२०८० मंसीर १३, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलडा. कृष्ण आचार्य : जसले सुशील कोइराला क्यान्सर अस्पताललाई चम्काइदिए

डा. कृष्ण आचार्य : जसले सुशील कोइराला क्यान्सर अस्पताललाई चम्काइदिए


खजुरामा क्यान्सर अस्पताल स्थापनाका लागि स्थानिय वासिन्दाहरुले वि.सं. २०५६ सालमा महायज्ञ लगाएर करिब ५ करोड संकलन गरे । अस्पतालका लागि ४ बिघा जग्गाको बन्दोबस्त गरे । क्यान्सर अस्पताल संचालन गर्नु त्यति सहज थिएन । उनीहरुले नेपाल सरकारलाई गुहारे । १० वर्षको निरन्तर प्रयासपछि वि.सं. २०६६ सालमा नेपाल सरकारले क्यान्सर अस्पताललाई ५ करोड अनुदान दियो ।

सरकारले वर्षेनी अनुदान दिदैं गएपछि भवन निर्माण भयो । चितवनको भरतपुरस्थित विपी कोइराला क्यान्सर अस्पतालको स्याटेलाइट सेवामार्फत वि.सं. २०७० असार २९ गतेदेखि खजुरामा क्यान्सरका बिरामीहरुको उपचार सेवा सुरु ग¥यो । अस्पतालमा अप्रेशन थ्रियटर, प्रयोगशाला, रेडियोलोजी विभाग, किमो थेरापी सेन्टरलगायतका संरचनाहरु निर्माण हुँदै गए ।

उपचार सेवा सुरु भएको ७ वर्षसम्म पनि क्यान्सर अस्पतालले गति लिन सकेन । दैनिक २०/२५ जना बिरामीको चेकजाँच गर्ने, शंकास्पद बिरामीलाई थप उपचारका लागि भरतपुर र भक्तपुरस्थित क्यान्सर अस्पतालमा पठाउने, बिरामीहरुलाई किमो दिने एउटा सानो स्वास्थ्य संस्था मै सिमित रह्यो ।

अस्पताल संचालक समिति र कार्यकारी निर्देशकले अस्पतालको उपचार सेवा बढाउनेतर्फ खासै पहल गरेनन् । वि.सं. २०७३ फागुनमा नेपाल सरकारले प्रखर परोपकार मिसन नेपालद्वारा संचालित नेपाल क्यान्सर अस्पतालको स्वामित्व सरकारले नै लिने र क्यान्सर अस्पतालको नाम परिवर्तन गरेर सुशील कोइराला प्रखर क्यान्सर अस्पताल राख्ने निर्णय ग¥यो । नेपाल सरकारले क्यान्सर अस्पताललाई संघीय सरकारकै मातहतमा राख्ने निर्णय भएपनि अस्पतालले गति लिन सकेन् ।

वि.सं. २०७७ असोज ५ गते अस्पतालका कार्यकारी निर्देशक फेरिए । भेरी अस्पताल नेपालगन्जका कन्सल्टेन्ट एनेस्थेसिलोजिस्ट डा. कृष्ण आचार्यले क्यान्सर अस्पताल खजुरामा कार्यकारी निर्देशकको रुपमा जिम्मेवारी सम्हाले ।

नयाँ कार्यकारी निर्देशकले जिम्मेवारी सम्हालेको २ महिनामै मंसिर ५ गतेदेखि सर्जरी सेवा सुरु भयो । विशेषज्ञ चिकित्सक थपेर अस्पतालले २०७७ चैतदेखि हिष्टोप्याथोलोजी सेवा सुरु ग¥यो । बिरामीहरुमा क्यान्सर भए नभएको एकीन गर्नका लागि क्यान्सर भएको आंशका भएको अंगको अप्रेशन गरेर मासुको टुक्रा निकालेर गरिने परीक्षणलाई हिस्टोप्याथोलोजी भनिन्छ । हिस्टोप्याथोलोजी परिक्षणपछि क्यान्सर रोग कुन अवस्थामा छ भन्ने पनि पत्ता लाग्छ ।

