२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलनर्सिङ इन्ट्रान्स टपर सुष्मा, जसले १८ वर्षकै उमेरमा सरकारी जागिरमा नाम निकालिन

नर्सिङ इन्ट्रान्स टपर सुष्मा, जसले १८ वर्षकै उमेरमा सरकारी जागिरमा नाम निकालिन


२६ चैतमा चिकित्सा शिक्षा आयोगले स्नातक तह अध्ययनका लागि लिएको एकीकृत प्रवेश परीक्षाको ब्याचर अफ नर्सिङ (बीएनएस)तर्फको नतिजा सार्वजनिक ग¥यो । जसमा १८३० जना उत्कृष्ट विद्यार्थीले नाम निकाले । त्यसमा पनि सर्वोत्कृष्ट भइन्—सुष्मा मरासिनी । २०० पूर्णांकमा १६४ अंकका ल्याएर सुष्माले बीएनएसको  इन्ट्रान्स टप गरेकी हुन् ।

१८ वर्षकै उमेरमा सरकारी जागिर जागिरमा नाम निकालेकी सुष्मा स्वयंमका लागि पनि यो सफलता अप्रत्यासित थियो । नहोस पनि किन ? न त इन्ट्रान्सका लागि क्लासहरु लिएकी थिइन् न त कुनै छुट्टै सेड्युल बनाएर नै तयारी गरेकी  । उसो त पिसिएल नर्सिङपछि लामो ग्याप र ६ वर्षीया छोरीको स्याहार—सुसारसँगै जागिरको अलग्गै जिम्मेवारी पनि उनीमाथि थियो । त्यही कारण उनले इन्ट्रान्स टप गर्ने कल्पनासमेत गरेकी थिइनन् ।

तर, शनिबार साँझपख परिवारसँग आउटिङबाट घरमात्रै फर्केकी के थिइन्, सुष्माकी एकजना साथीले फोनमा सुनाइहालिन्, ‘ओए, तेरो तँ एक नम्बर नाम निस्किएछ । टपी छस् त । एक्जाम त बिग्रेको छ भन्थिस् ।’

‘मैले होइन होला ?,’ उनलाई पत्यार लागेन् ।

‘होइन् । तेरो नै हो ।’

त्यसपछि आफै रिजल्ट चेक गरिन् । टप गरेको निश्चित भएपछि उनमा निकै खुसी भइन । ‘एक नम्बरमा नाम ननिकालेको धेरै भएको थियो, निकै गौरवको अनुभव भयो,’ उनले टप भएको खबर पहिलोपल्ट सुन्दाको अनुभव साटिन्, ‘सबैभन्दा पहिले विदेशमा रहेका बुवा मामुलाई फोन गरेर सुनाए ।’ सुष्मालाई त्यसपछि फोन, एमएमएसमा बधाईको ओइरो नै लाग्यो ।

सुष्मा पिसिएल नर्सिङ पढ्दा साथीहरुमाझ ‘मिस र्‍यास्नल’का रुपमा परिचित थिइन् । जागिर गर्ने ठाउँमा ‘मिस गुगल’ भनेर उनका साथीहरु जिस्काउँछन् । कुनै पनि कुराको कारण खोजीहाल्ने स्वभावले उनलाई ‘मिस र्‍यास्नल’को चिनारी दिएको हो भने थाहा नभएको कुरा अन द स्पट गुगल गरिहाल्ने बानीले ‘मिस गुगल’ । यी दुवै नाममा सुष्माको सिक्ने बानी झल्कन्छन् । त्यही सिक्नु हुटहुटी र डिप नलेज हासिल गर्ने चाहनाले नै उनलाई ‘टपर’ बनाएको हो । त्यसबाहेक उनी काम गर्दा हासिल गरेको अनुभवलाई पनि सफलताको कारण मान्छिन् ।

‘काम गर्ने क्रममा जब केही अब्स्ट्याकल आउँछ, तत्काल अन द स्पट गुगल सर्च गर्ने बानी छ । अहिले पनि नजानेका कुराहरु तत्काल समाधान गरेरै छाड्छु,’ उनी भन्छिन्, ‘जे कुरा बुझ्छु डिप नलेज नै लिन्छु । टपर बनाउन सायद यसैले नै हेल्प गरेजस्तो लाग्छ ।’ रमाइलो त के भने उनी जबसम्म आफूलाई लागेको कुराको पूर्ण जानकारी हासिल गर्दिनन्, तबसम्म त्यसलाई छाडदिनन् । कण्ठ गर्नुभन्दा बुझेर पढ्ने उनको त्यही शैली विषयको अन्तरकुन्तरसम्म पुर्‍याउँछ ।

