्यो,’ उनले आफ्नो बाल्यकालका स्मृति पल्टाए, ‘पढाइको त्यति मतलब नहुने, घाँसपात जाने रमाइलो थियो ।’ उनको प्रारम्भिक शिक्षा स्थानीय सिसवा हाइस्कुलबाट अगाडि बढेको हो । त्यहीबाट उनले कक्षा ४ सम्म अध्ययन पूरा गरेका हुन् ।

त्यसपछि उनका बुवाको पोष्टिङ सुर्खेत भयो । संजीतले पनि बुवासँगै सुर्खेत जाने अवसर पाए । सुर्खेतको वीरेन्द्रनगरको उषा बालवाटिका स्कुलमा उनले कक्षा ७ सम्म अध्ययन गरे । सुर्खेतमा पढ्दा उनले नेपाली भाषा सिक्ने अवसर पाए । ‘मैले त्यही नेपाली भाषा बोल्न सिकेको हो,’ यी फरासिला चिकित्सकले हालैको एक मध्यान्ह हेल्थआवाजलाई सुनाए, ‘त्यहाँ गएको एक वर्षसम्म भाषा नआउने हुँदा एकजना पनि साथी बनाउन सकेको थिइनँ । मैथली भाषा मात्रै आउथ्यो । बहिनी र ममीले पनि अब नेपाली बोल्नैपर्ने भयो भनेर सिकाउनुभयो ।’

सुर्खेतबाट कक्षा ७ सम्म अध्ययन गरेपछि उनी काठमाडौं आए । त्यसपछि उनको शिक्षादीक्षा जावलाखेलको लिटिल एन्जल्स स्कुलमा अगाडि बढ्यो । डा. संजीत आफूले स्कुले जीवनमा धेरै राम्रा–राम्रा गुरु पाएको बताउँछन् । ‘नेपाली विषय पढाउने गुरु परमानन्द श्रेष्ठलाई एकदमै सम्झिन्छु,’ उनले भने, ‘उहाँले नै मलाई नेपाली पढाउनुभयो । उहाँले बोलेका कुराहरु म निकै गहन रुपमा लिन्थे ।’ वि.सं. २०५५ सालमा उनले लिटिल एन्जल्सबाट डिस्टिङसनमा एसएलसी उत्तीर्ण गरे । स्कुल जीवनमा उनको रुचि साहित्य र खेलकूदमा पनि थियो ।

उच्च शिक्षाका लागि उनी लैनचौरस्थित निष्ट कलेज गए । निष्टबाट उनले सन् २००१ मा विज्ञान विषयमा प्रथम श्रेणीमा प्लस टु उत्तीर्ण गरे । उनको ध्यान एमबीबीएस चिकित्सक बन्ने थियो । बुवा नै चिकित्सक भएकाले उनमा पनि चिकित्सक बन्ने भोक जागेको थियो । त्यसैले एमबीबीएसको इन्ट्रास दिए ।

मणिपालबाट एमबीबीएस, शिक्षण र लहानमा जागिर

एमबीबीएसको इन्ट्रास पास गरेपछि उनी एमबीबीएस अध्ययन गर्न पोखरास्थित मणिपाल मेडिकल कलेज गए । त्यहाँबाट सन् २००८ मा उनले एमबीबीएसको अध्ययन पूरा गरे । त्यसपछि एक वर्ष त्यही इन्टर्न गरेपछि सन् २००९ मा उनी डाक्टर बनेर काठमाडौं फर्किए ।

डा. संजीत काठमाडौं फर्केर देशकै प्रमुख अस्पताल त्रिवि शिक्षण अस्पतालमा मेडिकल अफिसरको जागिर सुरु गरे । त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सीमा काम गर्दा उनले निकै राम्रो अनुभव बटुल्ने अवसर पाए ।