हिस्टोप्याथोलोजी सेवा सुरु भएपछि बिरामीहरु काठमाडौं, भरतपुर र भारतको लखनउ दिल्ली पुगेर क्यान्सर भए–नभएको एकीन गर्नुपर्ने बाध्यता हट्यो । हिस्टोप्याथोलोजी सेवा सुरु भएपछि परीक्षण सेवा सुरु गरेको एक महिनाको अवधीमा १० जनामा क्यान्सर भएको पत्ता लाग्यो ।

रक्तनली, पाठेघर, स्तनमा क्यान्सर भएका बिरामीहरुले चेकजाँच गराएको दुई÷तीन दिनमै शल्यक्रिया सेवा पाइरहेका छन् । सेवा सुरु भएको करिब एक वर्षको अवधिमा क्यान्सर अस्पतालले ५ सय ३२  बिरामीको शल्यक्रियासहितको उपचार गरेको छ भने हिस्टोप्याथोलोजी सेवामार्फत करिब ८ सय जना शंकास्पद क्यान्सरका बिरामीमा क्यान्सर भए–नभएको एकीन गरिसकेको छ ।

सर्जरी र हिष्टोप्याथोलोजी सेवा थपिएपछि पश्चिम नेपालका नागरिकले बिरामीले सहजै उपचार सेवा पाउन थाले । क्यान्सर अस्पतालले क्यान्सर पहिचान भइसकेका बिरामीहरुलाई औषधीमार्फत दिइने किमो सेवालाई निरन्तरता दिइरहेको छ । पछिल्ला दिनहरुमा करिब ३ सय जना बिरामीले निरन्तर किमो सेवा लिइरहेका छन् ।

डा. आचार्यकै पहलमा डेढ वर्षको अवधिमा ९ जना विशेषज्ञ चिकित्सक, ६ जना मेडिकल अफिसर र १४ जना स्टाफ नर्स जनशक्ति अस्पतालमा थपिए । कन्सल्टेन्ट सर्जन र महिला क्यान्सर रोग विशेषज्ञले क्यान्सरका बिरामीहरुलाई शल्यक्रियासहितको उपचार सेवा दिन थालेका छन् ।

क्यान्सर अस्पतालले जनरल मेडिसिन, नाक, कान, घाँटी, छाला रोग, स्त्री रोग, उपचार सेवा विस्तार गरिसकेको छ । फागुनदेखि डेन्टल र अर्थाेपेडिक सेवा सुरु गर्ने तयारी छ । क्यान्सर अस्पतालमा सर्पदंश उपचार सेवा सुरु भएको छ । डाइलाइसिस सेवा सुरु गर्नका लागि परामर्श भइरहेको डा. आचार्यले जानकारी दिए ।

काठमाडौंको नेपाल कोरिया अस्पताल, नेपाल मेडिकल कलेजका महिला क्यान्सर रोग विशेषज्ञ चिकित्सकका साथै नेपालगन्ज मेडिकल कलेज, भेरी अस्पताल स्त्री रोग विशेषज्ञ र जनरल सर्जन चिकित्सकसँगको सहकार्य क्यान्सर अस्पतालले खजुरामै दुरबिन प्रविधीबाट पाठेघर र डिम्बासयमा क्यान्सर भएका बिरामीको अप्रेशन सेवा दिन सुरु गरेको छ ।

नेपाल कोरिया अस्पताल र क्यान्सर अस्पताल खजुराका विशेषज्ञ चिकित्सकहरुको टोलीले पाठेघर र डिम्बासयमा क्यान्सर भएका बिरामीहरुको अप्रेशन गर्दै आएका छन् । उपचार सेवा विस्तार भएसँगै दैनिक २०/२५ जना बिरामी आउने अस्पतालमा पछिल्ला दिनहरुमा १ सय ५० जना बिरामी आउन थालेका छन् । बिरामीको संख्या बढ्दै गएको छ ।