सानैदेखि पढाइमा अब्बल सुष्मा अध्ययनमा रमाइरहेकी हुन्छिन् । ‘म जे पढ्छु, मन लगाएर पढ्छु । जसले पनि जे पढ्नुहुन्छ, राम्रोसँग पढ्नुहोस्,’ टप गर्ने कुनै फर्मुला नहुने बताउँदैं उनी अनुभव साट्छिन्, ‘यो प्रश्नहरुको प्याटर्न नै नलेज भएर उत्तर दिने खालको हुन्छ । कण्ठ गरेर दिने खालको हुँदैन् । जे पढ्नुहुन्छ डिप नलेज लिएर पढ्नुहोस् ।’ पढाइका लागि धेरै समय होइन्, क्वालिटी टाइम दिनुपर्ने उनको मत छ ।

सानैदेखि नै अब्बल

सुष्मा वि.सं. २०४९ सालमा गुल्मी रेसुङगा गाउँपालिका—६ अर्खलेमा जन्मिएकी हुन् । बुवा झविलाल मरासिनी र आमा देवमाया मरासिनीका ४ सन्तानमध्ये उनी जेठी हुन् । मध्यवर्गीय ग्रामीण परिवारमा जन्मिएका कारण सहरजस्तो व्यवस्थित र सम्पन्न जीवन थिएन ।

त्यही कारण हरेक ग्रामीण बालबालिकाझै सुष्मा पनि थोरबहुत अभावकैबीचमा हुर्किएकी हुन् । बुवा झविलाल प्राथमिक विद्यालयका शिक्षक थिए । त्यहीकारण उनले आफ्ना सबै सन्तानका लागि उचित शिक्षादीक्षामा जोड दिए । त्यसको फाइदा पहिलो सन्तान सुष्मालाई नहुने कुरै थिएन । त्यही कारण उनले कक्षा ५ सम्म स्थानीय बोर्डिङमा पढिन् ।

त्यसपछि भने उनी सरकारी स्कुलमा सिफ्ट भइन् । श्री जनसहिद माध्यमिक विद्यालय भुवनपानीबाट उनले कक्षा ८ सम्मको अध्ययन पूरा गरिन् । सानैदेखि पढाइमा जेहेन्दार विद्यार्थी भएकाले कक्षामा पहिलो, दोस्रो, तेस्रो पोजिसन ल्याइरहेकी हुन्थिन् । ‘कति कक्षामा मैले शुल्क छुट पनि पाइरहेकी हुन्थे,’ उनी बाल्यकाल सम्झिन्छिन्, ‘पुरस्कार पाइरहेकी हुन्थे ।’ पढाइप्रति अनुराग बढी हुनुमा बाल्यावस्थामै आमाले फष्ट हुन प्रेरित गर्नु प्रमुख कारण थियो ।

कक्षा ९ मा पढ्नका लागि उनी गुल्मीको सदरमुकाम तम्घास आइन् । तम्घासस्थित श्री सिद्धबाबा माध्यमिक विद्यालयबाट वि.सं. २०६३ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरिन् । उनी स्कुलका विद्यार्थीहरुमै टप फाइभमा परेकी थिइन् ।

स्कुल जीवनमा गणित र विज्ञान सबैभन्दा मन पराउने उनी सुरुका दिनहरुमा डाक्टर बन्न चाहन्थिन् । तर, कक्षा ८ मा ‘फ्लोरेन्स नाइटिङगेल’का कथा पढेपछि उनको धारणा परिवर्तन भयो । ‘फ्लोरेन्स नाइटिङगेलको स्टोरी पढिसकेपछि मलाई नर्सिङ पढ्ने इच्छा जागेको हो,’ उनले भनिन् । त्यही इच्छा पूरा गर्न उनी छिमेकी जिल्ला पाल्पा आइन् । पाल्पाको तानसेन नर्सिङ क्याम्पसमा पिसिएल नर्सिङका लागि इन्ट्रान्स दिइन् ।

तीब्र प्रतिस्पर्धाकाबीच उनले इन्ट्रान्समा नाम निकालिन् । अहिले पनि उनलाई जीवनकै सबैभन्दा खुसीको क्षण सोध्यो भने त्यही पिसिएल इन्ट्रान्स नाम निस्किँदा खुसी स्मरण हुन्छ । ‘पिसिएल नर्सिङका लागि इन्ट्रान्स पास गर्दाको खुसी मेरो जीवनकै सबैभन्दा बढी खुसी दिने क्षण हो,’ उनी सम्झिन्छिन् । तीन वर्ष होस्टेल बसेर नर्सिङ पढ्दा सबैतिका साथीहरुसँग संगत गर्न पाइन् । सुष्माले डिस्टिङसनमा पिसिएल नर्सिङ उत्तीर्ण गरिन् ।