६ महिना काम गरेपछि ‘युएसएमएलई’को तयारी गरे । पहिलो र दोस्रो चरणको परीक्षा दिए । तर, सर्जन बन्ने सपना पालेका उनले अमेरिकामा गएपछि सर्जरी पढ्न पाउने सम्भावना गाह्रो देखें । ‘विभिन्न पारिवारिक कारणहरु पनि थिए,’ उनले भने, ‘घरको एक्लो छोरा र सर्जरीमा विशेष इन्ट्रेस्ट पनि त्यही कारण राम्रो स्कोर आएपनि अमेरिकामा गइन् ।’ डा. संजीतलाई सबैभन्दा राम्रो अर्थोपेडिक सर्जरी भएकाले कम्प्रोमाइज गर्दिन भन्ने थियो । त्यही कारण उनले अमेरिकामा चिनेजानेकालाई त्यो अवसर छ भने खबर गर्न आग्रह गरे ।

आफू सिरहाको लहान अस्पतालमा काम गर्न गए । त्यहाँ दुई वर्ष करारमै काम गरे । सर्जरीका लागि युएसमा अवसर पाइने आशा अझै उनमा थियो । तर, कुनै रेस्पोन्स नआएपछि उनले त्यो आशा मारे । लहान अस्पताल उनीसहितका चिकित्सकहरु मिलेर एउटा मोडल अस्पताल बनाउन भूमिका खेले । ‘लहान अस्पतालमा इमर्जेन्सी केयर नहुँदा इमर्जेन्सी केस आएमा रिफर गर्ने ठाउँ पनि थिएन,’ डा. संजीत भन्छन्, ‘त्यहाँ तालिम पनि दियौं । हामी तीन जना मेडिकल अधिकृत र मेसुको प्रयासमा ओपिडी भवन निर्माण ग¥यौं । इमर्जेन्सी उपचार पनि हुन थाल्यो ।’ अस्पतालमा त्यसको टिकट जम्मा २ रुपैयाँ राखेको उनी बताउँछन् ।

‘त्यसबेला उपचार गर्नका लागि २ रुपैयाँ नहुने बिरामी पनि देख्यौं,’ उनी सिरहा अनुभव सुनाउँछन्, ‘ त्यही समय थाहा भयो हाम्रो स्वास्थ्य प्रणालीको अवस्था कस्तोसम्म रहेछ । किनभने, दुई रुपैयाँ पनि नभएको अवस्थाका बिरामी, अपहेलित बनेको केसहरु आउने दुरावस्था मैले त्यहाँ देखे ।’ लहान अस्पतालको बसाइँका क्रममा उनले नेपाली स्वास्थ्य क्षेत्रको यथार्थ बुझ्ने अवसर पाए ।

डा. संजीत सदैव क्रियाशील रहने चिकित्सकमा पर्छन् । उनीसहितको युवा टिम नेपाल मेडिकल एसोसिएसन (एनएमए)सँग मिलेर अन्तरक्रिया कार्यक्रमहरु गरिरहन्थ्यो । त्यसमध्ये एउटा अन्तक्रियामा स्वास्थ्य सेवा निःशुल्क गराउ भन्ने विषयमा पनि अन्तक्रिया गरिएको थियो । डा. संजीत मेडिकल एसोसिएसनमा आफूलगायतका युवा चिकित्सकहरुकै पहलमा सन् २००९—१० मा युवा युथ कमिटी गठन भएको बताउँछन् । डा. उपेन्द्रको अध्यक्षतामा, डा. ओमकृष्ण पाठक, डा. विष्णु गिरी, डा. सन्तोष पौडेल, डा. जीवन थापा, डा. दिपेन्द्र पाण्डेसहितका जुझारु युवा चिकित्सकहरु त्यो युथ कमिटीका सदस्य थिए । जसलाई अहिले डीएसएएन नामबाट चिनिन्छ । युथहरुको आवाज समेटियोस भनेर भनेर सो कमिटी परिकल्पना गरेको उनी सुनाउँछन् ।