उपचार सेवा थपिदैं गएपछि अस्पतालको आम्दानी पनि बढ्दै गएको छ । मासिक १ लाख आम्दानी हुने क्यान्सर अस्पतालको आम्दानी दैनिक १ लाख पुगेको छ । अस्पताललाई नेपाल सरकारले वार्षिक करिब ६ करोड अनुदान दिदै आएको छ । अनुदानको अधिकांश रकम चिकित्सकको तलब भत्ता र प्रशासनिक काममा खर्च हुन्छ ।

अस्पतालले क्यान्सरका बिरामीहरुको भित्री सेकाइ गरेर गरिने उपचारका ब्राकी थेरापी सुरु गर्ने तयारी गरिरहेको छ । माघ महिनाभित्रै ब्राकी थेरापी सुरु गर्ने अस्पतालको लक्ष्य छ । अस्पतालले ६ बेडको आईसीयु सेवा सुरु गर्ने तयारी गरिरहेको छ । त्यसैगरी, अस्पतालको बेड संख्या ४० बाट बढाएर एक सय बेड पु¥याउने लक्ष्य छ ।

क्यान्सरका बिरामीहरुको उपचारका लागि निकै महत्वपूर्ण मानिने रेडियसन थेरापी लागि लिन्याक मेसिन खरिदको प्रक्रिया अगाडि बढाएको छ । डा. आचार्यकै पहलमा लिन्याक मेसिनका लागि संघीय सरकारबाट २९ करोड ४० लाख बजेट सुनिश्चता भएर खरिदको प्रक्रिया अगाडि बढेकाले आगामी ३/४ महिनामा खजुरा क्यान्सर अस्पतालमा रेडियसन थेरापी पनि सुरु हुनेछ । रेडियसन थेरापी सुरु भएपछि क्यान्सरका बिरामीलाई उपचारका लागि चितवनको भरतपुर, भक्तपुर र भारतको लखनउ दिल्ली जानुपर्ने बाध्यता हट्नेछ ।सहज रुपमा गुणस्तरीय उपचार सेवा पाउन थालेपछि अस्पताल प्रति बिरामीहरुको विश्वास पनि बढ्दै गएको छ ।

कार्यकारी निर्देशक डा. आचार्य अस्पतालकै क्वार्टरमा बस्छन् । कार्यकारी निर्देशक भएपनि शल्यक्रिया गर्नुपर्ने बिरामीलाई आफै कन्सल्टेन्ट एनेस्थेसोलिष्टको रुपमा एनेस्थेसिया सपोर्ट दिन्छन् ।

हरेक दिन राति १०/११ बजे बिरामीहरुको राउन्ड लिन्छन् । बिरामीहरुको अनुगमन गर्ने र समस्याहरु सुन्ने उनको बानी छ । शल्यक्रिया गरेर उपचार गराएका हरेक बिरामीसँग प्रत्यक्ष सम्पर्क राख्छन् । बिरामीलाई सम्भव भएसम्म सहज उपचारका लागि प्रबन्ध मिलाइ दिन्छन् ।

पछिल्ला दिनहरुमा डा. आचार्य क्यान्सर अस्पतालबाहेक अन्य स्वास्थ्य संस्थामा काम गर्न छाडेर आफ्नो पूरा समय र ध्यान क्यान्सर अस्पताल मै केन्द्रीत गरेका छन् । क्यान्सर अस्पताललाई दिगो रुपमा संचालनका लागि अस्पतालको ओएनएम सर्भे गराएर स्थायी दरबन्दीहरु स्वीकृत गराउने कार्यमा उनी लागि परेका छन् ।

को हुन् डा. आचार्य ?