१८ वर्षमा सरकारी जागिर

पिसिएल नर्सिङ सकेपछि वि.सं. २०६७ सालमा जागिर र थप उच्च शिक्षाको योजना बनाएर काठमाडौं आइन् । काठमाडौंमा उनका लागि सबै नयाँ थियो । सहरमा उनले जागिरका लागि पनि निकै संघर्ष गरिन् । चिनेजानेका कोही नभएकाले परीक्षामा उत्कृष्ट रिजल्ट ल्याउँदा पनि उनले अवसरबाट बन्चित हुनुपर्‍यो । कुनै हस्पिटलमा तीन महिना, कुनै हस्पिटलमा दुई महिना गर्दै उनले तीन वटा प्राइभेट हस्पिटलमा काम गरिन् । प्राइभेट हस्पिटलमा काम गर्दा कम तलबमै धेरै समय खट्नुपर्ने उनी सुनाउँछिन् । जुन अहिले पनि धेरै नर्सहरुको बाध्यता हो ।

वि.सं. २०६८ सालमा करारमा सरकारी सेवा सुरु गरिन्, लगतै स्थायीमा नाम निकालिन् । ‘मैले १८ वर्षको उमेरमा वीरेन्द्र सैनिक अस्पताल छाउनीमा स्थायीमा नाम निकाले,’ उनले भनिन् । जागिर, घरव्यवहारजस्ता कारणले उनको पढाइ केही वर्ष रोकियो । भाइबहिनीहरुको काठमाडौं बसाइँ र पढाइमा पनि उनले व्यवस्थापनको जिम्मेवारी सम्हालिन् । ‘त्यहीकारण बुवाले ‘जेठो छोरा’ भन्नुहुन्छ,’ उनी भन्छिन् । सुष्माको मेहनत र असल कर्मको प्रभावका उनका भाइबहिनीहरुमा पनि देखिन्छ ।

जागिर, घरव्यहारजस्ता कारणले उनले पिसिएल नर्सिङपछि लामो समय पढाइ अगाडि बढाउन सकिनन् । दशकभन्दा बढी समयको ग्याप, ६ वर्षीया छोरीको रेखदेख, घरायसी काम, जागिरकाबीचबाट २०७८ सालमा उनले आफ्नो पढाइ अगाडि बढाउने योजना बनाइन् । त्यही कारण आयोगले चैतमा लिएको परीक्षामा बीएनएसका लागि इन्ट्रान्स दिइन् । बच्चा हुर्काउँदै इन्ट्रान्स दिएकी सुष्माले टप नै गरिन् । ‘चुनौतीको कुरा थियो । तर, खाने मुखलाई जुँगाले छेक्दैन्,’ उनी भन्छिन्, ‘छोरीलाई समय दिएर बाँकी समयमा पढे । श्रीमान (केशव घिमिरे) पनि मलाई निकै सहयोग गर्नुभयो ।’ आखिर लामो ग्यापपछि पढाइको कडीलाई कसरी जोडिन् त ? भन्छिन्, ‘एक्सपिरियन्स, केही नयाँ जान्न इच्छुक, नजानेको सोध्नेजस्ता कारणले त्यो ग्याप जोड्न गाह्रो भएन ।’

रोलमोडल बुवा

सुष्मा पढाइबाहेक ट्राभलिङ र नयाँ ठाउँ एक्स्पोलर गर्न मन पराउँछिन् । उपन्यास र अंग्रेजी सिरिज उनका थप रुचि हुन् । नेपाली खाना उनलाई सबैभन्दा मन पर्छ । ‘टाइम हुँदा म थकालीमा खाना खान पुगिहाल्छु,’ उनले भनिन् । क्याजुअल वेयर मन पराउने उनी सामाजिक तथा धार्मिक कामहरुमा भने औपचारिक पोशाक लगाउँछिन् । भगवानमा विश्वास गर्ने उनका गणेश सबैभन्दा प्रिय भगवान हुन् ।

भविष्यमा उनलाई क्षमताले भ्याएसम्म सेवा गर्ने रहर छ । सफलता, माया, परिवार र साथीभाइहरुको सहयोगजस्ता कुराहरुमा उनी बढी खुसी हुन्छिन् । जागिरका क्रममा एकदमै समस्यामा परेका मानिसहरुलाई सहयोग गर्न पाउँदा उनलाई आनन्दको अनुभव हुन्छ । ‘नर्सिङ पेशा जागिर र सेवा सँगसँगै गर्न सकिने पेशा हो,’ उनी भन्छिन्, ‘त्यही कारण म नर्स भएकोमा गर्व गर्छु ।’

सुष्माका रोलमोडल उनका बुवा हुन् । ‘मेरो लागि रोलमोडल मेरो बुवा नै हो । उहाँले त्यो गाउँ सानो प्राथमिक स्कुलमा पढाएर ४ जना सन्तानहरुलाई राम्रो स्कुलमा पढाउनुभयो । आफू संघर्ष गरेर हामीलाई सधैं खुसी दिनुभयो,’ उनले भनिन्, ‘तर, आफूलाई जति दुःख पर्दा पनि उहाँ कहिल्यै हामीलाई देखाउनुहुन्न ।’ सुखमा नमात्तिने र दुःखमा नआतिने, समाजसेवा र पिताले गरेका राम्रा काम उनी आफ्नो प्रेरणाको स्रोत मान्छिन् ।


क्याटेगोरी : प्रोफाइल



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