कार्डियोभास्कुलर सर्जन, ठूला सर्जरी गर्ने लक्ष्य

लहानमा दुई वर्ष बसेपछि डा. संजीत आफ्नो सर्जरी सपना पूरा गर्न बंगलादेश गए । सन् २०१३ मा कार्डियोभास्कुलर सर्जरी पढ्न बंगलादेश गएका हुन् । २ जनाको विदेशी विद्यार्थी कोटामा उनले कार्डियोभास्कुलर सर्जरी अध्ययन गर्ने मौका पाएका थिए । त्यहाँको बंगबन्धु मेडिकल युनिभर्सिटीमा अध्ययन अगाडि बढाए । पाँच वर्षको कार्डियोभास्कुलर सर्जरी अध्ययन उनले सन् २०१८ मा पूरा गरे ।

कार्डियोभास्कुलर सर्जन बनेर फर्केको ६ महिनापछि उनले नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा दिए । त्यही समयमा गंगालाल हृदय रोग केन्द्रमा विज्ञापन खुल्यो । तर, मेडिकल अफिसरबाटै जानुपर्ने अवस्था थियो । कार्डियोभास्कुलर सर्जरीको डिग्री भएपछि अफिसरबाटै जानुपर्ने न्यायसंगत नहुने कुरा उनले राखे । ‘त्यो कुरा धेरैलाई चित्त बुझ्यो र केहीलाई बुझेन पनि,’ उनी भन्छन्, ‘मैले त्यहाँ एकल संघर्ष गरे । त्यसले एउटा उपलब्धि चाहिँ भयो । एमडिएमएसको डिग्री लिएर आएका विद्यार्थी रजिष्ट्रारकै रुपमा आउनुपर्छ र सकेसम्म लोकसेवाकै माध्यमबाट पास भएर नै आउनु पर्छ भन्ने कुरा भयो । बरु, एउटा कोटा नै खोलेर लोकसेवामा पठाएर त्यतिबेलाका निर्देशकले सही गराएर पास गराएर आउनु भनेर पठाउनुभयो ।’ जे काम गर्दा पनि मुद्धा मामिलाले नछोड्ने यो देशमा त्यसमा पनि पछि मुद्दा चल्यो ।

त्यही बेला लोकसेवा खुल्यो । लोकसेवामा नाम निस्किएपछि उनी भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आए । केन्द्रमा डा. संजीत आउनुअघि कार्डियोभास्कुलर सर्जरी १५/१६ वटा शल्यक्रियाहरु भएका थिए । तर, कोभिड-१९ का कारण समय असहज बन्दै गएपछि त्यो क्रम रोकियो । ‘म आएपछि २ वटा केस भयो,’ उनले भने, ‘एउटा ७ महिनाअघि भएको थियोे । १ महिनाअघि पनि एउटा सर्जरी गरेका थियौं ।’ उनले पछिल्लो म्याटल भल्भको सर्जरी भएकाले गंगालालका सिनियर सर्जन डा. विश्वको पनि सहयोग लिए ।

डा. संजीतको नेतृत्वमा भएको पछिल्लो जटिल शल्यक्रियापछि मानव अंग प्रत्यारोपण केन्द्रको टिम उत्साहित छ । उनी केन्द्रमा कार्डियोभास्कुलर सर्जरीका जटिलभन्दा जटिल शल्यक्रियाका लागि तयारी गर्दैछन् ।  उनले भने, ‘कार्डियोभास्कुलर सर्जरीमा जनशक्ति कम छ ।’ पछिल्लो गम्भीर कार्डियोभास्कुलर सर्जरी धर्मभक्त अस्पतालले गंगालालसँगको समन्वयमा गरेको बताउँदैं उनले यसले दुई अस्पतालबीच सहयोग आदान—प्रदानको बाटो खुलेको बताए ।


क्याटेगोरी : प्रोफाइल
ट्याग : #कार्डियोभास्कुलर सर्जन, #गंगालाल हृदय रोग केन्द्र, #डा. दिपेन्द्र पाण्डे, #डा. विश्व पोखरेल, #डा. संजीतकुमार शाह, #डा. सन्तोष खत्री, #डा. सन्तोष पौडेल, #त्रिवि शिक्षण अस्पताल, #मणिपाल मेडिकल कलेज, #मुटु, #शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)