वि.सं. २०३८ सालमा कास्कीको भरतपोखरीमा जन्मिएका आचार्यले २०५४/०५६ मा अमृत साइन्स क्याम्पसबाट आइएस्सी गरे । नेपाल सरकारको छात्रवृत्तिमै त्रिवि शिक्षण अस्पतालबाट एमबीबीएस गरेका हुन् ।

एमबीबीएसपछि डा. आचार्यले कान्ति बाल, जिल्ला अस्पताल संखुवासभा र मुगुमा काम गरे । वि.सं. २०६९ देखि ७२ को ब्याजमा त्रिवि शिक्षण अस्पतालबाट एनेस्थेसियोलोजी एमडी गरेका हुन् ।

त्यसपछि वि.सं. २०७७ सालसम्म भेरी अस्पताल नेपालगन्जमा एनेस्थेसियोलोजिष्टको रुपमा काम गरे । भेरीमा काम गर्दा डा. आचार्यकै पहलमा ६ बेडको आईसीयु वार्ड स्थापना भयो । केही समय निमित्त प्रमुख हुँदा डा. आचार्यले भेरी अस्पतालको इमर्जेन्सीमा २४ घन्टे ल्याब सेवा सुरु गरे । भेरी अस्पतालमा सर्पदंशमा बिरामीहरुको उपचारका लागि डेलिकेटेड उपचार सेवा सुरु गरे । जसका कारण सर्पदंशका कारण ज्यान नै जोखिममा परेका दर्जनौ बिरामीको ज्यान जोगियो ।

डा. आचार्यको परिवार कास्कीबाट बसाइँ—सराइ गरेर बर्दियाको कालिका झरेको हो । कालिकामा झरेपछिका हरेक वर्ष उनको गाउँ टोलकै १-२ जना साथीभाइ तथा छिमेकीहरुको सर्पको टोकाइबाट मृत्यु हुने गरेको दुखद् खबर उनले सुन्नु प¥यो । डाक्टर भएपछि सर्पदशंको टोकाइबाट हुने मृत्युलाई घटाउनका लागि योगदान पु¥याउनुपर्छ भन्ने सोचाइ उनको एमबीबीएस पढ्दादेखि नै थियो ।

भेरीमा एनेस्थेसियोलोजिष्ट डाक्टरको रुपमा उनको जिम्मेवारी अस्पतालमा बिरामीहरुको अप्रेशन गर्दा बिरामीहरुलाई बेहोस बनाउने, उनीहरुको दुखाइ कम गर्ने र गम्भीर किसिमका बिरामीलाई आईसीयुमा राखेर उपचार गर्ने थियो । उनको मुख्य जिम्मेवारीमा नपर्ने भएपनि उनी सर्पदंशका बिरामीको उपचारमा दिनरात खटिन थाले । कुनै पनि सर्पदंशका बिरामी अस्पतालमा आएको खबर पाएको ५ मिनेटभित्रै अस्पतालमा पुगेर बिरामीको उपचारमा संलग्न हुनुपर्छ भन्ने मान्यताका साथ काम सुरु गरे । सर्पदंशका गम्भीर बिरामीहरुलाई आईसीयु वार्डको भेन्टिलेटरमा राखेर उपचार गर्ने काममा लागि डा. आचार्य र उनका सहकर्मीहरुको टिम रातदिन नभनेर खटियो । सर्पदंशका बिरामीहरुलाई भेन्टिलेटरमा राखेर उपचार गर्न सुरु गरियो । जसका कारण वि.सं. २०७१ सालको तुलनामा २०७२ सालमा सर्पदंशबाट हुने मृत्युदर ५० प्रतिशत घट्यो ।

डा. आचार्यले भेरी अस्पताल ज्वाइन गर्नुभन्दा पहिले एउटा सर्पदंशका बिरामीको उपचारमा १ सय ३९ भाइल्ससम्म एन्टिस्नेक भेनम खर्च हुने गरेको थियो । सिकिस्त अवस्थामा रहेका बिरामीलाई उनको सक्रियतामा भेन्टिलेटरमा राखेर उपचार गर्न थालिएपछि करिब १० भाइल्स एन्टिस्नेक भेनमबाटै बिरामी निको हुन थाले ।

सर्पदंशको उपचारमा उनले गरेको मेहनत र प्राप्त गरेको सफलताका कारण स्वास्थ्य मन्त्रालयले उनलाई सर्पदंशको प्रशिक्षकका रुपमा स्बास्थ्यकर्मीहरुलाई तालिम दिने जिम्मेवारी पनि दिदै आएको छ ।


क्याटेगोरी : प्रोफाइल



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